Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

गृहजिल्लामा आफ्नै कार्यकर्ताबाट घेरिए मन्त्री राई

गुटगत तिक्तता प्रदर्शन भएको मन्त्रीको सचिवालयले दाबी गरेको छ ।
उद्‌घोष सम्वाददाता
२६ वैशाख २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बिहीबार गृहजिल्ला खोटाङमा आफ्नै दलका कार्यकर्ताको नाराबाजी र विरोधको सामना गर्नुपरेको छ । 

नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहेका मन्त्री राईविरुद्ध साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईकै नेतृत्वमा विरोध प्रदर्शन भएको हो । 

गाउँपालिका अध्यक्ष राई कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि हुन् । बिहीबार साकेला गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलामा सहभागी हुन मन्त्री राई त्यहाँ पुगेका थिए । तर, मन्त्रीको टोलीलाई अध्यक्ष राई र उनका समर्थक कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शन उत्तेजक बनेपछि प्रहरीले मन्त्रीलाई सुरक्षा दिनुपरेको थियो । 

आफ्नै गृहजिल्लामा आफ्नै दलका नेता–कार्यकर्ताको नेतृत्वमा मन्त्रीविरुद्ध प्रदर्शन किन भएको हो ? गाउँपालिका अध्यक्ष रविप्रकाश राईले ‘बितेको कुरा नकोट्याउँ’ भन्दै टार्न खोजे ।

यद्यपि विकास निर्माणका काममा समन्वय नभएको र त्यसको विरोधमा जनताले प्रदर्शन गरेको उनले बताए । अध्यक्ष राईले  जनताले प्रदर्शन गरेको बताए पनि उनी स्वयम् पनि मन्त्रीविरुद्ध नाराबाजी गर्ने काममा रहेको भिडियो सार्वजनिक भएको छ । यसबारे उनले ‘आफूले जनतालाई साथ मात्रै दिएको’ बताए । 

‘मैले त जनतालाई नै साथ दिने हो नि’, अध्यक्ष राईले भने ‘विकासका काममा वारिको योजना पारि भयो, कुनै योजना कटौती भयो । यस्तोमा जनताले असन्तोष प्रकट गरे । मैले त्यसमा साथ दिएको हो ।’ 

सार्वजनिक रुपमा अध्यक्षले यस्तो बताए पनि सार्वजनिक भएको भिडियोमा उनले मन्त्री गाउ“मा आउनेबारे आफूलाई कुनै जानकारी नभएको भन्दै आक्रोश पोखेको देखिन्छ । 

‘गाउँमा पार्टी छ, म पालिका अध्यक्ष छु’, उनले भनेका छन् ‘अनि मन्त्री आउने कुरा मलाई थाहा नै छैन । थाहा पाएको भए मन्त्रीलाई पालिकाबाट स्वागत गरिन्थ्यो । के पार्टीसँग समन्वय गर्नु पर्दैन ? पार्टी सक्ने हो ?’ आफ्नै दलका कार्यकर्ता र पालिका अध्यक्षसमेतले मन्त्रीविरुद्ध नाराबाजी गरेर केहीबेर कार्यक्रम बिथोलिएपछि सुरक्षा घेरामा अध्यक्ष र मन्त्रीबीच निकैबेर छलफल भएको थियो । 

अध्यक्ष राईले मन्त्रीसँग छलफल भएपछि उनले कमजोरी स्वीकारेको र एकै कार्यक्रममा बसेर सँगै मन्तव्य प्रकट गरेको बताए । ‘मन्त्रीज्यूले विगतका कुरा बिर्सिदिउँ, अब अघि बढौं भनेपछि हामी फेरि सँगै कार्यक्रममा बस्यौं’, उनले भने । 

मन्त्री राईका स्वकीय सचिव अमृत गिरीले भने पालिका अध्यक्षको नेतृत्वमा सामन्य प्रदर्शन भएको र केहीबेरमा कार्यक्रम लामो समय चलेको जानकारी दिए । 

गिरीले पार्टीभित्रको गुटगत लडाइले पनि यस्तो अवस्था आएको बताए । प्रदेश महामन्त्री राई नेता कृष्णप्रसाद सिटौला समूहका नेता हुन् भने साकेला अध्यक्ष राई सभापति शेरबहादुर देउवा प्यानलका । 

अहिले यी दुवै समूह संस्थापन भनेरै चिनिए पनि जिल्ला तहमा गुटगत तिक्तता कायमै रहेकाले यस्तो अवस्था आएको गिरीको दाबी छ ।

View : 64

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved