रिजाल क्यानिङ कम्पनी प्रकरण :
विराटनगर । विराटनगर–२ सोमबारेमा अहिले मोरङ सहकारी अस्पताल सञ्चालनमा छ । आसपासमा निजी घरहरू ठडिएका छन् ।
सनातन धर्म सेवा समितिको सामुदायिक भवन पनि यही क्षेत्रमा छ । अस्पताल, दुई दर्जन हाराहारीका निजी घर र अन्य संरचना रहेको यो क्षेत्र कुनै समय एउटा फलफूल प्रशोधन उद्योगका लागि छुट्याइएको जग्गा थियो ।
उद्योग सञ्चालन गर्ने सर्तमा सरकारले हदबन्दीभन्दा बढी जग्गा राख्न दिएको अनुमति, त्यसको उल्लंघन, सरकारी जफतको निर्णय, सर्वोच्च अदालतको आदेश र त्यसपछिको जग्गा सट्टापट्टा हुँदै अहिलेको अवस्था बनेको हो ।
करिब पाँच दशकअघिको सरकारी निर्णयसँग जोडिएको यही जग्गा कारोबार अहिले ठूलो भ्रष्टाचार मुद्दाको विषय बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले विराटनगरको जग्गा निजी कम्पनीको हितमा सट्टापट्टा गराउँदा राज्यलाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको दाबी गरेको छ ।
हदबन्दी छुटको जमिन कसरी किनबेच भएर अहिलेको अवस्थामा पुग्यो ? यसका लागि दशकौं पहिले फर्कनुपर्छ ।
रिजाल क्यानिङ कम्पनीलाई फलफूल प्रशोधन उद्योग सञ्चालन गर्न तत्कालीन सरकारले २०३२ जेठ १९ मा राजपत्रमा सूचना प्रकाशित गरी जग्गा हदबन्दी छुट दिएको थियो ।
त्यसअनुसार मोरङ र सुनसरीमा रहेको कुल ५९ बिघा ९ कट्ठा १२ धुर जग्गा कम्पनीले राख्न पाउने व्यवस्था गरिएको थियो । त्यसबेला प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए । जग्गाका मुख्य स्वामित्वकर्तामध्ये उनी पनि एक थिए ।
सरकारले उद्योग सञ्चालन गर्ने उद्देश्यले सामान्य हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिएको थियो । फलफूल प्रशोधन उद्योग सञ्चालन गरिरहने प्रयोजनमा मात्र कम्पनीले उक्त जग्गा राख्न पाउने व्यवस्था थियो ।
कम्पनीले २०४१ असार २ मा १० बिघा १७ कट्ठा १० धुर जग्गा रिजाल टासी इन्डस्ट्रिजलाई हस्तान्तरण गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
आयोगका अनुसार उद्योग सञ्चालनका लागि दिइएको हदबन्दी छुटको सर्तविपरीत अर्को उद्योगलाई जग्गा हस्तान्तरण गरिएको थियो ।
यसपछि सरकारले छुटको सर्त उल्लंघन भएको ठहर गर्दै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढायो ।
२०४८ चैत २३ मा सरकारले ५५ बिघा २ कट्ठा ७ धुर जग्गा जफत गर्ने निर्णय ग¥यो ।
सरकारी निर्णयसँगै सम्बन्धित जग्गा रोक्का राखियो । तर, कम्पनीले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि यो विवाद अदालत पुग्यो ।
२०५४ जेठ २७ मा सर्वोच्च अदालतले सरकारले जग्गा जफत गर्ने क्रममा अपनाएको प्रक्रिया नमिलेको ठहर गर्दै उक्त निर्णय बदर गरिदियो ।
अख्तियारको अभियोगपत्रअनुसार सर्वोच्चको आदेशले सरकारी जफतसम्बन्धी निर्णय बदर गरेको भए पनि हदबन्दी छुट दिँदा तोकिएका सर्त उल्लंघन भएको विषय स्वतः समाप्त भएको थिएन ।
सर्त उल्लंघन भएको अवस्थामा सरकारले कानुनअनुसार जग्गा फिर्ता लिन सक्ने विषयलाई अदालतको आदेशसँग अलग गरेर बुझ्नुपर्ने आयोगको तर्क छ ।
तर, त्यसपछिको सरकारी निर्णय प्रक्रियामा भने यही आदेशलाई आधार बनाइएको अख्तियारको आरोप छ ।
२०६३ भदौ १२ मा तत्कालीन भूमिसुधार अधिकारी उमनाथ पाण्डेले विराटनगरका दुई कित्ताको जग्गामाथि लगाइएको रोक्का फुकुवा गरिदिए ।
आयोगले सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गरी जग्गा फुकुवा गरिएको दाबी गरेको छ ।
फुकुवा गरिएका कित्तामध्ये नम्बर ४८ मा ३ बिघा ३ कट्ठा १ धुर र कित्ता नम्बर ७१ मा १ बिघा २ कट्ठा ८ धुर जग्गा थियो । दुवै कित्ताको कुल क्षेत्रफल ४ बिघा ५ कट्ठा ९ धुर थियो । यही जग्गा पछि सट्टापट्टाको प्रस्तावको केन्द्रमा आयो ।
रिजाल क्यानिङ कम्पनीले विराटनगरको जग्गा बिक्री गरेर त्यसको सट्टामा मोरङको तत्कालीन बानिगामा गाविस क्षेत्रमा जग्गा लिन खोजेको थियो । उक्त क्षेत्र अहिले ग्रामथान गाउँपालिकामा पर्छ ।
सट्टापट्टाका लागि प्रस्ताव अघि बढाउँदा बानिगामाको जमिन फलफूल खेती तथा उद्योग सञ्चालनका लागि उपयुक्त नरहेको देखाउने गरी विभिन्न सरकारी निकायबाट कागजात तयार पारिएको अख्तियारको आरोप छ ।
वडा तथा गाविस कार्यालय, जिल्ला कृषि विकास कार्यालय र माटो परीक्षण प्रयोगशालालगायत निकायबाट प्राप्त सिफारिस, मुचुल्का तथा प्रतिवेदनलाई आयोगले अनुसन्धानको दायरामा राखेको छ । त्यसबेला फलफूल विकास अधिकृत द्रोणराज काफ्लेको टोलीले समेत प्रस्तावित जग्गाको स्थलगत अध्ययन गरेको थियो ।
आयोगका अनुसार सो अध्ययनबाट आएको प्रतिवेदनलगायत कागजातले बानिगामाको जमिन उद्योगका लागि अनुपयुक्त रहेको देखाउने काम गरेका थिए ।
यसरी तयार पारिएका विवरण र सिफारिसका आधारमा जग्गा सट्टापट्टाको प्रस्ताव भूमिसुधार तथा व्यवस्था मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।
२०६६ कात्तिक १५ मा मन्त्रालयले सट्टापट्टासम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठायो। मन्त्रिपरिषद्ले मंसिर १६ मा त्यसलाई सामाजिक समितिमा पठाउने निर्णय गर्यो ।
त्यसबेला सामाजिक समितिको नेतृत्व डा. मीनेन्द्रप्रसाद रिजालले गरिरहेका थिए । उनी संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रीसमेत थिए ।
अख्तियारको अभियोगपत्रअनुसार रिजालले २०६६ पुस १६ मा जग्गा सट्टापट्टाका लागि सहमति दिएका थिए ।
कम्पनीका सञ्चालकसँग उनको पारिवारिक सम्बन्धसमेत रहेको अवस्थामा स्वार्थ बाझिने विषयलाई बेवास्ता गरी निर्णय प्रक्रियामा सहभागी भएको आयोगको आरोप छ ।
त्यतिबेला प्रधानमन्त्री रहेका माधवकुमार नेपालमाथि पनि सरकारी स्वामित्वमा रहनुपर्ने जग्गा निजी कम्पनीको हितमा सट्टापट्टा गर्ने प्रस्ताव अघि बढेको जानकारी हुँदाहुँदै निर्णय प्रक्रियामा भूमिका खेलेको आरोप लगाइएको छ ।
अख्तियारले औद्योगिक प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न दिने विषयमा लागू रहेको २०६२ सालको नीतिसमेत निलम्बन गरेर सट्टापट्टाको प्रक्रिया अघि बढाइएको दाबी गरेको छ ।
सट्टापट्टाको निर्णयपछि कम्पनीले बानिगामा क्षेत्रमा जग्गा खरिद गर्यो ।
अभियोगपत्रमा उल्लेख भएअनुसार २०६६ माघ २० मा कम्पनीले त्यहाँ ४ बिघा ५ कट्ठा ९ धुर जग्गा १२ लाख ८५ हजार रुपैयाँमा किनेको थियो ।
त्यसको छ दिनपछि माघ २६ मा विराटनगरको जग्गा ८ करोड ३८ लाख ६२ हजार ५ सय रुपैयाँमा बिक्री गरिएको विवरण आयोगले प्रस्तुत गरेको छ ।
यसरी उद्योग सञ्चालनका लागि सरकारले छुट दिएको विराटनगरको जग्गा कम्पनीले बिक्री गर्न सक्ने अवस्था बनेको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले सट्टापट्टा गरेर कम्पनीले लिएको बानिगामाको जग्गाको अवस्थालाई पनि अनुसन्धानको महत्वपूर्ण आधार बनाएको छ ।
ग्रामथान गाउँपालिकाबाट प्राप्त विवरणअनुसार सो क्षेत्रमा खाल्डाखुल्डी रहेको, कच्ची बाटो भएको र खोला बग्ने अवस्था रहेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।
त्यहाँ फलफूल प्रशोधन उद्योग सञ्चालन भएको पुष्टि गर्ने प्रमाणसमेत फेला नपरेको अख्तियारको दाबी छ ।
जग्गा सट्टापट्टा भइसकेपछि पनि यो विषय सरकारी निकायको जानकारीबाहिर थिएन ।
भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २०७२ सालमा तत्कालीन निर्देशक गुरुप्रसाद रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिमा तत्कालीन सुनसरीका प्रमुख मालपोत अधिकृत विनोदकुमार पोखरेल, मोरङका भूमिसुधार अधिकारी नरेन्द्र पौडेल, सुनसरीका प्रमुख नापी अधिकृत शशिकान्त झा र शाखा अधिकृत पवनराज कोइरालालगायत सदस्य थिए ।
समितिले जग्गा हदबन्दी छुटमा राख्दा सरकारले निर्धारण गरेका सर्त पालना नभएको निष्कर्ष निकालेको थियो ।
भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ‘ङ’ अनुसार जग्गा जफत गर्न पनि समितिले सिफारिस गरेको थियो । तर, समितिको सिफारिस कार्यान्वयनमा आएन ।
प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षअनुसार कारबाही अघि नबढाइएको विषयलाई समेत अख्तियारले अनुसन्धान गरेको छ । आयोगले प्रतिवेदन कार्यान्वयन हुन नदिन भूमिका खेलेको आरोपसम्बन्धी पक्षलाई पनि अभियोगपत्रमा समेटेको छ । अख्तियारले सबै प्रतिवादीलाई एउटै प्रकृतिको कसुरमा संलग्न भएको आरोप लगाएको छैन ।
निर्णय प्रक्रियामा सहभागी भएका पदाधिकारी, जग्गा सट्टापट्टाका लागि आवश्यक कागजात र सिफारिस तयार पार्ने कर्मचारी, कम्पनीका सञ्चालक तथा अन्य सहयोगीको भूमिका छुट्टाछुट्टै रहेको अभियोगपत्रमा उल्लेख छ ।
View : 96
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved