सन्दर्भ : नेकाको १५औं महाधिवेशन
सुधीर अर्ज्याल
वैधानिक हिसाबले बोल्नु पर्दा अथवा लेख्नु पर्दा नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ साल मंसिरभित्र सम्पन्न भइसक्छ भनेर बोल्न वा लेख्न सक्नु पर्ने हो । तर महाधिवेशनलाई लिएर यति धेरै किन्तु परन्तुको कुरा गरिन्छ कि यसको छेउ पुच्छर भेट्न नै गाह्रो भइरहेको छ ।
बहुदलीय राजनीतिक प्रणालीमा एउटा राष्ट्रिय पार्टी चलायमान हुनु भनेको देशको राजनीति पनि अग्रगमनतिर बढेको हुन्छ भन्ने यथार्थलाई सबैले स्वीकारेका हुन्छन् । नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि पार्टीको हरेक अधिवेशन क्रमशः ढिलो सम्पन्न भएको दृष्टान्त अघि सारेर आज पनि महाधिवेशन सर्छ भन्ने घोकन्ते तर्कले कतै पार्टीलाई जमुवा पोखरीमा त परिणत गर्दैन भन्नेतर्फ चिन्तन गर्ने कि नगर्ने ? देशमा हुने स्थानीय तहको निर्वाचन अनि आम निर्वाचन निश्चित समय र अवधिमा सम्पन्न हुन सक्छ भने आन्तरिक प्रतिस्पर्धाको प्राणवायुको रुपमा रहेको पार्टी निर्वाचन किन समयमा हुन सक्दैन ?
प्रविधिको बोलवाला रहेको आजको युगमा, हिजो पनि ढिलो हुन्थ्यो भनेर श्राद्धमा बिरालोलाई बाँध्ने परिपाटी पछ्याउने हो भने पार्टी मात्र होइन नेपालको राजनीति पनि अनिश्चयको गोलचक्करमा घुमिनै रहने छ ।
बहुदलीय प्रजातन्त्रको मूल मन्त्र नै आवधिक निर्वाचन हो । आवधिक निर्वाचनमा राजनीतिक दलहरु जनताको मतदानद्वारा छानिएर सत्तामा पुग्न योग्य ठहरिन्छन् । यसरी जनता र राज्यको बीचमा सुचालकको रुपमा रहेका राजनीतिक दलहरु चाहिं आन्तरिक प्रतिस्पर्धामा कुचालकको रुपमा कछुवा चालमा हिँड्नु कदापी सही मानिदैंन ।
राजनीतिक दलहरुको उद्देश्य नै देशको आम निर्वाचनमा जनताको विश्वास जितेर बढी सिट पाएर सरकार बनाउने हुन्छ । यसरी सरकार बनाएपछि आफूले जारी गरेको घोषणापत्र जनताको हितमा लागू गर्ने प्रयास गर्नु नै बहुदलीय प्रजातन्त्रको मूल मर्म हो । आवधिक निर्वाचनमा प्रतिपक्षी भन्दा सक्षम एवम् सबल हुनका लागि आफ्नो पार्टीलाई चुस्त दुरुस्त बनाउने दायित्व सम्बन्धित पार्टी नेतृत्वकै हो । त्यसको लागि बैधानिक रुपले संगठनको चुनाव निर्धारित समयमा गर्न सके मात्र पार्टी अनि कार्यकर्ता आम निर्वाचनका लागि चुस्त अनि दुरुस्त हुन सक्छन् ।
नेपाली कांग्रसकै सन्दर्भमा २०८२ साल मंसिरभित्र संगठनको चुनाव गराएर २०८४ सालको स्थानीय एवं आम निर्वाचनको लागि पार्टी र कार्यकर्ताहरुलाई तयार पार्नेतर्फ नेतृत्व वर्गको ध्यान जान आवश्यक छ । होइन, छेपारोको भोली झैं अधिवेशन सार्दै आम निर्वाचनसँगै वा लगत्तै गर्ने सोच हो भने त्यसले गराउने राजनीतिक दुर्घटनाको जिम्मेवारी लिन्छु भन्न पनि नेतृत्व वर्गले नपाउने अवस्था आउन सक्छ ।
जुनसुकै क्षेत्रमा सफलता हाँसिल गर्नका लागि निरन्तर अभ्यास एवं परिश्रम पूर्व शर्त हो भन्ने कुरामा शंका छैन । त्यसैगरी राजनीति पार्टीहरुले पनि आफ्नो लक्ष्य हासिल गर्न निरन्तर परिश्रम गर्नुपर्छ भन्ने बिर्सनु हुँदैन । आफ्नो बञ्चरोको धार तिखो पारेर मात्र आफू सफल भइन्छ भन्ने प्रसंग यहाँ उल्लेख गर्नु समिचीन नै हुनेछ ।
कथा प्रसंग अनुसार राम र श्याम रुख काट्न असाध्य सिपालू थिए । एकपटक दुबैबीच दिनभरिमा सबैभन्दा बढी रुख कसले काट्न सक्छ भनेर बाजी परेछ । भोलिपल्ट बिहानैदेखि दुबैजना बञ्चरो लिएर रुख काट्न थाले । यसरी रुख काट्न थालेको एक घण्टा बितेपछि रामको बञ्चरोको आवाज सुनिन छाड्यो । राम थाकेको अनुमान गरेर श्याम खुसी हुँदै आफ्नो रुख काट्ने कामलाई निरन्तरता दिइनै रह्यो । पन्ध्र मिनेट पछि रामले बञ्चरो चलाएको आवाज फेरि सुनिन थाल्यो । एवं रितले हरेक घण्टामा रामको बञ्चरोको आवाज पन्ध्र मिनेटका लागि शान्त हुन्थ्यो तर श्यामले आफू थाकेको महसुस भए पनि रुख काट्ने कामलाई निरन्तरता दिइनै राख्यो ।
सूर्यास्त पछि दुबैले काटेको रुख भन्दा रामले बढी रुख काटेको थाहा पाएपछि श्याम छक्क पर्यो । मैले लगातार रुख काट्दा तिमी विश्राम गर्दै रुख काट्दै थियौ तर अहिले गन्दा तिमीले काटेको रुख कसरी बढी भयो ? श्यामको जिज्ञासालाई शान्त पार्दै रामले ‘तिमीले एकोहोरो भएर रुख मात्रै काटिरह्यौ तर मैले बीचको पन्ध्र मिनेटमा बञ्चरोलाई धार लगाउने गर्थे । यसले गर्दा बञ्चरोको धार भुत्ते हुन नपाएर झन् तिखो भएकाले म तिमी भन्दा बढी रुख काट्न सफल भएँ भनेर भन्यो ।’
कथाको तात्पर्य अनुसार कुनै पनि लक्ष्यमा सफल हुनको लागि निरन्तर परिश्रम एउटा पूर्व सर्त हो । तर लक्ष्यमा सफल हुन चाहिने सक्रियता एवं निरन्तरता कायम राख्न बीचमा पुनर्ताजगी अर्थात आन्तरिक तयारी पनि त्यति नै आवश्यक छ ।
रामले आफ्नो बञ्चरोलाई आवश्यकता अनुसार तिखारे झैं कार्यकर्ताहरुलाई तिखार्नको लागि पनि निर्धारित समयमा महाधिवेशन गर्न जरुरी छ । महाधिवेशनबाट पुनर्ताजगी पाएका कार्यकर्ताहरुले त्यसपछि हुने स्थानीय एवं आम निर्वाचनरुपी चुनौतीलाई सहजै सामना गर्न सक्छन् । बिना लक्ष्य एवं उद्देश्य अघि बढ्ने हो भने त्योमाथि कथामा वर्णित पात्र श्यामको झैं अवस्था आउन सक्छ । अर्थात् मिहेनत गर्दा गर्दै पनि समयानुकूल बञ्चरोको धार तिखो नपार्दा प्रतिस्पर्धामा पछि परे झैं राजनीतिक प्रतिस्पर्धामा पनि पछि पर्ने खतरा रहिरहन्छ ।
निष्कर्षमा भन्ने हो भने ‘मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन’ भने झैं समय अनि अवसर सधैं आइरहँदैन । कांग्रसले आफ्नो १५औं महाधिवेशन सम्पन्न गर्ने २०८२ मंसिर उपयुक्त समय अनि अवसर पनि हो । महाधिवेशन सम्पन्न भएपछि दुई वर्षको ‘कूलिंग’ अवधिले धेरै हदसम्म आपसी मनमुटाव अनि अविश्वासलाई सामना गर्न सकिन्छ । होइन, सबैकुरा बिस्तारै ठिक हुन्छ भन्ने रुढीवादी सोचमा रमाउने हो भने देशको प्रमुख राजनीतिक दलमा आएको विचलनले चौतर्फी असर पार्ने कुरामा दुई मत छैन ।
२०८२ साल मंसिरमा हुने महाधिवेशन स्थगित गरेर पुनः मिति तोक्ने अनि सार्ने खेलले निरन्तरता पायो भने मरुभूमिमा ‘मृगमरिचिका’ मा फसेर हरिण लखतरान भए झैं कार्यकर्ताहरु पनि महाधिवेशन रुपी अन्योलको भूमरीमा फसेर लखतरान हुन सक्छन् । यसरी कार्यकर्ताहरु लखतरान भएमा त्यसको जिम्मेवारी कसले लिने ? नेतृत्व वर्गलाई समय रहँदै चेत आओस् भनि अहिलेलाई कामना मात्र गर्न सकिन्छ ।
View : 51
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved