काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको मंगलबार अपरान्ह उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बनेका थिए । उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकेका स्वर्गीय नेता नेपाल पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाएर चर्चित थिए ।
नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए । उनी २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि राष्ट्रियसभा सदस्य समेत रहेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएर काम गरेका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय रहेका थिए ।
भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो । नेपालको मंगलबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
View : 19
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved