विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेश समितिले अनिलकुमार साह नेतृत्वको मोरङ उद्योग व्यापार संघको नवनिर्वाचित कार्यसमितिलाई बुधबार बधाई ज्ञापन गरेको छ ।
परिसंघको सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साहसहित पदाधिकारी र सदस्यहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएको हो ।
परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले संघसँग आगामी दिनमा उद्योगी–व्यवसायीका साझा मुद्दामा दुवै अझ गहिरो सहकार्य हुने विश्वास व्यक्त गरे ।
उनले परिसंघ र मोरङ उद्योग व्यापार संघबीच विगतदेखि नै उत्कृष्ट सहकार्य हुँदै आएको उल्लेख गर्दै उद्योगी–व्यवसायीका आम चासोका विषयमा दुवै संस्थाले बलियो सहकार्यका साथ अघि बढ्नुपर्ने बताए ।
आफू पनि कुनै समय मोरङ उद्योग व्यापार संघको नेतृत्वमा रहेको स्मरण गर्दै सारडाले संस्थाप्रति आफ्नो विशेष सद्भाव र सम्मान रहेको बताए । उनले नवनिर्वाचित कार्यसमितिले संस्थाको गरिमा कायम राख्दै उद्योगी–व्यवसायीको हितमा काम गर्ने विश्वास व्यक्त गरेका थिए ।
उक्त अवसरमा परिसंघ कोशीका प्रमुख सल्लाहकार महेश जाजूले मोरङ उद्योग व्यापार संघले लामो समयदेखि सहमतिका आधारमा नेतृत्व चयन गर्दै आएको विषय देशभरका व्यवसायीका लागि खुसीको कुरा भएको बताए ।
लामो विरासत बोकेको संस्था भएकाले संघले आगामी दिनमा पनि उद्योगी–व्यवसायीको हितका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए ।
संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहले बधाई तथा शुभकामनाका लागि परिसंघलाई धन्यवाद दिँदै अग्रजहरूकै सल्लाह र सुझावअनुसार संघको नयाँ नेतृत्वले काम गर्ने बताए ।
कार्यक्रममा परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्वअध्यक्ष नवीन रिजाल, निवर्तमान अध्यक्ष अनुपम राठी, परिसंघका कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।
View : 15
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved