Biratnagar, Morang, Nepal
२२ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
विचार

आहा ! विराटनगर

माधव अधिकारी
२२ कार्तिक २०८३, आइतवार

Advertisement

शहर केवल सिमेन्टका घरहरू र कालोपत्रे सडकहरूको समूह मात्र होइन ।

शहर त त्यहाँ बस्ने मानिसहरूको व्यवहार, उनीहरूले पाउने सुविधा, र बाहिरबाट आउने पाहुनाले गर्ने अनुभवको योगफल हो ।

विराटनगरलाई आहा ! विराटनगर, बनाउने अभियानमा अब ढिलाइ गर्नु हुँदैन ।

आगामी नेतृत्वले नागरिकका यी सरल तर दूरगामी मागहरूलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेर काम गरेमा विराटनगर पुनः नेपालको गौरवशाली र अनुकरणीय महानगर बन्ने निश्चित छ ।

यो नागरिकको स्पष्ट आकांक्षा हो र भावी नेतृत्वको प्रमुख दायित्व हुनुपर्छ ।


विराटनगर केवल नेपालको दोस्रो ठूलो शहर मात्र होइन, यो देशको औद्योगिक क्रान्ति, राजनीतिक चेतना र सांस्कृतिक विविधिताको मुटु हो ।

ऐतिहासिक दृष्टिले नेपाललाई आधुनिकतातर्फ लैजाने यो शहरले समयक्रमसँगै अनेकौँ उतारचढाव भोगेको छ ।

तर, आज प्रत्येक विराटनगरवासीको हृदयमा एउटै साझा सपना धड्किरहेको छ—बाहिरबाट कोही मानिस विराटनगरको माटोमा पाइला टेक्नेबित्तिकै उसको मुखबाट निस्कियोस्, आहा ! विराटनगर ।


आहा ! विराटनगर, केवल एउटा नारा मात्र होइन, यो यहाँका नागरिकको स्वाभिमान, सफा र हरित शहरको परिकल्पना, सुरक्षित समाज, र सुशासित महानगरको ऐना हो ।

नयाँ नेतृत्वको काँधमा अब परम्परागत विकासको ढाँचाबाट माथि उठेर विराटनगरलाई आधुनिक, प्रविधिमैत्री र आकर्षक महानगर बनाउने ऐतिहासिक जिम्मेवारी छ ।


एक सामान्य नागरिक जब सडकमा निस्कन्छ, उसले ठूला भवन वा ठूला भाषण होइन, आफ्ना दैनिक जीवनसँग जोडिएका साना तर महत्त्वपूर्ण सुविधाहरूको गुणस्तर खोज्छ ।

 

विराटनगरका जनताका मुख्य आकांक्षाहरू यस प्रकार छन्

 पहिलो प्रभावमै मन लोभ्याउने सरसफाइ र हरियाली

 विराटनगर प्रवेश गर्दा नै जथाभावी फालिएका फोहोर र धूलोधुवाँ होइन, ढकमक्क फुलेका फूलहरू, व्यवस्थित सडकपेटी र सफा वातावरणले आगन्तुकलाई स्वागत गरोस् ।

शहरका ढल र नालीहरू गन्हाउने होइन, प्रशोधित र व्यवस्थित बनून् ।

  •  अनुशासित यातायात र ठगीरहित यात्रा   सिटी सफारी होस् या नगर बस, विराटनगरमा चढ्नेबित्तिकै यात्रुले सुरक्षा र सहजताको अनुभूति गरून् । भाडादर पारदर्शी र निश्चित होस् । यात्रुहरू ठगिने अवस्था पूर्ण रूपमा अन्त्य होस् र जुनसुकै समयमा पनि निश्चित दररेटमा यात्रा गर्न पाइयोस् ।
  •  मर्यादित, पारदर्शी र गुणस्तरीय आतिथ्य व्यवसाय ः विराटनगर आउने जुनसुकै पाहुनाले यहाँका होटल तथा रेस्टुरेन्टमा सुरक्षित महसुस गरुन् । खानेकुराको स्वच्छता र गुणस्तर उच्च होस् । कोठाको भाडा र खानाको मूल्यमा कुनै पनि किसिमको अस्वाभाविक असुली वा ठगी नहोस् ।
  • स्वच्छ र गुणस्तरीय खानेपानी ः एक घर, स्वच्छ खानेपानीको पहुँच सुनिश्चित होस् । पिउने पानीमा कुनै पनि दुर्गन्ध र हानिकारक तत्त्व नहोस् तथा धाराबाट आउने पानी सोझै पिउन योग्य बनोस् ।
  • समस्याका दीर्घकालीन समाधान र जनचाहना (५–वर्षीय मार्गचित्र)
  • जनताका यी भावना र आकांक्षाहरूलाई सम्बोधन गर्न र विराटनगरलाई बस्नयोग्य महानगर बनाउन नगरवासीहरूले निम्नलिखित ठोस समाधान र सुधारको अपेक्षा राखेका छन् ः
  • वातावरणीय रूपान्तरण र हरियाली अभियान 
  • वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली ः घर–घरमै कुहिने र नकुहिने फोहोर छुट्ट्याउने कार्यलाई अनिवार्य गरियोस् । फोहोरबाट कम्पोस्ट मल र ऊर्जा उत्पादन गर्ने आधुनिक प्रशोधन केन्द्र स्थापना होस् र सार्वजनिक स्थल, पार्क तथा मुख्य सडकहरूमा नियमित सरसफाइ टोली परिचालन होस् ।
  • सडकपेटी सुधार र हरित करिडोर ः मुख्य सडकका दुवैतर्फ चौडा, अपाङ्गतामैत्री फुटपाथ निर्माण गरियोस् र सडकपेटीको अनधिकृत अतिक्रमण हटाइयोस् । रानीदेखि बरगाछीसम्मका सडक किनारमा फलफूल तथा छायाँदार बोटबिरुवा रोपी तारबारसहित हुर्काउने व्यवस्था मिलाइयोस् ।
  • शुद्ध पिउने पानीको ग्यारेन्टी ः महानगरका प्रत्येक वडामा आधुनिक पानी शुद्धीकरण केन्द्रमार्फत गुणस्तरीय पानी वितरण होस् । पानीको गुणस्तर नियमित परीक्षण गर्न महानगरको आफ्नै प्रयोगशाला स्थापना गरी मासिक प्रतिवेदन सार्वजनिक गरियोस् ।
  •    यातायात व्यवस्थापन, पारदर्शी भाडा र यात्रु सुरक्षा 
  • सिटी सफारी र सार्वजनिक यातायातको व्यवस्थित सञ्चालन ः महानगरभित्र सञ्चालन हुने सम्पूर्ण सिटी सफारीहरूको कोडसहित दर्ता र नम्बरिङ गरियोस् । न्यूनतम र अधिकतम दूरीको आधारमा वैज्ञानिक भाडादर तोकी प्रत्येक सफारी र बसमा अनिवार्य भाडादर तालिका टाँस्ने व्यवस्था होस् । आधुनिक प्रविधि र सहजीकरण प्रयोग गरी यात्रुले ठगिनुपर्ने वातावरणको अन्त्य गरियोस् ।
  • सहायता कक्ष र नियमित अनुगमन ः बसपार्क, सीमानाका र विमानस्थल जस्ता मुख्य प्रवेशद्वारहरूमा यात्रु सहायता कक्ष स्थापना गरियोस् । बढी भाडा लिने वा यात्रुलाई सास्ती दिने चालकलाई कडा कानुनी कारबाहीको दायरामा ल्याइयोस् ।
  •    उपभोक्ता अधिकार, होटल व्यवसाय र आतिथ्य सुधार
  • गुणस्तर वर्गीकरण र मूल्य नियन्त्रण ः महानगरभित्रका सम्पूर्ण होटल, लज र रेस्टुरेन्टहरूको गुणस्तर, सरसफाइ र सेवाका आधारमा वर्गीकरण प्रणाली लागू होस् । प्रत्येक होटलमा परिकारको सूची र कोठाको भाडादर प्रस्ट देखिने ठाउँमा राख्न अनिवार्य गरियोस् ।
  • खाद्य स्वच्छता र बजार अनुगमन ः होटलका भान्साहरूको नियमित र आकस्मिक सरसफाइ अनुगमन गरियोस् । बासी, दूषित वा अखाद्य वस्तु बिक्री गर्नेलाई कडा कारबाही होस् र होटल व्यवसायीहरूलाई स्वच्छता र आतिथ्यसम्बन्धी नियमित तालिम दिने व्यवस्था मिलाइयोस् ।
  •   डुबान समस्याको दीर्घकालीन समाधान
  • ढल तथा नालाको गुरुयोजना
  • विराटनगरको प्रमुख समस्याको रूपमा रहेको वर्षायामको डुबानलाई सदाका लागि अन्त्य गर्न सिङ्गिया र केसलिया खोला किनारमा पक्की तटबन्ध र करिडोर निर्माण गरियोस् । साना–ठूला नालाहरूलाई मुख्य ढलसँग जोडी वर्षाको पानी सुचारु रूपमा निकास हुने आधुनिक ढल निकास प्रणाली बनाइयोस् । 
  •  
  • सुशासन, प्रविधि र समृद्ध औद्योगिक शहर

डिजिटल महानगर र सुशासन ः नक्सा पास, सिफारिस, घटना दर्ता र स्थानीय कर भुक्तानीका लागि घरबाटै सेवा लिन सकिने गरी मोबाइल एप पूर्ण रूपमा सञ्चालनमा ल्याइयोस् । प्रशासनिक काममा पारदर्शिता कायम गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडाइका साथ लागू होस् ।
औद्योगिक पुनर्जागरण र रोजगार ः विराटनगरलाई पुनः नेपालको आर्थिक राजधानीको रूपमा स्थापित गर्न स्थानीय उद्योगी–व्यवसायीलाई करमा सहुलियत र पूर्वाधार निर्माणमा जोड दिइयोस् । युवाहरूका लागि सीपमूलक तालिम र स्वरोजगार प्रवर्तन कोषको स्थापना गरियोस् ।
नागरिकको अपेक्षा र भावी नेतृत्वको दायित्व
विराटनगरबासीहरू आफ्नो शहरलाई केवल भाषण वा कागजमा मात्र होइन, व्यवहारमै नेपालकै सबैभन्दा सफा, सुरक्षित, र पाहुनालाई स्वागत गर्न आतुर शहरका रूपमा हेर्न चाहन्छन् ।
सिटी सफारीको तोकिएको भाडामा होस् या होटलको खानामा, कुनै पनि आगन्तुक वा स्थानीय नागरिक नठगिऊन् । सडकपेटीमा पैदल यात्री निर्धक्क हिँड्न पाउने, धारामा सोझै पिउन योग्य पानी आउने र रातको समयमा पनि शहर उज्यालो र सुरक्षित रहने वातावरण निर्माण हुनु नै आजको मुख्य आवश्यकता हो ।

(माधव अधिकारी पतञ्जली याेग  विराटनगर महानगरका अध्यक्ष हुन् ।)

View : 8

२२ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved