विराटनगर । सुनसरीमा ट्रकको ठक्करबाट गएराती दुई युवकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१३ काेसी राजमार्गस्थित पेट्रोलपम्प नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश नम्बार १-०४-००१ ख ०००८ नम्बरको ट्रकले र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
राती करिब पाैने १२ बजेतिर भएको दुर्घटनामा परेर माेटरसाइकलमा सवार दुई युवककाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि कोसी अस्पताल विराटनगर पठाएकोमा अस्पताल पुर्याउनासाथ राति १२:११ बजे डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।
मृतक दुवै जना अन्दाजी ३०–३५ वर्षका पुरुष छन् । उनीहरूको पहिचानको प्रयास भइरहेको डीएसपी खड्काले बताए । दुर्घटनामा संलग्न ट्रकका चालक भने फरार रहेकन छन् ।
यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी खड्काले जानकारी दिए ।
View : 109
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved