Biratnagar, Morang, Nepal
२२ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

जीवन विकास लघुबित्तमा खेलकुद

उद्‌घोष सम्वाददाता
२१ वैशाख २०८२, आइतवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो पटक आयोजना गरेको मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा कोशी प्रदेश र मधेश प्रदेश विजयी भएको छ ।

जीवन विकास पब्लिक स्कुल परिसरमा आयोजित मैत्रीपूर्ण खेलकुदमा कोशीसहित मधेश प्रदेश र बागमती प्रदेशका शाखा कार्यालयका प्रमुखहरू र केन्द्रीय कार्यालयका विभागीय प्रमुख तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए ।

फुटबल तर्फको उपाधि कोशी प्रदेश टिमले जितेको छ । फाइनलमा केन्द्रीय कार्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो ।

कोशीले मधेश प्रदेश टिमलाई ४–० र केन्द्रीय कार्यालयले बागमती प्रदेश टिमलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

उपाधि जितेको कोशी प्रदेश टिमलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले ट्रफी र पदक प्रदान गरे । 

उपविजेता केन्द्रीय कार्यालयको टोलीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले ट्रफी र पदक प्रदान गरे ।

क्रिकेटतर्फ पनि कोशी प्रदेशले नै उपाधि जितेको छ । मधेश प्रदेशको टिमलाई पराजित गर्दै कोशीले क्रिकेट उपाधि जितेको हो । क्रिकेटको विजेता टिमलाई सञ्चालक सदस्य इन्द्रनारायण देव वैश्यले पुरस्कार प्रदान गरे ।

कबड्डी तर्फको उपाधि भने मधेश प्रदेश टिमले जितेको छ । फाइनलमा कोशी प्रदेशलाई पराजित गर्दै मधेश प्रदेश टिमले उपाधि जितेको हो ।

कोशीले बागमती प्रदेशलाई पराजित गर्दै कबड्डीको फाइनलमा स्थान बनाएको थियो । मधेश प्रदेशले केन्द्रीय कार्यालयलाई पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो । 

कबड्डीको बिजेता टोलीलाई सञ्चालक प्रकाशकुमार श्रेष्ठ र श्यामचन्द्र खतिवडाले ट्रफी र पदक प्रदान गरे । कबड्डी तर्फको उपविजेता कोशीको टिमलाई सञ्चालक गोकर्ण खतिवडाले पुरस्कार प्रदान गरेका थिए । 

म्युजिकल चेयरमा अमरदह शाखाकी प्रमुख मनिषा भण्डारी पहिलो भइन् । कोशी प्रदेश प्रमुख सावित्री श्रेष्ठ म्युजिकल चेयरमा दोस्रो हुँदा सप्तरीको भारदह शाखा प्रमुख शकुन्तला राजवंशी तेस्रो भइन् ।

चम्चा दौड प्रतियोगितामा गिरिराज भण्डारी प्रथम भए । अनिलकुमार साह दोस्रो र प्रमोद शर्मा तेस्रो बने ।

सियो धागो दौडमा दिवाकर राजवंशी प्रथम भए । विशन श्रेष्ठ दोस्रो र दिपक राजवंशी तेस्रो भएका थिए । 

विजयी खेलाडीहरुलाई सञ्चालक सदस्यहरू अशोक सिटौला र डा.बन्दना जैनले पुरस्कार प्रदान गरेका थिए ।

३१ जिल्लामा १६० वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जीवन विकासले कर्मचारीमा आत्मीयता भावना जागृत गराउन पहिलो पटक मैत्रीपूर्ण खेलकुद आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए ।

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved