Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा अझै प्रचलनमा छ विवाहमा 'डोली बोक्ने' परम्परा

उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । कुनै बेला बेहुलीलाई अन्माउन डोली नभई हुँदैनथ्यो । डोली नभई वैवाहिक कार्यक्रम अधुरो मानिन्थ्यो । आधुनिक सवारीसाधनको विकास भएसँगै डोली विस्थापित भएको छ । यद्यपि अझै पनि मोरङका तराईवासी आदिवासी समुदायले फाट्टफुट्ट डोलीको प्रयोग गर्ने गरेका छन् ।

विवाह संस्कृतिसँग जोडिएको डोली प्रथा हिजोआज प्रायः लोप हुने अवस्थामा छ । सडकमार्ग र सवारीसाधनको विकाससँगै विवाहमा डोली ल्याउने प्रचलन हराएको छ । सडक सञ्जालको विकास नहुँदाको अवस्थामा मानिसहरू टाढाटाढासम्म पैदल नै यात्रा गर्थे । त्यतिखेर हुने विहेबारीमा बेहुली बोक्न अनिवार्य डोली प्रयोग गरिन्थ्यो ।

सवारीसाधनले डोली विस्थापित गरिसके पनि अझै केही संस्कृति प्रेमीहरूले विवाहमा डोली प्रयोग गर्ने गरेको भन्दा अचम्म लाग्छ । कटहरी गाउँपालिका–१ खोरियाका धीरज राजवंशीको भर्खरै विवाह सम्पन्न भयो । राजवंशी परिवारले बेहुलालाई बिहे घर पठाउन तथा बेहुली भित्र्याउन डोलीकै प्रयोग गरे । 

अन्य दुई छोराको विवाहमा कार प्रयोग गरे पनि कान्छा छोराको विवाहमा भने राजवंशी भाषामा खरखरिया भनिने डोली नै प्रयोग गरेको धीरजकी आमा लखनसरी राजवंशीले बताइन् । परम्परागत संस्कृतिसँग जोडिएको साधन भएकाले सांस्कृतिक पुनर्ताजगी गर्न खरखरिया प्रयोग गरेको लखनसरीले बताइन् । 

खरखरिया चढेर बेहुली भित्र्याउन पाउँदा धीरज समेत दंगदास देखिन्थे । परम्परागत रुपमा विवाह गर्ने आमाबुवाका साथै आफूलाई समेत रहर लागेकाले विवाहमा डोली प्रयोग गरेको धीरजको भनाई छ ।

डोलीलाई स्थानीय भाषामा कतै खरखरिया त कतै पालकी पनि भनिन्छ भने डोली बोक्ने मानिसलाई कहरिया भनिन्छ । विहेमा डोली अनिवार्य भएको बेला केही मानिस डोली बोक्ने व्यावसायिक कहरियाकै रुपमै चिनिन्थे तर डोलीको प्रचलन कम भएसँगै पुस्तैनी रुपमा सो पेशा गर्दै आएकाहरू खेती किसानीमा लागेका छन् । 

सिजनको बेला डोली बोक्ने काम गरे पनि अरु बेला खेती किसानी गर्ने गरेको जहदा गाउँपालिका ३ जयरामपुरका डोली बोक्ने कहार बजुल हेमरमले बताए । बाबु बाजेले गरेको पेशा भएकाले अवसर मिलेको बेला डोली बोक्ने गरेको हेमरम बताउँछन् । 

डोली दुईतिरबाट दुई वा चार जना मानिसले बोक्ने गरी बनाइएको हुन्छ । यो घर र मन्दिर जस्तो फरक–फरक आकारको हुन्छ । यसमा बलियो काठ तथा बाँसको डन्डी वारपार हुनेगरी तेर्स्याइएको हुन्छ ।

भित्र भने बस्न तथा आराम गर्न मिल्नेगरी बनाइएको हुन्छ । त्यसभन्दा बाहिरपट्टि रहेको डन्डी दुईतिरबाट मानिसले काँधमा हालेर बोक्छन् । सुनसरी, मोरङको भित्री पालिकाहरूमा अझ पनि डोली भाडामा लगाउने र बोक्ने मानिस भेटिन्छन् । 

View : 77

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved