Biratnagar, Morang, Nepal
२५ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

मानगढ खानेपानी संस्थाको निर्वाचन

सेवामूलक संस्थामा राजनीति घुसाउनु निन्दनीय

दुर्गाप्रसाद पोखरेल
२४ वैशाख २०८२, बुधवार

मानगढ खानेपानी संस्था, विराटनगरको निर्वाचन मिति २०८२ जेठ १० गते नजिकिंदै गर्दा, हामी फेरि एउटा संवेदनशील मोडमा आइपुगेका छौं । जहाँ समाजसेवा र जनकल्याणका लागि स्थापना गरिएका यस्ता संस्थाहरूमा समेत गुटबन्दी र व्यक्तिगत स्वार्थको खेल खुलेआम देखिन थालेको छ ।

खानेपानी संस्था कुनै पनि राजनीतिक दलको स्वार्थ पूर्ति गर्ने ठाउँ होइन — यो त जनताको सहज जीवन र सर्वसुलभ सेवा सुनिश्चित गर्ने पवित्र संस्था हो ।
यहाँ सबै दल, सबै विचार र सबै समुदायका नागरिकहरूले समान अधिकारका साथ आशा र भरोसाले टेकेका हुन्छन् ।

तर जब यहाँ पाटीगत हस्तक्षेप हुन्छ, निष्पक्षता हराउँछ, सेवा भावना मर्छ र जनताको भरोसा चकनाचुर हुन्छ ।

अन्ततः संस्था मात्र कमजोर हुँदैन, हाम्रो लोकतन्त्र पनि गम्भीर घाइते हुन्छ ।

यस निर्वाचनमा उपाध्यक्षमा रूद्रबहादुर कार्की र सचिवमा प्रदीप नेपाल लगायतका अन्य उम्मेदवार स्वतन्त्र भावना र निष्पक्ष सेवा लक्ष्य लिएर मैदानमा उत्रिएका छन् ।

अदालतले समेत उनीहरूको उम्मेदवारीलाई वैधानिकता प्रदान गरिसकेको अवस्थामा, पार्टीका केही व्यक्ति विशेषले उम्मेदवारी फिर्ता गराउन दबाब दिनु, अनि फिर्ता नगरे सदस्यता नै खारेज गर्ने धम्की दिनु, लोकतन्त्र र संगठन दुवैको घोर अपमान हो ।

हामीले बिर्सनु हुँदैन, विगत स्थानीय तह निर्वाचनमा विराटनगर– ३ बाट स्वतन्त्र उम्मेदवार सत्रुघन पौडेलले उठ्दा, कांग्रेसको गढ मानिने क्षेत्रमा कांग्रेसले हारको अपमान भोग्नुपरेको थियो ।

त्यस्तैगरी एमालेभित्र, खानेपानी संस्था निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार लालमणि भट्टराईलाई सागर थापाले समर्थन गर्दा, सागर थापा स्वयं पार्टीको कारबाहीको सिकार बनेका थिए । तर आज, उही सागर थापा मोरङ जिल्ला एमाले अधिवेशनमा सबैभन्दा लोकप्रिय नेताका रूपमा स्थापित भएका छन् ।

इतिहास हाम्रो अगाडि छ,  गल्तीका पाठहरू हामीले पढ्नुपर्ने हो । हामीलाई सिकाउने एउटा स्पष्ट पाठ छ — स्वतन्त्रता र निष्ठा कहिल्यै हार्दैन ।

अहंकार र गुटबन्दी सधैं पराजित हुन्छ । किन रूद्रबहादुर कार्की, भोला घिमिरे र रूद्रबहादुर कार्की दुवै कांग्रेस समूहबाट हुन् । तर साँचो सेवाको हकदार को हो भन्ने प्रश्न आज हाम्रो अगाडि छ ।

रूद्रबहादुर कार्की, जो विराटनगर महानगरपालिकामा लामो समय कर्मचारी रहेर सेवामा समर्पित भए, कर्मचारी युनियनको सचिव भएर श्रमिकको अधिकारको लडाइँ लडे, २०७४ सालमा राप्रपाबाट वडाध्यक्षको चुनाव लडेर उल्लेखनीय ४५५ मत ल्याए जबकि सो बेला पनि जित्ने उम्मेदवारले ७५५ मत ल्याएका थिए ।

पछिल्लो समय कांग्रेसमा समायोजन भए पनि पाटिले नेका महाशिबेशन समितिको प्रतिनिधि  सदस्य बाहेक अरू  अवसर दिएन,तर पनि


आज उनमा सेवा र समर्पणको भावना ज्यूँदै छ । उनको सरलता, इमानदारी र जनतासँगको आत्मीयता नै उनलाई साँचो साझा उम्मेदवार बनाउँछ ।

पुराना अनुहारहरूमाथि निराशा भएकाले आज आम उपभोक्ता नयाँ, निष्ठावान अनुहार खोजिरहेका छन्  र त्यो आशा रूद्र कार्कीमा देखिन्छ ।

अब प्रश्न उठ्छ —हामी फेरि त्यही गल्ती दोहोर्‍याउने हो < के फेरि गुटबन्दी र जबरजस्तीको बाटो रोज्ने हो < खानेपानी संस्था कुनै चुनावी अखडा होइन — यो सेवा, समर्पण र जनताको हितमा समर्पित मन्दिर हो ।
यहाँ प्रतिस्पर्धा हुनुपर्छ सेवाको भावनामा, क्षमतामा र निष्पक्षतामा — न कि गुट र स्वार्थको बलमा । जब पदको लागि होइन, जनताको हितका लागि प्रतिस्पर्धा हुन्छ, तब मात्रै संस्था बलियो बन्छ । सेवा चुस्त बन्छ  र जनताको विश्वास अझ गाढा हुन्छ ।

 त्यसैले, आज पनि समय छ — उम्मेदवारहरूबीच संवाद गरौं, भावना र संकल्पलाई आदर गरौं, सहमति र मेलमिलापमार्फत साझा उम्मेदवार तय गरौं ।

साझा उम्मेदवारबाट न कुनै व्यक्ति अपमानित हुन्छ, न पार्टी कमजोर पर्छ — बरू संस्था बलियो हुन्छ, सेवा प्रभावकारी हुन्छ, र जनताको भरोसा अझ मजबुत हुन्छ ।

सेवाको जित होस्, गुटबन्दीको हार होस् । जनताको भरोसालाई जिताऔं, संस्थालाई उज्यालो बनाऔं । 

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved