Biratnagar, Morang, Nepal
६ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

उद्‌घोष संवाददाता
५ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । झापाको बिर्तामोडमा बिहीबार बिहान ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

आगलागीबाट क्यान्टिनमा रहेका सामान, नगद र चौपायासमेत जलेर नष्ट भएका छन् ।

मृत्यु हुनेमा गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्रबहादुर तामाङ छन् । उनी उक्त क्यान्टिनमा काम गर्दै आएका थिए ।

आगो निभाएपछि गरिएको खोजीका क्रममा क्यान्टिनभित्र उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान करिब ४:१० बजे आगलागी भएको थियो ।

ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित उक्त ग्यारेज रवि राजवंशीले चलाउँदै आएका थिए । आगलागीको सूचना पाएपछि प्रहरी, दमकल र स्थानीयवासी घटनास्थल पुगेका थिए ।

उनीहरूको संयुक्त प्रयासमा बिहान ४:३० बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र एक लाख रुपैयाँ नगद जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार क्यान्टिनतर्फ करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्स गोदाममा पनि आगो सल्किएको थियो ।

आगो निभाउने क्रममा गोदाममा रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त क्षतिको मूल्य करिब २५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्रहरीले प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved