Biratnagar, Morang, Nepal
२३ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

त्रियुगा नदीमा फसेको बस बाढीले बगायो

बस बगाएको केही तल भने पक्की पुल निर्माण भएको थियो । तर उक्त पुलको पाँचवटा पिलर २०७८ असार २९ गतेको बाढीले भत्काएपछि हरेक बर्षा याममा शिवाई र बेल्टारबीचको यातायात सम्पर्क टुट्ने गरेको छ ।
उद्‌घोष सम्वाददाता
२३ वैशाख २०८२, मङ्गलवार

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईमा त्रियुगा नदीले यात्रु बस बगाएको छ । सोमबार राती जन्ती लिएर फर्किएको को१ख ४७५३ नम्बरको यात्रुबस त्रियुगा नदीमा ह्यूमपाइप लगाएर बनाइएको अस्थायी कल्भर्टमा फसेको थियो ।

अविरल बर्षापछि त्रियुगा नदीमा आएको बाढीले मंगलबार विहान उक्त बस बगाउनुका साथै कल्भर्टसमेत कटान गरेपछि शिवाई र बेल्टार जोड्ने सडक सम्पर्क टुटेको छ ।

नदीमा फसेको बस तत्कालै निकाल्न नसक्दा बाढीले करीव १० फिट तलसम्म बस बगाएको प्रहरीले जनाएको छ ।

त्रियुगाको बाढीले बगाएको बस केहिबेर अघि इलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीको सहायतामा क्रेनले तानेर निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बस बगाएको केही तल भने पक्की पुल निर्माण भएको थियो । तर उक्त पुलको पाँचवटा पिलर २०७८ असार २९ गतेको बाढीले भत्काएपछि हरेक बर्षा याममा शिवाई र बेल्टारबीचको यातायात सम्पर्क टुट्ने गरेको छ ।

उक्त पुल निर्माणका क्रममा राजनीतिक दलहरूबीच आरोप प्रत्यारोप चलेको थियो । बल्लबल्ल बनेको पक्की पुलको पिल्लर नै बगाएपछि हिउँदमा ह्यूमपाइप लगाएर अस्थायी रुपमा सडक संचालन गरिंदै आएको थियो । 

शिवाई पुल निर्माण गर्न २०६७ मा सम्झौता भएको थियो । ३०७ मिटर लम्बाइ र ६ मिटर चौडाइको १३ वटा पिलर भएको पुल ९ करोड ७६ लाख रुपैयाँको लागतमा बनेको थियो । तर २०७८ असारको बाढीले पिल्लर नै बगाएपछि यातायात सेवा पुनः अवरुद्ध हुँदै आएको जनाइएको छ । 

पुल निर्माणका लागि पहल गर्न चौदण्डीगढी वडा नम्बर ५ का वडाध्यक्ष तुलसीराम ढकालको संयोजत्वमा संघर्ष समिति समेत बनेपनि भत्किएका पिल्लर हटाएर नयाँ पुल निर्माण हुन सकेको छैन ।

पुल नहुँदा बर्षा याममा सुन्दरपुरका करीव आठ सय घर परिवारले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बन्दै आएको जनाइएको छ ।

View : 53

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved