रामजानकी भजनकीर्तन मण्डलीको तीर्थयात्रा वर्णन
बाह्र वर्ष अघि स्थापना भएको यस कटहरी गाउँपालिका–१ जमटोकीमा अवस्थित रामजानकी टोल विकास संस्थाको अलग्गै पहिचान बनेको छ । प्रत्येक वर्ष खेलिने देउसी भैलोको रकमबाट आफ्नो टोलमा हुने सामाजिक क्रियाकलापमा प्रयोग हुने भाँडाकुँडा, कुर्सी, साउण्ड सिष्टम, मादल जस्ता अति उपयोगी सरसामानहरू खरिद, वनभोज क्रियाकलाप, प्रत्येक वर्ष संविधान दिवसको अवसरमा गरिने बृहत्तर शैक्षिक तथा खेलकुद प्रतियोगिता गर्ने कटहरी गाउँपालिकाको सर्वोत्कृष्ट टोल विकास संस्था हो ।
यस संस्था अन्तर्गत रहेको रामजानकी भजनकीर्तन मण्डलीले प्रत्येक एकादशीको दिन क्रमशः सदस्यहरूको घरमा गएर राति ८ बजे देखि १० बजेसम्म भजन कीर्तनको कार्यक्रम गर्दछ साथै प्रत्येक सोमबारको साँझ रामजानकी मन्दिरमा भजन कीर्तनको कार्यक्रम गर्दछ ।
प्रत्येक वर्ष खेलिने देउसीभैलोको रकमबाट तीर्थयाक्राको कार्यत्रमगरी धार्मिक सद्भाव तथा सामाजिक एकता कायम गर्दछ । यसै सिलसिलामा २०८१ चैत १७ गते बैठक बसी यसपल्टको तीर्थयात्रा सात दिनको लागि विराटनगरबाट पोखरा, मुक्तिनाथ, बाग्लुङ कालिका, रूरूक्षेत्र, रानीमहल पाल्पा हुँदै विराटनगर आइपुग्ने गरी २०८२ बैसाख ७ गते आइतबार विहान खाना खाएर यात्रा प्रारम्भ गरिएको थियो ।
पहिलो दिन कङ्कालिनी हुँदै हेटौडासम्म
रामजानकी भजन कीर्तन मण्डलीका ३२ तीर्थयात्री लिएर विराटनगरबाट छुटेको गाडी एकै चोटी सप्तरी भारदहस्थित माँ कंकालिनी भगवतीको मन्दिरमा पुगेर रोकियो । त्यहाँ सबै तीर्थयात्रीहरू ओर्लेर माँ कङ्कालिनी भगवतीको दर्शन गरे ।
गर्मीको कारणले बाटोमा जादैं गर्दा एक तीर्थयाक्री (रितेश श्रेष्ठ)को अकस्मात रत्तचाप कम भएर करिब आधाघण्टा गाडी रोक्नु पर्यो । सामान्य आराम र चिसो पानी पिएपछि स्वास्थमा केही सुधारपछि हामी फेरि गन्तव्यतिर लाग्यौ । बीचबाटो लालबन्दीमा चियानास्ता गरेपछि राति करिब ८ बजे हामी हेटौडा पुग्यौं । बासस्थानको व्यवस्थापन गर्नको लागि हेटौडाको एक होटलमा बास बस्यौं ।
दोस्रो दिन पोखरासम्म
सोमबार बिहान ८ बजेतिर चियानास्ता गरी पोखरातिर लाग्यौ । दिउँसो २ बजेतिर पोखराको बेगनास तालमा पुगी घुमघाम, फोटो खिच्ने तथा खाना खाने कार्य सम्पन्न भयो । त्यहाँबाट सिधै पातले छाँगो (डेभिड फल्स)को दृश्यालोकन गरियो, साथै नजिकै रहेको अलौकिक गुप्तेश्वर महादेवको पनि दर्शन गरियो । गुप्तेश्वर महादेवको दर्शन गर्दानै समय निकै घर्किसकेकोले हामी हतार–हतार फेवातालतिर लाग्यौं ।
झण्डै साँझको ५ बज्न लागिसकेको थियो । सबैजनाले डुङ्गाको टिकट काटी फेवातालमा रमाउँदै तालको बीचमा रहेको तालबराही मन्दिर पुग्यौं । करिब १ घण्टा तालबराही मन्दिरमा दर्शन गर्दै रमाउँदै पुनः डुङ्गामा चढी पोखरा आयौं । साँझ झमक्कै परिसकेको हुँदा कोही होटलतिर वासस्थानको व्यवस्थापनतिर लागे भने कोही फेवातालको आरती दर्शन गर्न लागे । बल्लबल्ल एउटा राम्रो होटल भेटियो जसमा आफैले खाना बनाएर खान मिल्ने र बसेको मात्र शुल्क तिर्नुपर्ने थियो । तसर्थ सबैजना मिलेर खाना पकाई खाई त्यो दिन हामी पोखरामै बस्यौं ।
तेस्रो दिन : पोखराबाट गलेश्वर हुदैं कागबेनी
मंगलबार पोखरामा होटलको बासपछि हामी बिहान ६ बजेतिर पोखराको अति प्राचीन तथा धार्मिक विन्ध्यवासिनी मन्दिर दर्शन गर्न पुग्यौं । करिव २ घण्टा त्यहाँको मन्दिर दर्शन गरी हामी कागबेनीतर्फ प्रस्थान गर्यौं । गाडी मध्यम गतिमा उत्तरतिर हुँइक्याउँदै अघि बढ्न लाग्यो । पर्वत जिल्लाको रमाइलो कुश्मा बजार हुँदै कालीगण्डकीको तिरैतीर, ऐसेंलु घारी, काफलका बोटहरू, वरीपरि रमाइला डाँडापाखाको सौन्दर्यलाई दृश्यावलोकन गर्दै हामी रमाइरहेका थियौं । कालीगण्डकी पारी बाग्लुङको भीरपाखा तथा विश्वकै लामो झोलुङ्गे पुल, म्याग्दीको सदरमुकाम बेनीबजार हेर्दै गलेश्वर धाममा पुगेर गाडी रोकियो ।
गाडीबाट ओर्लेर एउटै शालीग्राम पर्वतमा रहेको विभिन्न मन्दिरहरूले भरिएको पवित्र गलेश्वर मन्दिरमा करिब १ घण्टा दर्शन गरी समय वितायौं । सामान्य घुमघाम गरी पुनः गाडी चढी गन्तव्यतिर लाग्यौ । यात्रामा नरच्याङ झरना, रूप्से झरनाको मनोरम दृश्य, घाँसबजारसम्मको निरन्तर वर्षाले अनि कञ्चन सफा नीलगिरी हिमालको दृश्यले मनै लोभ्याएको थियो । वरीपरी स्याउको बोट, कालीगण्डकी खोलाका बगरभरी स्याउको बगैंचा, नर्सरी, तराईको गहुँ जस्तै देखिने उवा, जौ तथा फापरबारी, निगुरो जस्तै देखिने उन्यूघारीहरू बाटोबाट प्रशस्तै देख्न पाइन्थ्यो ।
गाडी मुस्ताङको मार्फा हुदैं जोमसोममा रोकियो । सबै यात्री गाडीबाट ओर्लेर पेट हल्का गरी सामान्य चियापान गर्यौं । दिउँसों २ बजेको समयमा पनि एकैछिन नरोकिने चिसो बतास र दक्षिणपट्टि देखिने नीलगिरी हिमालले जोमसोमको कहिले नमेटिने स्मरण राख्न सफल भयो ।
त्यसपछि हामी सबै तीर्थयात्री कागबेनीतर्फ हुइकियौं । बाटोभरी खुइलिएका पहाडहरू, स–साना बुट्यान, च्याङ्ग्राका बथान अनि भेडीगोठहरू हेर्दै हामीहरू बेलुकी ५ बजेतिर कागबेनी आइपुग्यौं ।
कालीगण्डकीको कलकल बग्ने चिसोपानी, झोलुङ्गे पुल र वरिपरीका विशाल पहाडहरूको किनारमा रहेको कागबेनी पितृहरूको श्राद्धको लागि अति महत्वपूर्ण स्थान हो । तसर्थ हामीले त्यहीको होटलमा बासस्थानको उचित प्रबन्ध गरेर धर्मशालामा बसी साँझ त्यहीं खान खाइ होटलमा गइ सुत्यौ ।
चौथो दिन : कागबेनी देखि मुक्तिनाथ हुँदै गलेश्वर
बुधबार बिहान ३ बजे नै उठी पितृहरूको श्राद्धको लागि काली गण्डकीको चिसो पानीमा नुहाइधुवाइ गरी त्यहीको पण्डितको सरसल्लाहमा श्राद्धको कार्य सम्पन्न गर्र्यौ । श्राद्धको कार्य सम्पन्न भएपछि सबै जना मुक्तिनाथ दर्शनको लागि विहान करिब ७ बजे गन्तव्यतर्फ लाग्यौं । घुमाउरो बाटो, चिल्ला काला पहाड, हिउँले भरिएका सेता हिमालको दर्शन गर्दै करिब साढे ९ बजे पवित्र भूमि मुक्तिनाथमा पुग्यौं । गाडीबाट ओर्लिएर करिब २० मिनेट हिडेंपछि मुक्तिनाथ मन्दिर पुग्ने सिंढीमा पुग्यौं । उकालो सिंढी करिब आधाघण्टा चढेपछि मुक्तिनाथ मन्दिर पुग्यौं । त्यहाँ पुग्दा सबै तीर्थयात्रीको खुसीको सीमा नै रहेन, सबैजना अत्यन्त आनन्दित थिए ।
हिमालबाट पग्लिएर आएको चिसोपानीको त्यो १०८ धारामा नुहाउनुको मज्जा, अनि मन्दिर अगाडिको चिसो दहमा डुबुल्की लगाउनुको आनन्द एक प्रकारको अलौकिक थियो । निकै भीडमा लाइन लागेर हामी सबै तीर्थयाक्रीहरूले मुत्तिनाथ भगवानको दर्शन गर्यौं । आफूले चिताएको आशीर्वाद माग्यौं । वरिपरिका मन्दिरहरू डुल्दै, नजिकैको बुद्धको मूर्ति तथा वरिपरिका मनमोहन हिमाल हेर्दै करिब ४ घण्टा बितायौं । बिस्तारै मुक्तिनाथ भगवानसँग बिदा मागी सिंढीबाट ओर्लदैं हामी गाडी भएको ठाउँमा पुग्यौं ।
त्यहाँबाट कागबेनी हुँदै मार्फामा आएर रोकियौं । मार्फाको ऐतिहासिक गाउँ घुम्दै स्थानीय कोशेली लिई त्यहाँ चियानास्ता खाँदै झण्डै सामान्य दुर्घटनामा परियो तर पनि भगवानको कृपाले कसैलाई केही नभई हामी सबैजाना राम्रोसँग गलेश्वर पुग्यौं । साँझ परिसकेको हुनाले त्यहाँबाट सिधैं बाग्लुङ कालिका मन्दिर जाने चाहना हुँदाहुँदै पनि समय अभावको कारणले त्यहाँ पुग्न सकेनौं । गलेश्वरमा बासस्थानको राम्रो धर्मशाला र अलग्गै खाना पकाउन सक्ने व्यवस्था भएकोले त्यो रात हामी सबै त्यही बास बस्यौं ।
पाँचौ दिन : गलेश्वरबाट बाग्लुङ कालिका, रूरूक्षेत्र , रानी महल हुँदै पाल्पा तानसेन
बिहीबार विहानै उठी स्नान गरी गलेश्वर महादेवको पूजा अर्चना गरेर हामी करिब ७ बजेतिर बाग्लुङ कालिका भगवतीको दर्शन गर्ने उद्देश्यले गाडीमा चढ्यौं । बिहानी चिसोहावामा रमाउँदै बेनीबजारबाट ओरालो लाग्दै करिब साढे ९ बजेतिर बाग्लुङ कालिका मन्दिर पुग्यौ । अति नै सुन्दर रमणीय हरियाली जङ्गलको वीचमा अवस्थित कालिका भगवती मन्दिरको दर्शन पाउनु नै अहोभाग्य थियो । सुरम्य वातावरणमा रहेको मन्दिरमा दर्शनार्थीको भीडलाई चिर्दै हामी सबैले भगवतीको दर्शन तथा पूजाआजा गर्यौं ।
बाग्लुङ बजारमै घुम्दै दिउँसोको करिब १२ बजेतिर प्रसिद्ध धार्मिक क्षेत्र रूरू क्षेत्रमा पितृ श्राद्ध गर्नको लागि हामीले बाग्लुङ बजार छौड्यौं । बाग्लुङबाट अर्जेवा, अर्बेनी, हर्मीचौर, कालीगण्डकी ए जलविद्युत आयोजना, रिडी बजार हुँदै रूरू क्षेत्रको ऋषिकेश मन्दिर पुग्यौं । रिडीनदी र कालीगण्डकी नदीको संगममा केही तीर्थयात्रीहरुबाट नुवाइधुवाइ गरी सिदा दान र पितृश्राद्धको कार्य सम्पन्न गरियो । त्यसपछि माथि गएर ऋषिकेश मन्दिरमा दर्शन गरी पूजाआजा गरियो । त्यहाँ घुमघाम गरी साढे ४ बजेतिर रानीमहलतर्फ प्रस्थान गरियो । एक घण्टाको यात्रापछि हामी रानीमहल पुग्यौं ।
रमणीय हरियाली जंगल र कालीगण्डकीको किनारको अग्लो भागमा अवस्थित अत्यन्तै सुन्दर रानीमहल नेपालको ताजमहल नै रहेछ । जनरल खड्ग शमसेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको त्यो महलभित्र पानीपोखरी, मन्दिर बगैचाले अत्यन्त सुन्दर रहेछ । सबै तीर्थयात्रीहरूले रानीमहलको अवस्मरणीय दर्शन तथा फोटोहरू खिचेपछि त्यहाँबाट बेलुकी करिब ७ बजेतिर हामी पाल्पा तानसेनतर्फ लाग्यौ । तानसेन बसविसौनीमा वासस्थानको लागि राम्रो होटेल लज र अलग्गै खाना पकाउन सक्ने व्यवस्था भएकोले त्यो रात हामी सबै तीर्थयात्री पाल्पाको सुन्दर रात्री दृश्यमा भुल्दै त्यही बास बस्यौं ।
छैटौं दिन : पाल्पा तानसेन हुँदै हेटौडा
शुक्रबार विहानै उठी स्नान गरी करिब ७ बजेतिर सबै तीर्थयात्रीहरू पाल्पाको टुँडिखेल तथा करूवा चोकको फोटो खिच्ने, घुमाघुममा रमाउँदै ऐतिहासिक धरोहरको रूपमा रहेको प्राचीन मन्दिर अमरनारायण दर्शनका लागि पुग्यौं, त्यहाँ करिब १ घण्टा नाचगान हरिकीर्तनसमेत गरियो । त्यसपछि पाल्पा दरबार संङ्ग्रहालय भित्ररहेको निशान भगवती मन्दिरमा पुगि दर्शन गर्र्यौ । मन्दिरको दर्शनपछि पाल्पा दरबार संङ्ग्रहालयको प्राङ्गण हुदैं संङ्ग्रहालयभित्र छिर्र्यौ ।
पाल्पा जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको दरबार रहेछ आधुनिक शैलीमा बनाइएका ४ तला र ६२ कोठा रहेको पाल्पा दरबार, त्यहाँ विभिन्न जातजाती, राजामहाराजा, सैनिक तथा अन्य विविधका कला संग्रह गरिएको रहेछ । करिब २ घण्टाको संङ्ग्रहालय अवलोकन तथा पाल्पाको ढाका कपडाको किनमेल पछि खाना खान दिउँसो होटलतर्फ लाग्यौं ।
खानापिना गरिसकेपछि हेटौंडाको लागि प्रस्थान गरियो । पाल्पाबाट घुमाउरोबाटो, वरिपरि हरियाली डाँडाहरू छिचोल्दै बुटवल पुग्यौं । बुटवलमा पुग्दा त अत्यधिक गर्मीले गाडीभित्र निकै छटपटी बनायो । बुटवलदेखि नारायणघाट आइपुग्न त बिजोगै भयो । दाउन्नेको बाटो अत्यन्तै खराब ग्रावेल मात्र थियो, गाडीले बल्लबल्ल नारायणघाट ल्याइपुर्यायो । पिच बाटो भएकोले अलिकति राहत भयो । लोथरमा गाडी रोकेर चिया पानी खाइयो । त्यसपछि हिंडेको गाडी साँझ ७ बजे हेटौडा आइपुग्यो । सबै तीर्थयात्री थाकेर निशब्द भइसकेका थिए । बल्ल बल्ल डाँफे होटल भेटियो, त्यही खानापिन गरेर रात कटाइयो ।
सातौं दिन : हेटौडा भुटनदेवी मन्दिर हुँदै विराटनगर
शनिबार विहानै उठी स्नान गरी करिब ६ बजे हामी केही हेटौडाको प्रसिद्ध तथा ऐतिहासिक भुटनदेवी मन्दिरको दर्शनको लागि पैदलै गयौं । केही अशक्तहरू बसमै बसे । २ घण्टाको दर्शन, घुमघामपछि गाडीमा चढी विराटनगरको गन्तव्यतर्फ हुइकियौं । एकैचोटी लालगढमा आएर रोकियो र त्यर्ही खानपिन गरियो । पुनः गाडी हुइकिदैं बरमझिया आएर प्रसिद्ध बूढो बाजेको पेडा कोशेलीको लागि खरिद गर्यौं । अनि गाडी आफ्नो गन्तव्य विराटनगर (कटहरी) दिउँसो ४ बजे आइपुगियो ।
सबै तीर्थयात्रीहरूले गाडीचालक, सहचालकलाई धन्यवाद दिए । आफ्नो ७ दिने तीर्थयात्रा आरामदायी एवम् सफल भएकोमा सबै भगवानलाई सम्झिएर आ–आफ्नो घरतिर लाग्यौं ।
यो भ्रमणबाट के अनुभूति गरियो भने आ–आफ्नो समाज टोलबाट समय–समयमा तीर्थयात्राको गर्नाले आपसमा अझ घुलमिल भई प्रगाढता बढ्ने, आत्मीक शान्ति प्राप्त हुने तथा आन्तरिक पर्यटनको विकास हुने रहेछ ।
View : 134
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved