Biratnagar, Morang, Nepal
१ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

दुईदिने बिदाले दिने समृद्ध अर्थतन्त्र

चिन्तामणि रिजाल
१ असोज २०८३, बिहिवार

Advertisement

विश्वव्यापी रूपमा काम र जीवनबीचको सन्तुलनको अवधारणाले पछिल्ला वर्षहरूमा उल्लेखनीय महत्व पाएको छ ।

यही सोचअनुसार विश्वका अधिकांश विकसित तथा विकासोन्मुख मुलुकहरूले हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यासलाई संस्थागत गरिसकेका छन् ।

 

नेपालमा पनि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ ।

कसैले यसलाई उत्पादकता घटाउने कदमका रूपमा हेर्छन् भने कसैले आर्थिक गतिविधि विस्तार, मानसिक स्वास्थ्य सुधार र सामाजिक जीवन सुदृढ बनाउने अवसरका रूपमा व्याख्या गर्छन् ।


 वास्तवमा यो बहस बिदाको संख्या बढाउने वा घटाउने विषयभन्दा पनि उपलब्ध समयको प्रभावकारी उपयोग कसरी गर्ने भन्ने प्रश्नसँग जोडिएको छ ।

त्यसैले दुई दिने बिदाले नेपालको अर्थतन्त्र, उत्पादकता र सार्वजनिक सेवा प्रवाहमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयको वस्तुगत विश्लेषण आवश्यक छ ।

 

संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, क्यानडा, भारतलगायत अधिकांश मुलुकमा शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदाको अभ्यास स्थापित छ ।

यी मुलुकहरूको अनुभवले नियमित विश्रामले कर्मचारीको मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार ल्याउने, कार्यसन्तुष्टि बढाउने र अन्ततः उत्पादकता नै वृद्धि गर्ने देखाएको छ ।

उनीहरूले बिदा मात्र थपेका छैनन्,  कार्यसमयको प्रभावकारी व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग र नतिजामुखी कार्यसंस्कृतिलाई पनि समान रूपमा सुदृढ बनाएका छन् ।

त्यसैले ती मुलुकहरूको सफलताको आधार बिदाको संख्या मात्र होइन, काम गर्ने शैली र व्यवस्थापन पनि हो ।


विभिन्न अध्ययनहरूले पर्याप्त विश्राम पाएका कर्मचारी काममा अझ बढी एकाग्र, सिर्जनशील र जिम्मेवार हुने देखाएका छन् । निरन्तर लामो समय काम गराउँदा कार्यक्षमता क्रमशः घट्दै जान सक्छ, जबकि पर्याप्त विश्रामपछि कर्मचारी थप ऊर्जा र उत्साहका साथ काममा फर्किन्छन् ।

आधुनिक व्यवस्थापन सिद्धान्तले पनि धेरै समय काम गराउनुभन्दा उपलब्ध समयको गुणस्तरीय उपयोगलाई बढी महत्व दिन्छ ।

त्यसैले दुई दिन बिदालाई कामको समय घटाउने निर्णयका रूपमा होइन, कार्यक्षमता र उत्पादकता बढाउने रणनीतिका रूपमा बुझ्नुपर्छ ।

 

विश्वका केही मुलुकहरूले चार दिने कार्यसप्ताहको प्रयोगसमेत गरेका छन् । सबै क्षेत्रमा यसलाई समान रूपमा लागू गर्न चुनौती भए पनि ती अभ्यासहरूले एउटा महत्वपूर्ण सन्देश दिएका छन्, विश्राम र उत्पादकता एकअर्काका विरोधी होइनन्, बरु परिपूरक हुन् ।

पर्याप्त विश्रामले कर्मचारीको मानसिक स्वास्थ्य सुधार गर्ने, अनुपस्थित हुने दर घटाउने र कामप्रतिको प्रतिबद्धता बढाउने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् ।

 

नेपालजस्तो विकासोन्मुख मुलुकमा दुई दिन सार्वजनिक बिदाले अर्थतन्त्रलाई समेत चलायमान बनाउन सक्छ ।

सामान्यतया बिदाले आर्थिक गतिविधि घटाउँछ भन्ने धारणा राखिन्छ ।

तर आधुनिक अर्थशास्त्रले बजारमा पैसाको प्रवाह, उपभोग र सेवाको विस्तारलाई आर्थिक वृद्धिको प्रमुख आधार मान्छ ।

नागरिकले बिदाका दिन घुमफिर, किनमेल, मनोरञ्जन तथा अन्य सेवामा खर्च गर्दा बजारमा पैसाको प्रवाह बढ्छ ।

यसले वस्तु तथा सेवाको माग बढाउँछ, व्यवसायलाई सक्रिय बनाउँछ र आर्थिक गतिविधिमा विस्तार ल्याउँछ ।

त्यसैले बिदाले सरकारी कार्यालय बन्द भए पनि अर्थतन्त्र भने पूर्ण रूपमा बन्द हुँदैन; बरु धेरै निजी क्षेत्रका व्यवसाय अझ सक्रिय हुन सक्छन् ।

 

विशेष गरी आन्तरिक पर्यटनका लागि दुई दिन बिदा अत्यन्त उपयोगी हुन सक्छ ।

एक दिनको बिदामा धेरै मानिस टाढाका गन्तव्यसम्म पुग्न सक्दैनन् ।

तर लगातार दुई दिन बिदा हुँदा परिवारसहित छोटो यात्रामा निस्कने प्रवृत्ति बढ्छ ।

 

यसबाट होटल, रेस्टुरेन्ट, यातायात, हस्तकला, कृषि उत्पादन, स्थानीय बजार तथा साना उद्यम प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् ।

ग्रामीण अर्थतन्त्रमा समेत पैसाको प्रवाह बढ्ने भएकाले स्थानीय रोजगारी र आम्दानी विस्तारमा सहयोग पुग्न सक्छ ।

पर्यटनसँग जोडिएका हजारौँ साना व्यवसायका लागि यस्तो व्यवस्था आर्थिक अवसर बन्न सक्छ ।

 

यात्रा र उपभोगसँगै मूल्य अभिवृद्धि कर, आयकर तथा अन्य करमार्फत राज्यको राजस्वसमेत बढ्न सक्छ ।

आर्थिक गतिविधि विस्तार हुँदा व्यवसायको कारोबार बढ्ने, रोजगारी सिर्जना हुने र सरकारको राजस्व आधार फराकिलो बन्ने सम्भावना रहन्छ । यस अर्थमा दुई दिन बिदा खर्च मात्र होइन, आर्थिक गतिविधि र सरकारी आम्दानी बढाउने माध्यम पनि बन्न सक्छ ।

 

बजारमा मन्दी वा तरलताको अभाव भएको अवस्थामा पनि अतिरिक्त बिदाले सीमित रूपमा सकारात्मक भूमिका खेल्न सक्छ ।

मानिससँग समय र अवसर दुवै हुँदा उपभोग बढ्ने सम्भावना रहन्छ । यसले बजारमा पैसाको चलायमानता कायम राख्न सहयोग पु¥याउन सक्छ ।

यद्यपि आर्थिक मन्दी समाधानको एकमात्र उपाय दुई दिने बिदा होइन, तर आर्थिक गतिविधिलाई टेवा दिने सहायक नीति भने अवश्य हुन सक्छ ।

 

दुई दिन सार्वजनिक बिदाले इन्धन खपत घटाउने सम्भावना पनि रहन्छ । सरकारी कार्यालय तथा विद्यालय एक दिन थप बन्द हुँदा सवारी साधनको प्रयोग, कार्यालय सञ्चालन तथा प्रशासनिक गतिविधिमा कमी आउन सक्छ ।

पेट्रोलियम पदार्थ आयातमा निर्भर नेपालका लागि यसले विदेशी मुद्रा बचतमा केही योगदान पु-याउन सक्छ । साथै ट्राफिक चाप, ध्वनि प्रदूषण र वायु प्रदूषणमा समेत कमी आउन सक्ने भएकाले वातावरणीय संरक्षणमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।

 

यस नीतिको अर्को महत्वपूर्ण पक्ष राष्ट्रसेवक कर्मचारीहरूको मानसिक स्वास्थ्य हो ।

निरन्तर कार्यचापले उत्पन्न गर्ने तनाव र थकानलाई पर्याप्त विश्रामले कम गर्न सक्छ ।

परिवारसँग समय बिताउने, बालबालिकाको शिक्षामा सहभागी हुने, ज्येष्ठ नागरिकको हेरचाह गर्ने तथा आफ्ना रुचिका गतिविधिमा संलग्न हुने अवसरले कर्मचारीको मनोबल र कार्यक्षमता दुवै बढाउन सक्छ ।

यसको सकारात्मक प्रभाव अन्ततः सार्वजनिक सेवा प्रवाहको गुणस्तरमा पनि देखिन सक्छ ।

 

शिक्षा क्षेत्रमा पनि दुई दिन बिदाको सकारात्मक प्रभाव पर्न सक्छ । विद्यार्थीहरूले विश्राम, खेलकुद, सिर्जनात्मक गतिविधि, आत्मअध्ययन तथा पारिवारिक सिकाइका लागि अतिरिक्त समय पाउँछन् ।

आधुनिक शिक्षाले कक्षाकोठाबाहिर हुने सिकाइलाई पनि उत्तिकै महत्व दिने भएकाले यस्तो समय उनीहरूको समग्र व्यक्तित्व विकासका लागि उपयोगी हुन सक्छ ।

तर यसका लागि वार्षिक कार्यघण्टा, पाठ्यक्रम र सिकाइ उपलब्धिमा कुनै असर नपर्ने गरी शैक्षिक क्यालेन्डर व्यवस्थित गर्नुपर्छ ।

 

निस्सन्देह, दुई दिन सार्वजनिक बिदा सफल बनाउन प्रभावकारी व्यवस्थापन अपरिहार्य छ । सेवा प्रवाहमा कुनै असर नपर्ने गरी कार्यसमय व्यवस्थापन, डिजिटल सेवा विस्तार, उत्पादकताको नियमित मूल्याङ्कन तथा अत्यावश्यक सेवाको निरन्तर सञ्चालन सुनिश्चित गर्नुपर्छ ।

कार्यालय खुलेका दिन छिटो, पारदर्शी, उत्तरदायी र परिणाममुखी सेवा दिन सकिएन भने अतिरिक्त बिदाको औचित्य कमजोर हुन सक्छ । त्यसैले बिदासँगै कार्यसंस्कृति, उत्तरदायित्व र कार्यसम्पादनमा सुधार अपरिहार्य छ ।

 

अन्ततः दुई दिन सार्वजनिक बिदा केवल विश्रामको व्यवस्था मात्र होइन; यो आर्थिक चलायमानता, आन्तरिक पर्यटन प्रवद्र्धन, मानसिक स्वास्थ्य सुधार, ऊर्जा बचत, वातावरण संरक्षण र जीवनस्तर उकास्ने सम्भावना बोकेको नीति हो ।

विश्वका धेरै मुलुकको अनुभवले उचित योजना, प्रभावकारी व्यवस्थापन र नतिजामुखी कार्यसंस्कृतिसँग जोडिएको दुई दिने बिदाले राष्ट्रको उत्पादकता र नागरिकको जीवन गुणस्तर दुवैमा सकारात्मक योगदान दिन सक्ने देखाएको छ ।

 

नेपालमा पनि यो नीतिको सफलता बिदाका दिन थप्नुमा होइन, बाँकी पाँच कार्यदिनलाई अझ जिम्मेवार, उत्तरदायी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सक्नुमा निर्भर रहनेछ ।

त्यसैले बहसको केन्द्र दुई दिने बिदा हुनुपर्ने होइन; दुई दिने बिदासँगै कसरी चलायमान अर्थतन्त्र, प्रभावकारी सार्वजनिक सेवा र उच्च उत्पादकता हासिल गर्ने भन्ने हुनुपर्छ ।

 

(चिन्तामणि रिजाल जनता नमूना मावि विराटनगरका प्रधानाध्यापक हुन् । )

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved