Biratnagar, Morang, Nepal
२२ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
विचार

छापाखानामा आगलागी, सुरक्षा सतर्कता र उत्तरदायित्वको प्रश्न

मैले देखें, उहाँहरू सबै साधारण टिसर्ट, साधारण पाइन्ट र साधारण जुत्तामा हुनुहुन्थ्यो । कसैको पनि शिरमा हेल्मेट थिएन । अग्नि प्रतिरोधक सर्ट, पाइन्ट, जुत्ता कसैको शरीरमा थिएन । अझ एकजना टर्चलाइट देखाउँदै राधाकृष्ण प्यालेसको छतसम्म आउनु भएको व्यक्ति त साधारण टिसर्ट, हाफपाइन्ट र हवाइ चप्पलमा हुनुहुन्थ्यो, जो पछि फर्किंदा सिढीमा चिप्लियर लड्नु पनि भयो ।
विभूतिराज कोइराला
२२ कार्तिक २०८३, आइतवार

Advertisement

यही कात्तिक १२ गते बिहीबार साँझ विराटनगर बसपार्कस्थित भवनाथ पौडेलले आफ्नै घरमा सञ्चालन गरिरहनु भएको राधारत्न ओरखलढुङ्गा छापाखानामा आगलागी भयो ।

खबर गरेको धेरैपछि त्यहाँ दमकल आइपुग्यो ।

दमकल आइपुगेबित्तिकै भुइँ तल्ला र पहिलो तल्लाको झ्याल फुटाएर पानी हालियो । केही बेरमा त्यतापट्टिबाट आगो नियन्त्रण भएको देखियो ।

तर घरको पछाडि पूर्वपट्टि अर्थात् राधाकृष्ण प्यालेसतर्फको तेस्रो र चौथो तल्लाको कौसीको झ्याल र ढोकाबाट धुँवाको ठूलो मुस्लोे निस्किरहेको थियो ।

पूर्वपट्टिको ती कौसीमा राधाकृष्ण प्यालेसको छत हुँदै जानका लागि छेउको चौरीमा टर्चलाइट बालेर दमकलका कर्मचारीहरूले सिंढी लगाउन थाल्नु भयो ।

 

अँध्यारो भए तापनि बढेका अग्ला झारपात भएको ठाउँमा टर्च बालेर सिंढी मिलाउन उहाँहरूलाई सहज भइरहेको छैन भनी म पनि त्यहीं छतबाट देखिरहेको थिएँ ।

मैले समय नहेरे पनि लगभग १५ मिनेट भन्दा धेरै लाग्यो होला ।


दुईवटा सिढी जोडेर उहाँहरूले माथि उचाले पछि सिंढी समाउने, तान्ने काममा मैले पनि माथि छतबाट मद्दत गरें ।

त्यसपछि केही प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरू राधाकृष्ण प्यालेसको छतमा चढ्नु भयो ।

सो छतबाट आगलागी भएको घरको कौसीमा एक कर्मचारी उक्लिदै गर्दा धुँवाले आँखा पोलेकाले हातले आँखा छोप्दै बिपरीत दिशातर्फ फर्केर उभिनु भयो ।

मैले अग्नि नियन्त्रण गर्ने कर्मचारीहरू सँगसँगै उभिएर त्यति नजिकैबाट हेरेको थिइनँ । 


मैले देखें, उहाँहरू सबै साधारण टिसर्ट, साधारण पाइन्ट र साधारण जुत्तामा हुनुहुन्थ्यो ।

कसैको पनि शिरमा हेल्मेट थिएन ।

अग्नि प्रतिरोधक सर्ट, पाइन्ट, जुत्ता कसैको शरीरमा थिएन ।

अझ एकजना टर्चलाइट देखाउँदै राधाकृष्ण प्यालेसको छतसम्म आउनु भएको व्यक्ति त साधारण टिसर्ट, हाफपाइन्ट र हवाइ चप्पलमा हुनुहुन्थ्यो, जो पछि फर्किंदा सिढीमा चिप्लियर लड्नु पनि भयो ।


यस्तो संवेदनशील काम गर्ने कर्मचारीहरूले यसरी व्यक्तिगत सुरक्षालाई कमजोर बेवास्ता गरेको देख्दा मलाई साह्रै दुःख लाग्यो ।

यस सम्बन्धमा मैले जिज्ञासा राख्दा ‘हतार हतारमा हिड्नु परेकोले सुरक्षाका सामान बोक्न, लगाउन नभ्याएको’ भन्ने जवाफ पाएँ ।

अनि आउन किन ढिलो भएको ? भनी सोध्दा ‘साइरन बजाएर हिँड्दा पनि मानिसहरू बाटो छोड्दैनन्’ भन्ने जवाफ पाएँ ।


अझ पुष्पलाल चोकबाट आउने पहिले आइपुग्यो, जतुवाबाट आउनेलाई त बसपार्क अगाडि तेर्सिएका बसहरूले आगलागी भएको स्थानतर्फ मोड्न अवरोध गरेर झन ढिलो बनाए, उहाँले थप्नु भयो ।

मेरो चाहना कसैलाई दोष लगाउने वा कसैको आलोचना गर्ने होइन ।

तर, यस्तो संवेदनशील कुरामा सम्बन्धित निकाय गम्भीर र परिपक्व हुनै पर्दछ । 
बाटो प्रयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई पैदलयात्रीहरूले कसरी प्रयोग गर्ने ?

सवारी साधन प्रयोग गर्नेले बाटोमा कसरी चलाउने ? नियम के छन् ? भन्ने कुराहरू नागरिक चेतनाको विकास गराउनै पर्छ ।

बारुण यन्त्रका सम्पूर्ण कर्मचारीहरूलाई बेलाबेला पुनर्ताजगी तालिमका साथै सुरक्षा सामग्री तथा उपकरणहरू अनिवार्य प्रयोग गर्नु पर्ने व्यवस्था हुनु पर्दछ ।

विराटनगर महानगर हो र महानगरलाई हचुवा अर्थमा लिनु हुँदैन ।

(विभूतिराज कोइराला राधाकृष्ण प्यालेसका सञ्चालक हुन् ।)

View : 20

२२ कार्तिक २०८३, आइतवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved