बथनाहा–विराटनगर कार्गो रेल
विराटनगर । उद्घाटन भएर सञ्चालनमा आउन नसकेको बथनाहा–विराटनगर कार्गो रेल सेवा चाँडै सञ्चालनमा आउने अवस्था सिर्जना भएको छ ।
उद्योगी व्यवसायीहरूले भारत र तेस्रो मुलुकबाट यो रेल सेवाबाट गरिने आयातमा ६० प्रतिशतसम्म लागत घट्ने भन्दै सञ्चालनको प्रतीक्षामा छन् ।
रेल सेवा उद्घाटन भएको दिन यता बथनाहाबाट विराटनगरमा रेल नफर्किएका कारण निरास बनेको औद्योगिक क्षेत्रका उद्योगीहरूलाई कार्गो रेलबाट आउने सामान लोड अनलोडका लागि आवश्यक उपकरण पूर्वाधार भने तयार भइसकेको जनाएको छ ।
कार्गो रेलबाट हुने लोडिङ अनलोडिङको जिम्मा पाएको ट्रान्स नेपाल फ्रेट सर्भिसेजका प्रबन्ध निर्देशक मुकेशकुमार राठीका अनुसार सामान ल्याउन कुनै अवरोध नभएकाले यसका लागि यथासिघ्र उद्योगीहरूको कन्साइनमेन्ट प्राप्त हुनुपर्ने बताए ।
कन्साइनमेन्ट प्राप्त भए रेलबाटै औद्योगिक वस्तु आयात हुने अवस्था रहेको उनले बताए ।
२०८० जेठ १८ मा भारतको बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको र्याक लिएर आठ किलोमिटरको यात्रा गर्दै पहिलो कार्गो रेल बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीको यार्डमा प्रवेश गरेको थियो ।
तर, त्यसपछि भने त्यो रेल दोस्रो पटकका लागि विराटनगर आएको छैन ।
नेपालका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट स्विच थिचेर कार्गो रेल चलेको जनाउ दिने ‘हरियो झण्डा’ हल्लाएका थिए ।
कार्गो रेल सञ्चालन हुन ढिलाई भइरहेको भन्दै नेपाल र भारतका अधिकारीहरूले निरन्तर चासो बढाएका छन् ।
मंगलबार नेपाल–भारत उद्योग वाणिज्य संघ कोशी प्रदेशको प्रतिनिधि मण्डलले भारतको जोगबनी कष्टमका प्रमुख विकाश श्रीवास्तव लगायतका अधिकारीलाई भेटेर कार्गो रेलबारे थप छलफल गर्दा रेल चल्ने प्रक्रियाको निकै नजिक रहेको जवाफ प्राप्त गरेको जनाइएको छ ।
नेपाल–भारत ट्रेड एण्ड ट्रान्जिट सन्धि अन्तरगत कार्गो रेलबाट नेपाललाई तेस्रो मुलुकबाट क्लिङ्कर, रासायनिक मल, कोइला र सिमेन्ट मात्र ल्याउने अनुमति छ । त्यसरी आउने कार्गो रेलको र्याक व्यवस्थापन गर्ने जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिलाई रहेको छ ।
कार्गो रेलबाट सामान ल्याउने कन्साइनमेन्ट प्राप्त भएमा र्याक लोड अनलोड गर्ने आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेको ट्रान्स नेपालका प्रबन्ध निर्देशक राठीले बताएका छन् ।
भारतीय भन्सारले भने भारतीय रेलवेसँग सामान्य प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाएको छ । सो प्रक्रिया चाँडै पूरा हुने आश्वासन दिएको नेपाल–भारत उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष मुकेश उपाध्यायले बताए ।
प्रक्रिया पूरा हुनासाथ कलकत्ताको हल्दिया पोर्ट र विशाखापटनम पोर्टबाट सिधै बुधनगरस्थित कस्टम यार्डमा कार्गो रेल ल्याउन सकिने छ ।
कार्गो रेल सञ्चालनबाट सबै सामान अर्थात ‘अल गुड्स’ ल्याउने प्रक्रिया भने अनिश्चित रहेको छ । भेटका क्रममा भारतीय भन्सार कार्यालय जोगबनीका प्रमुख विकाश श्रीवास्तवले त्यसका लागि पहल गरिने आश्वासन दिएको जनाइएको छ ।
नेपाली उद्योगी व्यवसायीले भने एकीकृत भन्सार जाँच चौकीमा रहेको कस्टम यार्डमा रेलबाट आउने सामानको कागजात मिलाउन र भन्सार जाँचपासमा देखिएको कठिनाइ समाधान हुन नसकेको बताउँदै आएका छन् ।
हाल भारतीय पोर्टबाट र्याक/कन्टेनर बोकेर आएको कार्गो रेल जोगवनी यार्डमा रोकिने र त्यहाँबाट ट्रकमा लोड गरेर भन्सार जाँचपास भएपछि विराटनगर भित्रिने गरेको छ ।
जोगवनीमा र्याक आइपुगेको ८ घण्टाभित्र अनलोड गर्नुपर्ने र त्यहाँबाट २४ घण्टाभित्र नेपालतर्फ ल्याइसक्नुपर्ने बाध्यताले नेपाली उद्योगी व्यवसायीले अनावश्यक झन्झट र ठूलो आर्थिक भार खेप्दै आएका छन् ।
View : 117
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved