भारत–पाकिस्तान तनाव
भारत प्रशासित कश्मीर र पाकिस्तान सीमा क्षेक्र यतिबेला घातक हतियारको आवाजले अशान्त अनि तनावग्रस्त बनेको छ । दक्षिण एशियाका आणविक शत्ति सम्पन्न दुई राष्ट्रबीच बढेको तनावको आयतन भारत–पाक सीमाभित्र मात्रै सीमित छैन । त्यहाँबाट झण्डै २१ सय किलोमिटर पूर्वमा रहेको विराटनगरसम्मै त्यो तनावको बाछिटा फैलिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत भारत–पाक तनावको चौतर्फी असर नेपालमा पर्ने बताउँछन् । नेपालका अनुभवी उद्योगीसमेत रहेका राउतको ठहर छ ‘भारत–पाक युद्धले नेपाललाई प्रत्यक्ष युद्धको रूपमा नछुनसक्छ । तर, आर्थिक, सामाजिक, राजनीतिक र सुरक्षा क्षेत्रमा धेरै ठूलो असर पार्न सक्छ । यो हाम्रा लागि ठूलो चिन्ताको विषय हो ।’ नेपालभन्दा धेरै टाढाको दुरीमा रहेका रुस र युक्रेन युद्धले नै विश्वको जुनै कुनामा भए पनि युद्धको असर विश्वव्यापी बन्ने प्रमाण देखाएको राउतको भनाइ छ ।
‘अहिले विश्वका हरेकजसो मुलुक कुनै न कुनै रुपमा विश्वका सबैजसो देशसँग आर्थिक रुपमा जोडिएकै हुन्छन्’, राउतले भने ‘जस्तो रुस र युक्रेन युद्धले नेपाललाई ठूलो असर गरिरहेको छ । नेपालीहरु सैन्य क्षेत्रमा संलग्न भएर प्रत्यक्ष सहभागी बने । त्यसले यहाँ प्रत्यक्ष असर गर्यो । त्यसबाहेक पेट्रोलियम पदार्थदेखि खाद्यान्नसम्मको क्षेत्रमा ठूलो असर पुर्यायो । अहिले त साँध जोडिएको छिमेकी युद्धमा होमिएको अवस्था छ । यसले हामीलाई प्रत्यक्ष–परोक्ष सबै हिसाबले असर गर्छ ।’
दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलामा पाकिस्तानी हात रहेको आरोप लगाउँदै भारतले मंगलबार मध्यरातमा फाकिस्तानमा ‘मिसाइल’ आक्रमण गरेको थियो । त्यसत्रममा दर्जनौं पाकिस्तानीको ज्यान गएको छ । पाकिस्तानी सेनाले पनि भारतीय लडाकु विमानहरु खसालेको दाबी गरिरहेको छ ।
भारतीय हमलाको ‘मुहतोड जवाफ दिने’ पाकिस्तानी अडानले युद्ध अवश्यम्भावी रहेको सङ्केत गर्छन् । यस्तोमा नेपालसँग खुला सीमा भएको र तीनतिरबाट घेरेको भारत अनि पाकिस्तान युद्धमा होमिदा त्यसको असरले नेपाल नराम्ररी प्रभावित हुने राउतको भनाइ छ ।
त्यसो त पहलगाम हमलामै एक जना नेपालीले ज्यान गुमाइसकेका छन् । अझ युद्ध नै सुरु भइसकेपछि त भारतमा रहेका हजारौं नेपाली यसै पनि प्रभावित हुने निश्चित छ । भारतीय सुरक्षा फौजदेखि अन्य क्षेत्रमा पनि ठूलो संख्यामा रोजगारीमा रहेका नेपाली र तिनको परिवार यो युद्धले सबैभन्दा धेरै प्रभावित हुने अनुमान छ । यसअघि भारत–पाक तनावमा धेरै नेपालीले ज्यान गुमाइसकेका छन् ।
‘भारतमा धेरै नेपालीहरू विभिन्न काम गरिरहेका छन्’, राउतले भने ‘त्यसरी रोजगारीमा ती व्यक्तिहरू पनि यो युद्धको कारण घर फर्किने पनि क्रम बढ्न सक्छ । त्यसो भयो भने बेरोजगारी अरु आकाशिने छ । अझ भारतले पनि आफ्नो जनतालाई युद्धको बेला कसरी घरमा बन्दोबस्तको सामान लिएर बस्नुपर्छ भन्ने कुराहरू पनि जानकारी गराइरहेको अवस्था छ । यसले युद्ध लम्बिने चिन्ता बढाएको छ ।’ राउतका अनुसार भारत–पाकबीच बढेको तनावले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लाग्नसक्छ ।
‘हाम्रो भारतसँगको व्यापारिक निर्भरता उच्च छ । युद्धकै कारण सीमा क्षेत्रमा कडाइ, तनाव वा बन्दको अवस्थासम्म आउनसक्छ’, राउतले थपे ‘यसले आयात–निर्यातमा असर पुर्याउने र अवरोधको अवस्था समेत आउनसक्छ । हामीले निर्यात धेरै नगरे पनि भारतबाट ठूलो परिमाणमा वस्तुहरु आयात गरिरहेका हुन्छौं । युद्धले औद्योगिक कच्चा पदार्थदेखि दैनिक उपभोग्य सामग्रीसम्मको अभाव निम्त्याउने खतरा रहन्छ ।’
भारत–पाक तनावले नेपालमा पार्न सक्ने सबैभन्दा ठूलो क्षति पर्यटन क्षेत्रमा हुनसक्ने खतरा राउत औंल्याउँछन् । ‘क्षेत्रीय अस्थिरता बढ्दा नेपालमा आउने विदेशी पर्यटक जोखिम मानेर पछाडि हट्न सक्छन्’, राउतले भने ‘यसले पनि हामीलाई यो युद्धको असरका रुपमा धक्का पुर्याउन सक्छ ।’
नेपालको व्यापारिक सम्बन्ध केवल भारतसँग मात्रै सीमित छैन । पाकिस्तानसाग पनि व्यापारिक सम्बन्ध बलियो नै छ । युद्ध लम्बिने अवस्था आए यसको पनि असर नेपाललाई पर्नेछ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१–८२ साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्कले दुई देशबीचको व्यापारिक सम्बन्ध उच्च रहेको देखाउँछ । पाकिस्तानबाट नेपालमा मसला, स्याम्पुदेखि औषधिसम्म आयात भइरहेको छ । तथ्याङ्क अनुसार चैतसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँ बराबर वस्तु आयात गरेको देखिन्छ भने ६ करोड २२ लाख बराबरको निर्यात गरेको छ । यसले १९ करोड २४ लाख बराबरको व्यापार घाटा देखाउँछ ।
नेपालले पाकिस्तानबाट मसला, औषधीय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता विविध वस्तु आयात गर्छ । सबैभन्दा धेरै आयात हुने वस्तुमा मसला हो । नेपालले ५ करोड ३८ लाख बराबरको मसला यो अवधिमा आयात गरेको छ । त्यस्तै औषधिजन्य जडीबुटी २ करोड ४६ लाख, फेस क्रिम १ करोड ४० लाखको नेपालले पाकिस्तानबाट आयात गरेको देखिन्छ ।
औषधिमा एन्टिबायोटिक र हर्मोनका औषधि र रासायनिक वस्तुमा सोडियम बाइकार्बोनेट पनि पाकिस्तानबाट नेपालमा उल्लेख्य मात्रामा आयात हुन्छन् । कालो नुन, चुरोट, साबुन र प्लास्टिकका सामानजस्ता वस्तु पनि आयातको सूचीमा छन् । ‘तीनतिर सीमा जोडिएको निकट छिमेकी र अर्को छिमेकीबीचको युद्ध हाम्रा लागि चिन्ताको विषय हो’, महासंघ अध्यक्ष राउतले अगाडि भने ‘भूकम्प, कोभिड, रुस–युक्रेन युद्धपछि अहिले भारत–पाकिस्तान तनावको मार पर्ने खतरा छ । यस्तोमा नेपालले सुझबुझपूर्ण हिसाबले अघि बढ्नुपर्ने कुशलता देखाउनुपर्छ ।’ उनका अनुसार आयातमा हुने समस्यालाई संवेदनशील भएर नेपालले हेर्नुपर्ने खाँचो छ । यस्तै संकटका बेला सुझबुझ र क्षमताको परीक्षा हुने उनको भनाइ छ ।
View : 69
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved