विराटनगर । विराटनगर–२ स्थित जनता नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापकमा चिन्तामणि रिजाल र सहायक प्रधानध्यापकमा रमेश अधिकारी नियुक्त भएका छन् ।
इश्वरप्रसाद घिमिरेले कार्यव्यस्तताको कारणले समय दिन नभ्याउने भएपछि प्रधानाध्यापकको जिम्मेवारी रिजाललाई दिइएको जनाइको छ ।
बुधबार भएको पदस्थापन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज विक्रम शाहले शुभकामना दिंदै रिजालको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षामा प्रगति गर्दै नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको बताए ।
त्यस्तै, अध्यक्ष शाहले विद्यालयको समग्र विकासमा निरन्तर योगदान दिंदै आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको भन्दै निवर्तमान प्रधानाध्यापक इश्वरप्रसाद घिमिरेलाई धन्यवाद व्यक्त गरेका थिए ।
विराटनगरको ऐतिहासिक विद्यालयको रुपमा चिनिएको जनता नमूना विद्यालयमा अध्ययन गरेका विद्यार्थी मुख्य सचिव, मन्त्री समेत भएका छन् । तर पछिल्लो समयमा विद्यालयभित्रको किचलोलगायत विभिन्न विवाद र समस्याले विद्यार्थी संख्या समेत घटेपछि बन्द हुनेसम्मको स्थितिमा पुगेको थियो । तर व्यवस्थापन समितिको अध्यक्षमा शाह आएसँगै सो विद्यालयलाई पुरानै शाखमा पुर्याउन प्रयत्न गरिरहेको बताइएको छ । उनले रोटरीदेखि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोग जुटाइ विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि काम गरिरहेका छन् ।
हाल विद्यालयमा २३ शिक्षक, दुई कर्मचारी कार्यरत छन् । १२ कक्षासम्म पढाइ हुने सो विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा सात सय १० विद्यार्थी अध्ययनरता रहेका थिए । अहिले नयाँ भर्ना अभियान सुरु भएको र विद्यालयको नेतृत्व पनि फेरिएकोले विद्यालयले अझ उचाइ लिने अपेक्षा गरिएको छ ।
View : 73
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved