‘जीवनयापन गर्न सहज छैन, तर आत्महत्या गर्नु पनि समाधान होइन ।’ यस भनाइले हाम्रो समाजमा मौन रूपमा फैलिंदै गएको गम्भीर मनोवैज्ञानिक संकटतर्फ संकेत गर्छ, जुन संकट भनेको आत्महत्या हो ।
आत्महत्या भन्नाले व्यक्ति स्वेच्छाले आफ्नो जीवन समाप्त गर्ने कार्यलाई जनाउँछ । यस्तो कार्य सामान्यतया तीव्र मानसिक तनाव, निराशा, गहिरो दुःख वा अन्य मनोवैज्ञानिक कारणहरूको परिणामस्वरूप हुन्छ । आत्महत्या चरम मानसिक पीडाको अभिव्यक्तिका रूपमा प्रकट हुन्छ, जहाँ मानिस जीवनका कठिनाइहरू सामना गर्न नसकेपछि मृत्युलाई अन्तिम समाधानको रूपमा रोज्छ । केवल मानसिक अस्थिरता मात्र होइन, दीर्घकालीन शारीरिक रोग तथा असह्य शारीरिक पीडाले पनि व्यक्ति आत्महत्याको विकल्प रोज्न बाध्य हुन्छ ।
मनोवैज्ञानिक संरचना : मानिस आत्महत्या किन गर्छ ?
मानिस आत्महत्या किन गर्छ भन्ने प्रश्नको उत्तर सरल हुँदैन मनोविज्ञानले आत्महत्याका पछाडि रहेका विविध कारकहरू पहिचान गर्छ, जस्तै गहिरो विषाद (डिप्रेशन), मानसिक तनाव, सामाजिक अलगाव, पारिवारिक हिंसा, यौन शोषण, बेरोजगारी, सम्बन्ध विच्छेद, आत्मसम्मानमा ठेस पुग्नु, असफल जीवनशैली (आशाहीनता) तथा पछिल्लो समयमा सामाजिक सञ्जालले बढाएको तुलनात्मक जीवनशैली ।
प्रसिद्ध मनोविज्ञ थोमस जोइनरको आत्महत्यासम्बन्धी अन्तरवैयक्तिक सिद्धान्त अनुसार, जब कुनै व्यत्तिमा दुई प्रकारका भावनाहरू बलियो रूपमा विकसित हुन्छन्, पहिलो ‘अब म कसैका लागि आवश्यक छैन भन्ने अनुभूति, जसलाई ‘अस्वीकृति हुनुको अनुभूति’ भनिन्छ, र दोस्रो ‘म अब अरूका लागि बोझ बनिसकेको छु’ भन्ने अनुभूति, जसलाई ‘आफू अरुलाई बोझिलो भएको अनुभूति’ भनिन्छ, तब ती भावनाहरू आत्महत्याको योजना बनाउने दिशामा लैजान्छन् ।
तर केवल यति भएर मात्र आत्महत्या हुँदैन । आत्महत्यालाई व्यवहारमा उतार्न तेस्रो महत्वपूर्ण कारक आवश्यक पर्छ, जुन हो आर्जित क्षमता । आर्जित क्षमताको अर्थ हो लगातारको मानसिक पीडा, दुःख वा आत्मपीडाबाट मानिसमा विकास भएको साहस वा निडरता, जसले उसलाई मृत्युको डर पार गरेर आत्महत्याको कदम चाल्न सक्षम बनाउँछ ।
कोरोना महामारीपछिको मनोवैज्ञानिक असर
कोरोना भाइरसको महामारीले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको थियो । लामो समयसम्मको सामाजिक दूरी, रोजगारीको अभाव, भविष्यप्रतिको अनिश्चितता र पारिवारिक तनावले विशेष गरी किशोरकिशोरी र युवाहरूमा आत्महत्याको जोखिम बढाएको देखिन्छ । विद्यालयहरू बन्द हुनु, अनलाइन कक्षाको निरन्तरता हुनु, र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले युवाहरूमा छुट्ने डर, आत्म मूल्याङ्कनमा गिरावट र गहिरो मानसिक असन्तुलन देखिन्छ ।
सामाजिक मौनता र कलंक : नेपालमा अझै पनि मानसिक स्वास्थ्यलाई लाज र कमजोरीसँग जोडिने विषयका रूपमा लिइन्छ ।
‘मलाई डिप्रेशन भएको छ’ भन्नु धेरैका लागि आत्मस्वीकृति भन्दा बढी कमजोरी देखाउनु जस्तै लाग्छ । मानसिक पीडामा रहेका व्यक्तिहरू खुलेर आफ्ना अनुभव व्यक्त गर्न सक्दैनन्, न त सजिलै उपचारको खोजी गर्न सक्छन् । आत्महत्या गर्ने व्यक्तिको परिवारलाई पनि समाजले लाजको विषयका रूपमा हेर्ने प्रवृत्तिले पीडा अझ गहिरो बनाउँछ र समाधानतर्फको बाटो बन्द गर्छ ।
आत्महत्या र प्रभावको दायरा
आत्महत्याको असर केवल मृत व्यक्तिमा मात्र सीमित रहँदैन । यो असर उनको परिवार, साथीभाइ, सहकर्मी र समग्र समुदायमा फैलिन्छ । केन्टकी विश्वविद्यालयकी अनुसन्धानकर्ता जुली सेरेल र उनको टोलीले गरेको एक अध्ययन अनुसार, एक आत्महत्याले करिब १३५ जना व्यक्तिलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित पार्छ ।
नेपालमा वि.सं. २०७६ मा गरिएको एक अध्ययनले पनि एक आत्महत्याबाट कम्तीमा ६ देखि ९ जना प्रत्यक्ष रूपमा प्रभावित हुने गरेको देखाएको छ ।धार्मिक, सामाजिक र कानुनी दृष्टिले पनि आत्महत्यालाई अस्वीकार्य मानिन्छ । धेरै धर्ममा आत्महत्यालाई पापको रूपमा लिइन्छ भने केही देशमा यसलाई आपराधिक कार्यका रूपमा परिभाषित गरिएको छ । यस्तो धारणा र सोचका कारण पीडित परिवार र समाज अझ गहिरो मानसिक संकटमा पर्न बाध्य हुन्छन् ।
आत्महत्याको प्रभाव भावनात्मक, पारिवारिक वा पेशागत मात्र होइन, मानसिक स्वास्थ्यमा समेत गम्भीर पुनःआघातको रूपमा देखापर्छ । त्यसैले आत्महत्या पश्चात् पीडित परिवार र समुदायलाई मानसिक तथा सामाजिक सहयोग प्रदान गर्नु अत्यावश्यक हुन्छ । यस्ता सहयोग नपाउँदा दोस्रो आत्महत्याको जोखिमसमेत बढ्न सक्छ ।
नेपालको कानुनी व्यवस्था
आत्महत्याका संकेतहरूमा निरन्तर निराशा, समाजबाट टाढिनु, मृत्युबारे कुरा गर्नु र व्यवहारमा असामान्य परिवर्तनहरू देखिनु समावेश छन् । नेपालमा आत्महत्या गैरआपराधिक कार्य मानिन्छ, तर ‘मुलुकी अपराध संहिता, २०७४’ अनुसार आत्महत्या गर्न उक्साउनेलाई पााच वर्षसम्मको कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरिएको छ । यसले आत्महत्या गर्न उक्साउने व्यवहारलाई नियन्त्रण गर्ने प्रयास गर्दछ । यद्यपि, आत्महत्या प्रयास गर्ने व्यक्तिका लागि उपचार र पुनःस्थापनाका प्रणाली अझै कमजोर छन् ।
धेरै देशहरूमा आत्महत्यालाई गैरकानुनी मानिन्छ र यसका पछाडि विभिन्न कारणहरू छन् । सामाजिक र धार्मिक दृष्टिकोणले कतिपय धर्म र संस्कृतिमा आत्महत्यालाई पापको रूपमा लिइन्छ भने, कानुनी दृष्टिकोणमा जीवनमाथि आक्रमणको रूपमा हेरिंदा केही देशहरूले यसलाई अपराधका रूपमा परिभाषित गरेका छन् ।
सरकारको हस्तक्षेपका लागि आत्महत्या गर्न चाहने व्यक्तिलाई रोक्न कानुनी प्रावधानहरू लागू गरिएको छ । आत्महत्या गैरकानुनी मान्ने उद्देश्य लिनुको अर्थ मानसिक रोग भएका व्यक्तिलाई उपचारको लागि उत्प्रेरित गर्नु हो ।
आत्महत्याको प्रभाव ‘वेर्थर प्रभाव’
जोहान वोल्फगाङ फोन ग्योटेको साहित्यिक कृति ‘द सोरोज अफ यङ वेर्थर’ (१७७४) ले प्रेम, निराशा र मानसिक संकटका गहिरा पक्षहरू उजागर गरेको छ । पत्र शैलीमा लेखिएको यस उपन्यासको मुख्य विषय एकतर्फी प्रेममा परेका व्यक्तिको भावनात्मक अवस्थालाई केन्द्रमा राखिएको छ, जसले गहिरो मनोवैज्ञानिक दृष्टिकोणबाट दर्शाउँछ कि कसरी एक व्यक्तिले चरम निराशासम्म पुगेर आत्महत्याको निर्णय लिन सक्छ ।
मुख्य पात्र वेर्थरले आफूलाई प्रेम गर्ने चार्लोटबाट निरन्तर अस्वीकार पाउँदा जीवनप्रति मोह भंग भएको महसुस गर्छन् । समाजसँगको दूरी र आफ्ना भावनाहरू बुझ्ने कोही पनि नहुँदा उनी झन् एक्लो महसुस गर्न थाल्छन् । अन्ततः, ती सबै संवेदनात्मक दबाबहरूको परिणामस्वरूप उनी आत्महत्या गर्छन् ।
सो उपन्यास प्रकाशित भएपछिका केही समयमा युरोपका युवाहरूमा वेर्थरको जीवनशैली, पोशाक र व्यवहारको अनुकरण गर्ने चलन तीव्र रूपमा देखिन्छ, र केही घटनामा आत्महत्यासम्म पुगेका उदाहरणहरू भेटिन्छन् ।
यिनै घटनाक्रमहरूलाई मनोविज्ञानमा ‘वेर्थर प्रभाव’ का रूपमा चिनिन्छ, जसले आत्महत्यासम्बन्धी समाचार, साहित्य वा दृश्यचिक्रले संवेदनशील मानसिक अवस्थाका व्यत्तिहरूलाई आत्महत्यातर्फ प्रेरित गर्न सक्ने सम्भावना जनाउँछ । विशेष गरी जब यस्ता विषयवस्तुहरू मिडियामा रोमान्टिक, आदर्शीकृत वा नाटकीय रूपमा प्रस्तुत गरिन्छन्, तब त्यसको प्रभाव अझ व्यापक देखिन्छ ।
प्रसिद्ध व्यक्तिहरू, चाहे ती कलाकार, लेखक वा अन्य सार्वजनिक व्यत्तित्व हुन्, तिनका आत्महत्यासम्बन्धी समाचारले समाजमा गहिरो प्रभाव पार्छ । यस्ता समाचारहरूले विशेष गरी मानसिक रूपमा संघर्ष गरिरहेका व्यक्तिहरूमा ‘यदि यस्ता ठूला मानिसहरूले आत्महत्या गर्छन् भने, म बाँचेर के गर्नु ?’ भन्ने नकारात्मक सोच उत्पन्न गर्छ । यसले आत्महत्या एक सामान्य वा स्वीकार्य विकल्प हो भन्ने भ्रम सिर्जना गर्छ, जुन अत्यन्त खतरनाक हुन्छ । त्यसैले आत्महत्यासम्बन्धी विषयवस्तु सार्वजनिक गर्दा मिडियाले अत्यन्त संवेदनशीलता, जिम्मेवारी र नैतिकताको पालना गर्नु आवश्यक हुन्छ ।
वेर्थर प्रभावले आजको समाजलाई एक महत्वपूर्ण सन्देश दिन्छ कि आत्महत्या व्यक्तिगत निर्णय मात्रै होइन, यसले गहिरो सामाजिक असर पनि पार्छ । मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्ने वातावरण सिर्जना गर्नु, सहयोग माग्न प्रोत्साहन गर्नु, र संकटको समयमा एक–अर्कालाई साथ दिनु नै आत्महत्या रोकथामका प्रभावकारी उपाय हो ।
आत्महत्याका सामान्य संकेतहरूमा निरन्तर दुःख वा निराशा महसुस गर्नु, समाज वा परिवारबाट अलग हुन खोज्नु, जीवनमा रुचि हराउनु, मृत्यु वा आत्महत्यासम्बन्धी कुरा गर्नु र अत्यधिक रिस, व्यवहारमा परिवर्तन वा आक्रोश देखिनु पर्दछन् ।
नेपालको तथ्यांक
नेपालमा आत्महत्या अहिले एक गम्भीर र चिन्ताजनक सामाजिक समस्या बनेको छ । सरकारी तथ्यांक अनुसार विगत केही वर्षयता आत्महत्याको दर लगातार बढिरहेको देखिन्छ । वि.सं. २०७८–७९ मा ६,७९२ जनाले आत्महत्या गरेका छन्, जुन दैनिक औसतमा १८ जनाको दर हो । वि.सं. २०७९–८० मा ६,९९३ आत्महत्या भएका छन्, जसको औसत दैनिक १९ जनाको हुन्छ । यस्तै, वि.सं. २०८०–८१ मा आत्महत्याको संख्या ७,२२३ पुगेको छ, जुन औसत दैनिक २० जनाको दरमा पुग्छ ।
पछिल्ला दश वर्षका तथ्यांकहरू विश्लेषण गर्दा, केवल एक वर्ष बाहेक सबै वर्षमा आत्महत्या दर वृद्धि भएको पाइन्छ । प्रहरीका तथ्यांकअनुसार, दर्ता गरिएका कुल आपराधिक मुद्दामध्ये करिब २० फ्रतिशत आत्महत्या सम्बन्धी हुन्छन् । साथै, आत्महत्या गर्ने व्यक्तिको तुलनामा २० देखि २५ गुणा बढी व्यत्तिहरूले आत्महत्या प्रयास गर्छन् तर बाँच्न सफल हुन्छन् । यी तथ्यांकहरूले आत्महत्या संकटको गहिराइ र यसको सामाजिक व्यापकता स्पष्ट रूपमा देखाउँछ ।
सामूहिक र व्यक्तिगत जिम्मेवारी
आत्महत्या जस्तो गम्भीर सामाजिक समस्याको समाधान सामूहिक र व्यक्तिगत दुवै तहमा उत्तरदायित्वपूर्वक सोच्न आवश्यक हुन्छ । सर्वप्रथम मानसिक स्वास्थ्यलाई सामान्यीकृत गर्नुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म यसको समावेशीकरण गरी शारीरिक स्वास्थ्यसरह महत्त्व दिनु आवश्यक हुन्छ । दोस्रो, ‘सुन न, के भयो ?’ भन्ने सरल तर प्रभावशाली प्रश्नमार्फत सुनुवाइको संस्कार विकास गर्न सकिन्छ, जसले पीडितलाई खुलेर बोल्न र आवश्यक साथ पाउन प्रेरित गर्छ । तेस्रो, गाउँगाउँमा मनोपरामर्श केन्द्र तथा ‘टेलिकाउन्सेलिङ’ सेवा स्थापना गरेर परामर्श सेवालाई सहज र पहुंचयोग्य बनाउनुपर्छ ।
चौथो, सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचारहरूलाई सनसनीपूर्ण ढंगमा होइन, संवेदनशील र चेतनामूलक शैलीमा प्रस्तुत गर्नुपर्छ, साथै यस्ता समाचारमा मनोपरामर्श सेवाको ‘हेल्पलाइन नम्बर’ अनिवार्य रूपमा समावेश गर्नुपर्छ ।
अन्ततः, सामाजिक सहयोग र एकता पनि आत्महत्या रोकथामको लागि महत्वपूर्ण हुन्छ । ‘पीअर सपोर्ट’ समूह र खुला संवादका मञ्चहरूले मानिसहरूलाई आफ्ना भावना बाँड्न मद्दत गर्छन्, जसले थुप्रै जीवन जोगाउन सहयोग पुर्याउँछ ।
आत्महत्या रोकथामका लागि बहुआयामिक पहल आवश्यक हुन्छ । यो समस्याको सामना गर्न राज्य, समुदाय, संस्था र व्यक्तिको समन्वित प्रयास अनिवार्य छ ।
सर्वप्रथम, मानसिक स्वास्थ्य सेवाहरूको पहुँचलाई देशभर विस्तार गर्नु आवश्यक हुन्छ ताकि सबै नागरिकले सहज रूपमा आवश्यक सेवा प्राप्त गर्न सकून् । यसका साथै, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत परामर्शदाता तथा अन्य पेशेवरहरूको संख्या वृद्धि गर्नु र तिनीहरूलाई प्रभावकारी तालीम प्रदान गर्नु जरुरी हुन्छ । पारिवारिक, सामुदायिक तथा शैक्षिक संस्थाहरूमा मानसिक स्वास्थ्य र आत्महत्याबारे खुला रूपमा छलफल हुने वातावरण निर्माण गर्नु अर्को महत्त्वपूर्ण उपाय हो ।
शिक्षण संस्था, कार्यस्थल र परिवारमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गराई यसलाई सामान्य रूपमा ग्रहण गर्ने संस्कार विकास गर्नु आवश्यक हुन्छ । आत्महत्या रोक्न राज्य, समाज, परिवार र व्यक्तिले एकसाथ पहल गर्नुपर्छ । यस विषयमा मौन बस्नु अब विकल्प होइन, सक्रिय चेतना र प्रतिबद्धता नै समाधानको मुख्य मार्ग बन्न सक्छ ।
आत्महत्या रोकथाम र उपचारका विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ । मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु, परामर्शसेवा र हेल्पलाइन प्रणालीले पनि ठूलो भूमिका निर्वाह गर्न सक्छ । जस्तै, शिक्षण अस्पतालद्वारा सञ्चालित आत्महत्या रोकथाम हेल्पलाइन नम्बर ११६६ मा २४घण्टा सम्पर्क गर्न सकिन्छ ।
यो सेवा डिजिटल माध्यमबाट पनि उपलब्ध हुनुपर्छ, ताकि कठिनाइमा परेका व्यक्तिहरूले शीघ्र सहयोग प्राप्त गर्न सकून् । साथै, सामुदायिक स्वयम्सेवकहरूको परिचालनले गाउँगाउँमा सहजपहुंच र आत्मीय सहारा प्रदान गर्न सक्दछ । मानसिक स्वास्थ्य व्यावसायिकहरू जस्तै मनोसामाजिक परामर्शदाता, साइकोथेरेपिस्ट, मनोविद् र मनोचिकित्सकसँग सम्पर्क गरेर सहयोग लिन सकिन्छ । मनोचिकित्सकीय विधिहरू जस्तै संज्ञानात्मक व्यवहारात्मक उपचार, व्यवहार संशोधन उपचार र आवश्यक अनुसार मनोचिकित्सकसँग सम्पर्क गरेर औषधोपचारको प्रयोग गर्न सकिन्छ ।
यससँगै,जीवनशैलीमा सुधार ल्याउने उपायहरू पनि उत्तिकै प्रभावकारी छन्, जसमा नियमित व्यायाम, ध्यान, सामाजिक संलग्नता र सकारात्मक सोचको विकास आवश्यक पर्छ । आत्महत्या गर्ने सम्भावना भएका व्यक्तिहरूलाई आवश्यक सहयोग पुर्याउन परिवार, साथीभाइ र समुदायको सक्रिय भूमिका अत्यावश्यक छ । साथै, आत्महानी गर्न सक्ने सामग्रीहरूलाई व्यक्तिको पहुंचबाट टाढा राख्नु पनि एक प्रभावकारी रोकथाम उपाय हो ।
नेपालमा आत्महत्या केवल व्यक्तिगत पीडाको विषय होइन, यो समाजमा व्याप्त संरचनात्मक असमानता र मौनताको प्रतिनिधि पनि बनेको छ । स्वास्थ्य मन्त्रालय र प्रहरीका तथ्यांकअनुसार नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्छन् । यी तथ्यांकका पछाडि हजारौं मौन पीडा, अपुरो समझदारी र अड्किएका आर्तनादहरू लुकेका छन् । त्यसैले आत्महत्या रोकथामका लागि सबै तहमा समन्वयात्मक र गम्भीर प्रयास आवश्यक छ । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका कार्यक्रमहरूको प्राथमिकता र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सकेमा यो गम्भीर समस्यामा सकारात्मक परिवर्तन सम्भव हुन्छ ।
यस प्रकार, आत्महत्या रोकथामका लागि सबै तहमा एकसाथ प्रयास आवश्यक छ । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका कार्यक्रमहरूको प्राथमिकता र व्यावहारिक कदमहरूले यस समस्यामा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
‘कसरी बाँच्ने ?’ भन्ने प्रश्नको उत्तर फरक–फरक हुन सक्छ । तर हाम्रो सामूहिक दायित्व एउटै हो, सुरक्षित, संवेदनशील र समर्थनयुक्त वातावरण निर्माण गर्नु । पीडालाई कमजोरी होइन, मानवीय अवस्था मानेर बुझ्ने संस्कृति विकास गर्न जरुरी छ ।
आत्महत्या अन्तिम समाधान होइन । जीवन बाँकी छ, सम्भावनाहरू, सम्बन्धहरू, र सहानुभूतिका साथ । जिउनुहोस्, अरूलाई पनि जीउन प्रेरणा दिनुहोस् । हामी सुन्न सक्ने बन्यौं भने, हराउँदै गएका आवाजहरू फुनः जीवित हुन सक्छन् ।
View : 12
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved