Biratnagar, Morang, Nepal
२५ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

हस्ताक्षर कार्य गरौं

कृति श्रेष्ठ
२५ वैशाख २०८२, बिहिवार

हस्ताक्षर काम गर्ने गरौं भन्ने नाराका साथ म सम्पूर्ण अद्भूत नारीहरूलाई नमन गर्दै आ–आफ्नो कार्यमा  उत्तरोउत्तर प्रगतिको शुभकामना दिन चाहन्छु । यस लेखमा म विशेष नारीहरूले पहिचानलाई कसरी उच्च गुणस्तरमा लगेर हस्ताक्षर कार्य गर्नु पर्दछ भन्ने कुरालाई आफ्नो अनुभवको शैलीमा प्रस्तुत गर्न गई रहेकी छु । 

हामी सबैको पहिचान हुन र बनाउन आवश्यक छ । हाम्रो अनुहार, बनोट, परिवेश, जाति, भेषभूषा, रीतिरिवाज, संस्कृति, भाषा, कला, श्रृङ्गार, गुण आदिहरू फरक–फरक भए तापनि हाम्रो मूल उद्देश्य एउटै हुन्छ । सामाजिक–आर्थिकरूपमा अगाडि बढेर आफ्नो उद्देश्य पूरा गर्ने र पहिचान बनाउने हो । हरेक महिलाको सफलता हाम्रो लागि प्रेरणा हो । 

हामीले आफ्ना गुणहरूलाई चिन्न सकेर अगाडि बढ्न सक्दछौं । सँगसँगै आफ्नो अस्तित्व, खुबी, कलाकारिता, ऊर्जा, ज्ञानहरूलाई पनि पहिल्याउन सक्नु पर्दछ । पहिरन र बाहिरी हावभावलाई मात्र सुन्दर देखाउनेपट्टि नभएर हाम्रो हरेक प्रस्तुति सुन्दर, प्रभावकारी र पहिचानमुलक हुनु पर्दछ । 

म आफै पनि उद्यमशील र कला क्षेत्रमा आवद्ध भएकोले सिर्जनशील कार्य गर्न रुचाउँछु, जुन अभिनव देखियोस् अनि त्यसमा मेरो हस्ताक्षर कार्य र पहिचान होस् । कुनै पनि क्षेत्रमा अभ्यास र अनुभवको ठूलो भूमिका हुन्छ । हामीले जति निरन्तरता दिन्छौं, मेहनत गछौं अगाडि बढ्छौं, त्यति नै हामीले नयाँ नयाँ सिर्जनाहरू गर्न र त्यसबाट पाउने उपलब्धी साथै सम्मान पनि पाउने गर्दछौं । 
एउटै कार्यमा निरन्तरता दिंदै जाँदा हामीले नवीनता ल्याउँन सक्दछौ । तर हिजोआज प्रायजसोको सोच नै छिटो गरौ ः देखावटीबाटै प्रचार प्रसारबाटै पहिचान कमाऊँ भन्ने देखिन्छ । यस्तो गतिविधिले गर्दा हरेक क्षेत्रमा विकासको अभाव देखिन थालिएको छ । 

अझै हामी केही न केही पेशा र कार्यहरुमा आवद्ध भएका छौं । कतिको बानी होडबाजी गर्ने, अवसरवादी हुने, अरुको सीपलाई ‘कपि पेष्ट’ गर्ने, सार्ने, हुबहु बनाई दिने, आफ्नो कला, उत्पादन, सिर्जनाहरुलाई आफ्नोपनमा पहिचानको साटो अरुको जस्तो बनाएर बजारीकरण गर्ने क्रियाकलापले गर्दा आफ्नो काम र अवसरसँगै अरुको मेहनत, सिर्जनालाई पनि धरासाही बनाउँदा धेरै चुनौतीहरू सामना गर्नु पर्ने हुन्छ । 

एउटै काममा केन्द्रित नभएर परिवर्तन गरिरहने पेशा र बानीले पनि सफलता पाउन सकिदैन । अवसरको खोजीमा एकै उद्देश्य बोकेको विभिन्न संघ, संस्थाहरूमा आफूलाई सामेल गराउँदा आफ्नो मूल पहिचान र मुख्य केन्द्रित संघ वा संस्था छुट्याउन गाह्रो हुन्छ । आफू नै सबै संघ–संस्थामामा आबद्ध भई दिंदा अरुको मौका र सहभागिता देखिदैन । यस्ता कुराहरूले गर्दा हामीले हाम्रो गन्तब्य के अन्योल बनाउँदै हिंडेका छौ भन्ने मलाई लाग्दछ । 

हामीले आफूलाई कुन विद्या, क्षेत्र, पेशा, सीप, कला आदि बाट अगाडि बढाउने हो त्यो छुट्टयाउन एकदमै जरूरी हुन्छ । आफू कुन पहिचान लिएर आफ्नो पहिचान बनाउने हो त्यो एउटै हुनु पर्दछ । यो सबै कुराहरूसँगै हामी कसरी प्रस्तुत हुने, हाम्रो पहिचानमा समर्पण, इमान्दारिता, मर्यादा भाव, स्पष्टता, कडा परिश्रम, योगदान, अभिनव सिर्जना साथै आफूलाई चिनाउने हस्ताक्षर कार्य देखिनु पर्दछ । अर्को पारोमा भन्नु पर्दा हामी ‘नारी’लाई प्रकृतिले नै यति धेरै अद्भूत, अत्यन्तै राम्रो, अत्यन्तै प्रभावशाली बनाएको छ र हामी नारी त्यति नै कलात्मक र सिर्जनशील छौं । हामी हरेक कुरामा निपुर्ण छौं । यसरी अनगिन्ती ऊर्जाहरूले भरिपूर्ण भए तापनि हामीले हाम्रो गन्तव्य नै अन्योल बनाउँदै हिंडेका छौं । 

त्यसकारण यी सबै कुराहरुलाई टाढै राखेरे आफ्नो पहिचान बनाऔं । म, म भएरै  अगाडि बढौं र आफ्नो हस्ताक्षर कार्यलाई समाज र राष्ट्र साथै अन्तर्राष्ट्रिय स्तरमा पनि नमूना भएर देखाऔं । 

यही लेखमार्फत मैले आफ्नो क्षेत्र कला र उद्यमशीलतालाई अगाडि बढाउने मेरो हस्ताक्षर कार्य ‘कृतिको कृति’ साझा गर्न गैरहेकी छु । जसको मुख्य उद्देश्य कलाको प्रवर्द्धन गर्नु, स्थानीय सामग्री उत्पादन साथै उद्यमशीलतामा अवसर र रोजगार बढाउनु हो । 

View : 54

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved