Biratnagar, Morang, Nepal
२५ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

'नेपालमा स्वच्छ तरकारीको प्रमाणीकरण व्यवस्था नै छैन'

उद्‌घोष सम्वाददाता
२४ वैशाख २०८२, बुधवार

विराटनगर । नेपालमा स्वच्छ तथा अर्ग्यानिक तरकारी उत्पादनको प्रमाणपत्र प्रदान गर्ने कुनै आधिकारिक निकाय नै नभएको खुलासा भएको छ। मोरङको बेलबारी–३ स्थित सदाबहार कृषि मार्टका सञ्चालक सुवास राईले अर्ग्यानिक तरकारी उत्पादन गरी त्यसको प्रमाणीकरणको प्रयास गर्दा सो तथ्य खुलेको हो।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय (कोशी) मा प्रमाणपत्रका लागि जानकारी लिन जाँदा अर्ग्यानिक उत्पादन प्रमाणीकरणको लागि कुनै संयन्त्र नभएको पाइएको हो। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले स्वदेशमै उत्पादन भएर बजारमा विक्री वितरण हुने सागसब्जी तथा फलफूलमा प्रयोग हुने विषादीको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था हालसम्म नभएको पुष्टि गरे।

उनका अनुसार, अहिलेसम्म यस विषयमा कुनै ठोस पहल नहुँदा औपचारिक प्रमाणीकरणको प्रक्रिया अघि बढ्न सकेको छैन। उनले प्रदेश सरकारले ऐन, कानुन र अधिकार क्षेत्रको आधारमा विषादी परीक्षण तथा प्रमाणीकरण प्रणाली विकास गर्न प्रयासरत रहेको जानकारी दिए।

मंगलबार विराटनगरमा भएको छलफलमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव पदमबहादुर ठकुराठी, उपसचिव सरिता पोखरेल, सहकारी प्रवर्द्धन शाखा प्रमुख तोया तिम्सिना, पशुपन्छी निर्देशनालय प्रमुख डा. सुशीलकुमार अधिकारी र अनुगमन शाखा प्रमुख पुण्यप्रसाद पौडेललगायत सहभागी थिए। उनीहरूले दैनिक उपभोग्य सागसब्जीमा विषादी परीक्षणको आवश्यकतामा जोड दिए।

यसै क्रममा व्यवसायी राईले गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसँग पनि सम्पर्क गर्दा सो कार्यालयले प्याकेटबन्द खाद्य वस्तुहरूको मात्र गुणस्तर प्रमाणीकरण गर्ने जानकारी दिएका थियो ।

View : 223

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved