फाइल फोटो
विराटनगर । प्रधानमन्त्रीय पद्धति भएको नेपालको मन्त्रिपरिषदमा प्रधानमन्त्री सबैभन्दा शक्तिशाली भए झैं प्रदेश मन्त्रिपरिषदमा पनि मुख्यमन्क्री शत्तिशाली हुन्छन् । संवैधानिक प्रावधान नै त्यस्तै छ । तर, मंगलबार बिहानको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकमा भने मुख्यमन्त्री हिक्मतकुमार कार्की निरीह जस्तै देखिए ।
गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कार्कीसँग यतिबेला सत्ता सहयात्री नेपाली कांग्रेस पूरै असन्तुष्ट छ । असन्तोष बोकेर बसिरहेका कांग्रेसका मन्क्रीहरू मंगलबारको ‘क्याबिनेट’ बैठकमा मुख्यमन्त्रीमाथि खनिएका हुन् । कांग्रेसका मन्त्रीहरूले क्याबिनेट बैठकमै मुख्यमन्त्री कार्कीको आलोचना गरे । त्यसत्रममा मुख्यमन्त्रीले भने ‘आफूलाई केही थाहा नभएको, अर्थमन्त्रालयले ध्यान नपुर््याएको’ जस्ता शब्द प्रयोग गरेर पन्छिने प्रयास गरेका थिए ।
‘सत्ता सहयात्रा सुरू हुनेबेलामा जे सहमति भएको थियो, मुख्यमन्त्रीबाट लगातार त्यो उल्लघंन भएपछि हामीले आज क्याबिनेटमै मुख्यमन्त्रीको धारणा माग गरेका थियौं’, बैठकमा सहभागी एक जना मन्त्रीले भने ‘तर, मुख्यमन्त्रीले मलाई केही थाहा छैन भन्दै टार्न खोज्नुभयो । विगतमा पनि त्यस्तै गरेका कारण यो शैलीको पनि हामीले विरोध गर्यौं ।’
‘पर्यटन (भ्रमण) वर्ष, लगानी सम्मेलन, मन्त्रालयहरूको बजेट सिलिङ कटौतीदेखि कांग्रेस सांसदहरूको योजना कटौतीसम्मका कुरा हामीले उठायौं’, ती मन्त्रीले भने ‘तर, मुख्यमन्त्रीले भने अर्थ मन्त्रालयलाई दोष लगाउँदै आफूलाई थाहै नभएको बताएपछि हामीले विरोध गरेका हौं ।’
कोशीमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरू हुँदै मुख्यमन्त्री कार्की र कांग्रेसबीच कांग्रेसका सबै सांसदहरूका क्षेत्रमा योजना थप गर्ने सहमति भएको थियो । तर, अहिले योजना पार्दा धेरैजसो योजना एमाले सांसदहरूकै क्षेत्रमा मात्रै परेपछि कांग्रेसले तीव्र असन्तोष प्रकट गरिरहेको छ । यही निहुँमा लगानी सम्मेलनदेखि पर्यटन वर्षसम्मका कुरा जोडेर कांग्रेस नेताहरूले मुख्यमन्त्रीको शैलीको विरोध गरिरहेका छन् ।
केन्द्रीय सदस्य भीम पराजुलीदेखि प्रमुख सचेतक गोपाल तामाङसम्मले सरकारसँगको असन्तोष सार्वजनिक गरिसकेका छन् । केन्द्रीय सदस्य पराजुलीले मुख्यमन्त्री गठबन्धनको मर्म अनुसार नचलेको बताएका छन् भने प्रमुख सचेतक तामाङले ‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर बिमति छ’ भन्दै ‘यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
कांग्रेसभित्र तीव्र असन्तोष रहेको जानकारी पहिल्यैदेखि पाएका तर सार्वजनिक नहुँदा वेवास्ता गरिरहेका मुख्यमन्त्री त्यसबेला झस्किए, जब प्रभावशाली नेताहरू नै खुला विरोधमा उभिए । ‘वित्तीय कारणले साथीहरूको असन्तोष बढेको बुझेको छु’ क्याबिनेट बैठकमा कार्कीले भनेका थिए ‘तर, यसमा मेरो दोष छैन । अर्थ मन्त्रालयले यसमा तरिका नपुर्याएको हो ।’
मुख्यमन्त्रीले दोष अर्थ मन्त्रालयतिर लगाएपछि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर पनि कर्मचारीतिर दोष थोपरेर उम्किन खोजेका थिए । मुख्यमन्त्री र अर्थमन्त्री दुवैले कुनै पनि कुराको जिम्मेवारी नलिएपछि कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्रीलाई सोधेका थिए ‘के तपाइले हामीसँग चिटिङ गर्न खोज्नुभएको हो ? यस्तै खुरापाती शैलीले सरकार अघि बढ्छ ?’ जवाफमा मुख्यमन्त्रीले केही भनेनन् । बरू एमालेकै मन्त्री एकराज कार्कीले भने जिम्मेवारीबाट कोही पनि भाग्न नमिल्ने आसयमा राय राखेका थिए । यसरी मन्त्री र मुख्यमन्त्रीहरूबीच तिखो छेडछाड भएको क्याबिनेट बैठकले प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्नेसहितका केही निर्णयहरू गरेको थियो ।
View : 86
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved