Biratnagar, Morang, Nepal
९ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
विचार

प्रेस स्वतन्त्रतामाथिको सरकारी अनुदारता र पत्रकार महासंघ

वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारका केही नीतिगत निर्णय तथा कार्यशैली, पत्रकारमाथि भएका धरपकड, सञ्चारगृहमाथिको व्यवहार र विज्ञापन वितरणसम्बन्धी व्यवस्थाले प्रेस स्वतन्त्रताको व्यावहारिक अवस्थामाथि प्रश्न उठाएको छ । अहिले सरकार असहिष्णु देखिएको छ ।
९ मंसिर २०८३, बुधवार

–नरेन्द्रप्रसाद दाहाल
        नेपाली पत्रकारहरूको साझा छाता संस्था नेपाल पत्रकार महासंघ यतिबेला प्रेस स्वतन्त्रताको संरक्षण र सञ्चार क्षेत्रको पेसागत हितका सवाललाई लिएर आन्दोलनमा छ ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, पत्रकार तथा सञ्चारमाध्यमप्रतिको सरकारी व्यवहार, निजी क्षेत्रका सञ्चारमाध्यममाथि अपनाइएको अनुदार आर्थिक नीति, श्रमजीवी पत्रकारका पेसागत अधिकारलगायतका विषय महासंघको आन्दोलनका प्रमुख एजेन्डा बनेका छन् ।

मूलतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको दृष्टिकोण र कार्यशैलीमा सुधार ल्याउनुपर्ने माग आन्दोलनको केन्द्रमा छ ।

महासंघले अघि सारेको चरणबद्ध आन्दोलनले प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र सरकारको सञ्चार क्षेत्रप्रतिको दृष्टिकोणमाथि गम्भीर बहस सिर्जना गरेको छ ।

यसै सन्दर्भमा महासंघ मोरङ शाखाले मङ्सिर ७ गते विराटनगरमा सञ्चार क्षेत्रका सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको थियो ।

महासंघ मोरङ शाखाका अध्यक्ष सुशीला पाठकको संयोजनमा सम्पन्न कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, स्थानीय अग्रज सञ्चारकर्मी तथा युवा पत्रकारहरूको सहभागिता थियो ।

छलफलमा सरकारका प्रेससम्बन्धी नीतिहरूको समीक्षा गर्दै आन्दोलनलाई प्रभावकारी बनाउने, पत्रकारिताको व्यावसायिक मर्यादा कायम गर्ने र सञ्चार क्षेत्रका साझा समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरियो ।


        छलफलको मूल मर्म नेपाल पत्रकार महासंघ केवल एउटा पेसागत संगठन मात्र नभई समग्र नेपाली पत्रकारिताको साझा प्रतिनिधिमूलक संस्था भएकाले यसले प्रेस स्वतन्त्रताको प्रत्याभूति, पत्रकारको पेसागत हकहितको संरक्षण र सञ्चार क्षेत्रको संस्थागत विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने थियो ।

विराटनगरमा उठेका यी विषय मोरङका पत्रकारहरूको मात्र सरोकार नभई राष्ट्रिय पत्रकारिता जगत्का साझा मुद्दा हुन् ।

त्यसैले स्थानीय तहबाट व्यक्त भएका आवाजलाई राष्ट्रिय अभियानसँग जोड्दै साझा प्रतिबद्धता र संस्थागत एकता निर्माण गर्नु आजको आवश्यकता भएको छ ।

लोकतन्त्रको आधार प्रेस स्वतन्त्रता
        लोकतन्त्र केवल आवधिक निर्वाचन, सरकार गठन र राजनीतिक दलहरूबीचको प्रतिस्पर्धामा सीमित व्यवस्था होइन ।

नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, विधिको शासन र राज्यका निकायको जवाफदेहितामा आधारित शासन प्रणाली नै लोकतन्त्रको वास्तविक आधार हो ।

यस व्यवस्थामा नागरिकका आवाजलाई मुखरित गर्ने, राज्यका गतिविधिमाथि निगरानी राख्ने, सार्वजनिक निकायलाई जवाफदेही बनाउने र समाजमा विद्यमान विकृति, विसङ्गति तथा अन्यायविरुद्ध जनमत निर्माण गर्ने महत्त्वपूर्ण माध्यम सञ्चार क्षेत्र हो ।

त्यसैले प्रेस स्वतन्त्रता पत्रकारहरूको मात्र पेसागत अधिकार नभई समग्र नागरिक समाज र लोकतान्त्रिक व्यवस्थाको साझा सम्पत्ति हो ।


        नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको छ ।

संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गर्दै प्रकाशन तथा प्रसारणमा पूर्वप्रतिबन्ध लगाउन नपाइने र निश्चित संवैधानिक अपवादबाहेक सञ्चारमाध्यमलाई सामग्री प्रकाशनकै आधारमा बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने व्यवस्था गरेको छ ।

त्यस्तै, धारा २७ ले नागरिकलाई सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।

यी संवैधानिक व्यवस्थाले स्वतन्त्र प्रेस, नागरिकको सूचनाको अधिकार र लोकतान्त्रिक शासन प्रणालीबीचको अन्योन्याश्रित सम्बन्ध स्पष्ट पार्छन् ।
      

 तर, वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारका केही नीतिगत निर्णय तथा कार्यशैली, पत्रकारमाथि भएका धरपकड, सञ्चारगृहमाथिको व्यवहार र विज्ञापन वितरणसम्बन्धी व्यवस्थाले प्रेस स्वतन्त्रताको व्यावहारिक अवस्थामाथि प्रश्न उठाएको छ ।

अहिले सरकार असहिष्णु देखिएको छ ।

विशेषगरी सञ्चारमाध्यमले सरकारका निर्णयमाथि प्रश्न उठाउँदा त्यसलाई असहमतिका रूपमा ग्रहण गर्नुको सट्टा प्रतिशोध वा दबाबको दृष्टिले हरेको छ ।

यो प्रवृत्ति लोकतान्त्रिक शासनको मर्मविपरीत भएको ठानिएको छ ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र राज्यको जवाफदेहिता
        लोकतान्त्रिक सरकारको पहिलो दायित्व नागरिकका मौलिक अधिकारको संरक्षण गर्नु हो ।

सरकारका नीति, निर्णय र कार्यशैलीप्रति सञ्चारमाध्यमले प्रश्न उठाउनु अस्वाभाविक होइन ।

बरु सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्ने, तथ्य सार्वजनिक गर्ने र सत्तालाई जवाफदेही बनाउने कार्य पत्रकारिताको मूल दायित्व हो ।

समाचार संकलनका क्रममा पत्रकारमाथि धरपकड गर्ने, सञ्चारगृहलाई त्रसित बनाउने, समाचार सामग्रीसँग जोडेर प्रतिशोधपूर्ण व्यवहार गर्ने वा पत्रकारको पेसागत मर्यादामाथि आघात पु-याउने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरण कमजोर बनाउँछ ।


        पत्रकार कानुनभन्दा माथि हुँदैनन् र कानुन उल्लङ्घन भएको अवस्थामा अनुसन्धान तथा कारबाही हुनु हुँदैन भन्ने माग पनि पत्रकारिताको होइन ।

तर, कानुनी कारबाही निष्पक्ष, पारदर्शी र पूर्वाग्रहरहित हुनुपर्छ । कानुन कार्यान्वयनको नाममा पत्रकारलाई त्रसित पार्ने, समाचार प्रकाशन वा प्रसारणकै कारण प्रतिशोध साँध्ने र सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने कार्य स्वीकार्य हुन सक्दैन ।

मोरङ शाखाको छलफलमा पनि विगतमा भएका धरपकड तथा दुव्र्यवहारका घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडित सञ्चारकर्मीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग उठाइएको छ ।

 प्रेस स्वतन्त्रताको संरक्षण सरकारको मात्र जिम्मेवारी होइन ।

राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, न्यायिक संस्था, निजी क्षेत्र र नागरिक समाज सबैले यसको महत्त्व आत्मसात् गर्नुपर्छ ।

सञ्चारमाध्यमले उठाएका प्रश्नलाई शत्रुताका रूपमा नभई शासन प्रणाली सुधार गर्ने अवसरका रूपमा ग्रहण गर्ने राजनीतिक संस्कारको विकास हुनु आवश्यक छ ।

विज्ञापन नीति र सञ्चारमाध्यमको आर्थिक स्वायत्तता
        प्रेस स्वतन्त्रताको व्यावहारिक प्रत्याभूति सञ्चारमाध्यमको आर्थिक स्वायत्ततासँग पनि जोडिएको हुन्छ ।

आर्थिक रूपमा कमजोर सञ्चारगृहले राजनीतिक, प्रशासनिक वा व्यावसायिक दबाबबाट स्वतन्त्र रहेर पत्रकारिता गर्न कठिन हुन्छ ।

विशेषगरी मोफसलमा सीमित लगानीमा सञ्चालित पत्रपत्रिका, रेडियो तथा अन्य सञ्चारमाध्यमको आर्थिक अवस्था चुनौतीपूर्ण छ ।

यस्ता सञ्चारगृहका लागि लोककल्याणकारी विज्ञापन र सरकारी सूचनामूलक विज्ञापन आम्दानीको महत्त्वपूर्ण आधार रहँदै आएको छ ।


        सरकारद्वारा हालै गरिएको छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी संशोधित कार्यविधिले पत्रपत्रिकाले प्राप्त गर्दै आएको विज्ञापन रकममा भारी कटौती हुने व्यवस्था गरेको छ । यसमा नेपाल पत्रकार महासंघले पनि गम्भीर आपत्ति जनाएको छ ।

उक्त संशोधनबाट विशेषगरी मोफसलका पत्रपत्रिकाले प्राप्त गर्ने रकममा उल्लेख्य कटौती भएको छ ।

त्यसैगरी, २०८२ चैत १८ गतेको सरकारी निर्णयअनुसार सार्वजनिक निकायका सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था अघि सारिएको विषयले निजी सञ्चारमाध्यमको व्यावसायिक अस्तित्वमाथि थप प्रश्न खडा गरेको छ ।
        सरकारी विज्ञापन राज्यको कृपा वा कुनै सञ्चारगृहलाई प्रदान गरिने व्यक्तिगत अनुदान होइन ।

यो सार्वजनिक सूचना नागरिकसम्म पु-याउने माध्यम हो ।

त्यसैले यसको वितरण पारदर्शी, समानुपातिक, प्रतिस्पर्धात्मक र सञ्चारमाध्यमको पहुँच तथा प्रभावकारिताका आधारमा हुनुपर्छ ।

सरकारी सञ्चारमाध्यमलाई प्राथमिकता दिएर निजी क्षेत्रलाई अवसरबाट वञ्चित गर्नु स्वस्थ सञ्चार प्रणालीको अवधारणासँग मेल खाँदैन । सार्वजनिक सूचना प्रवाहमा निजी सञ्चारमाध्यमको पहुँच र योगदानलाई बेवास्ता गर्नु पनि उचित हुँदैन ।
        लोककल्याणकारी विज्ञापनको वितरण प्रणालीलाई समयानुकूल, न्यायोचित र पारदर्शी बनाउन आवश्यक छ ।

साना लगानीका सञ्चारमाध्यमको आर्थिक अवस्था, प्रकाशनको नियमितता, प्रसार क्षेत्र र सार्वजनिक सूचना प्रवाहमा तिनको योगदानलाई समेत मूल्याङ्कनको आधार बनाउनुपर्छ ।

यसका साथै समानुपातिक विज्ञापन नीति र पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । सरकारले सञ्चार क्षेत्रसँग आवश्यक परामर्श गरी विवादित नीतिको पुनरावलोकन गर्नु नै उपयुक्त हुन्छ ।

पत्रकारको पेसागत सुरक्षा र सञ्चालकको जिम्मेवारी
        पत्रकारिता सार्वजनिक उत्तरदायित्व बोकेको व्यावसायिक पेसा हो ।

यसमा संलग्न व्यक्तिको श्रम, समय, दक्षता र योगदानको उचित मूल्याङ्कन हुनुपर्छ ।

पत्रकारलाई नियमित पारिश्रमिक नदिने, नियुक्तिपत्र उपलब्ध नगराउने, श्रम कानुनले सुनिश्चित गरेका सुविधा प्रदान नगर्ने, मनोमानी ढङ्गले सेवाबाट निष्कासन गर्ने र श्रम शोषण गर्ने प्रवृत्तिले पत्रकारिताको संस्थागत विकासलाई कमजोर बनाउँछ ।

सरकारी तथा निजी सञ्चारमाध्यम दुवै क्षेत्रमा श्रम अधिकारको पूर्ण पालना हुनुपर्छ ।
        

पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेर मात्र पुग्दैन, त्यसको कार्यान्वयन र अनुगमन पनि प्रभावकारी हुनुपर्छ ।

सामाजिक सुरक्षा, दुर्घटना बीमा, पेसागत तालिम र सुरक्षित कार्यस्थलको व्यवस्था सुनिश्चित गरिनुपर्छ ।

विशेषगरी महिला पत्रकार, नयाँ पुस्ताका सञ्चारकर्मी र दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका पेसागत चुनौतीलाई सम्बोधन गर्न सञ्चारगृह र महासंघ दुवै जिम्मेवार हुनुपर्छ ।
        महासंघ मोरङले आयोजना गरेको छलफलमा सञ्चारमाध्यम सञ्चालकहरूको भूमिका र जिम्मेवारीका विषयमा पनि महत्त्वपूर्ण प्रश्न उठाइएको थियो ।

पत्रकारका अधिकार र सुविधाका लागि अरूले मात्र आन्दोलन गरिदिऊन्, तर आफूले कुनै सक्रिय भूमिका निर्वाह नगरी सुविधाको अपेक्षा गरिरहने प्रवृत्तिले साझा उद्देश्य कमजोर बनाउँछ ।

केही सञ्चारमाध्यम सञ्चालक महासंघका आन्दोलन, छलफल तथा संस्थागत गतिविधिमा सक्रिय सहभागी नहुने तर सरकारी सुविधाको निरन्तरताप्रति अपेक्षा राख्ने प्रवृत्तिमा सुधार हुनुपर्ने धारणा सहभागीहरूले व्यक्त गरेका थिए ।
        अधिकार र सुविधाको मागसँगै दायित्व र जिम्मेवारी निर्वाह गर्ने संस्कार पनि आवश्यक छ ।

सञ्चारमाध्यम सञ्चालक र श्रमजीवी पत्रकारबीचको सम्बन्ध केवल रोजगारदाता र श्रमिकको सम्बन्धमा सीमित हुनु हुँदैन ।

सञ्चारगृहको आर्थिक अवस्था, व्यवस्थापकीय क्षमता, सम्पादकीय स्वतन्त्रता र पत्रकारको श्रम अधिकारबीच उचित सन्तुलन कायम गर्न दुवै पक्ष जिम्मेवार हुनुपर्छ ।

महासंघको नेतृत्व र संस्थागत विश्वसनीयता
        नेपाल पत्रकार महासंघको मूल दायित्व पत्रकारको पेसागत हकहितको संरक्षण, प्रेस स्वतन्त्रताको प्रत्याभूति र पत्रकारिताको व्यावसायिक विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु हो ।

त्यसैले सरकार वा अन्य कुनै पक्षबाट प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुँदा महासंघ मौन रहनु हुँदैन । केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाबीच प्रभावकारी समन्वय कायम गर्दै संस्थागत रूपमा सक्रिय हुनुपर्छ ।
      

 विराटनगरको छलफलमा महासंघको केन्द्रीय नेतृत्वको सक्रियता र जवाफदेहितामाथि पनि प्रश्न उठाइएको थियो ।

सहभागीहरूले महासंघ निष्क्रिय वा आत्मसमर्पणवादी देखिन थालेको भन्दै अध्यक्ष, पदाधिकारी र केन्द्रीय समितिलाई थप जिम्मेवार हुन आग्रह गरेका थिए ।

यस्तो आलोचनालाई संस्थाको कमजोरी औँल्याउने र नेतृत्वलाई सचेत बनाउने लोकतान्त्रिक अभिव्यक्तिका रूपमा ग्रहण गर्नुपर्छ ।

महासंघको आन्दोलन केवल विज्ञप्ति, ज्ञापनपत्र र औपचारिक कार्यक्रममा सीमित हुनु हुँदैन ।

त्यसलाई तथ्य, प्रमाण, जनसमर्थन र निरन्तर संवादमा आधारित परिणाममुखी अभियानका रूपमा अघि बढाउनुपर्छ ।
   

आन्दोलनलाई प्रभावकारी बनाउन पत्रकारका सबै संघसंस्था, सञ्चारमाध्यम सञ्चालक, सम्पादक, श्रमजीवी पत्रकार, प्रेससम्बद्ध पेसागत संगठन र नागरिक समाजबीच एकता आवश्यक छ ।

आन्दोलन कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा केन्द्रित नभई प्रेस स्वतन्त्रता, संविधानप्रदत्त अधिकार र पत्रकारिताको व्यावसायिक अस्तित्वको पक्षमा केन्द्रित हुनुपर्छ ।

सरकारसँग असहमति राख्नु र आवश्यक विषयमा सहकार्य गर्नु परस्पर विरोधी कुरा होइनन् ।

पत्रकारिताको विकास, सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि, पत्रकारको सीप विकास र मर्यादित अभ्यासका लागि सरकारसँग रचनात्मक सहकार्य पनि उत्तिकै आवश्यक छ ।

व्यावसायिक पत्रकारिता र आत्मसमीक्षाको आवश्यकता
        प्रेस स्वतन्त्रताको माग गरिरहँदा पत्रकारिता क्षेत्र आफैँ पनि आफ्ना कमजोरी र विकृतिप्रति गम्भीर हुनुपर्छ ।

स्वतन्त्रता र स्वच्छन्दता एउटै कुरा होइनन् ।

पत्रकारिताको स्वतन्त्रता सत्यतथ्य, निष्पक्षता, सन्तुलन, जवाफदेहिता र सार्वजनिक हितप्रतिको प्रतिबद्धताबाट निर्देशित हुनुपर्छ ।

अपुष्ट समाचार सम्प्रेषण, व्यक्तिको प्रतिष्ठामाथि अनावश्यक आघात, स्वार्थप्रेरित सामग्री, पक्षधरता, आर्थिक प्रलोभन र समाचार तथा विज्ञापनबीचको भेद मेटिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयता कमजोर बनाउँछ ।


        डिजिटल सञ्चारमाध्यमको तीव्र विस्तारसँगै समाचार सम्प्रेषणको गति बढेको छ ।

तर, त्यससँगै गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालमा फैलिने अपुष्ट दाबीको चुनौती पनि बढेको छ ।

यस्तो अवस्थामा पत्रकारले तथ्य परीक्षण, स्रोतको विश्वसनीयता, गोपनीयताको सम्मान र पत्रकार आचारसंहिताको पालना गर्न अझ बढी सचेत हुनुपर्छ ।

पत्रकारिताभित्र देखिएका विकृति र विसङ्गतिको अन्त्यका लागि महासंघ, प्रेस काउन्सिल, सञ्चारमाध्यम सञ्चालक र स्वयं पत्रकारहरूले आत्मसमीक्षासहित सुधारका कार्यक्रम अघि बढाउनुपर्छ ।
        सञ्चारमाध्यमको स्वामित्व र सम्पादकीय निर्णयबीच उचित सन्तुलन कायम हुनुपर्छ ।

पत्रकारलाई कुनै राजनीतिक, आर्थिक वा व्यक्तिगत स्वार्थको साधन बन्नबाट जोगाउन संस्थागत व्यवस्था बलियो बनाउन आवश्यक छ ।

प्रेस स्वतन्त्रताको माग गर्ने पत्रकार स्वयं पनि सत्य, निष्पक्षता र सार्वजनिक उत्तरदायित्वप्रति प्रतिबद्ध हुनुपर्छ । यसले मात्र पत्रकारिताप्रति नागरिकको विश्वास र सम्मान अभिवृद्धि गर्न सक्छ ।

साझा एकता र प्रतिबद्धताको खाँचो
        प्रेस स्वतन्त्रता कमजोर हुनु भनेको नागरिकको प्रश्न गर्ने अधिकार कमजोर हुनु हो ।

सञ्चारमाध्यममाथि नियन्त्रण बढ्नु भनेको सार्वजनिक निकायको जवाफदेहिता कमजोर हुनु हो ।

त्यसैले प्रेस स्वतन्त्रताको संरक्षणलाई कुनै पेसागत समूहको स्वार्थका रूपमा सीमित गरेर हेर्न मिल्दैन ।

यो लोकतान्त्रिक समाजको आधारभूत आवश्यकता हो ।

 वर्तमान परिस्थितिमा नेपाल पत्रकार महासंघले अघि सारेको आन्दोलनलाई केवल सरकारी निर्णय फिर्ता गराउने अभियानका रूपमा मात्र नभई, प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति, सञ्चार क्षेत्रको आर्थिक स्वायत्तता, श्रमजीवी पत्रकारको सम्मान र व्यावसायिक पत्रकारिताको सुदृढीकरणसँग जोड्नुपर्छ ।

सरकारले पनि विरोधका आवाजलाई असहिष्णुतापूर्वक ग्रहण गर्नुको सट्टा सरोकारवालासँग संवाद गरी विवादित नीतिको पुनरावलोकन गर्नुपर्छ ।

अधिकार उल्लङ्घन भएको छ भने न्याय प्रदान गर्ने र नीतिगत कमजोरी छन् भने सच्याउने लोकतान्त्रिक संस्कार सरकारले प्रदर्शन गर्नैपर्छ ।
      

 त्यसैगरी, महासंघले आन्दोलनको नेतृत्व गर्दा आफ्नै संस्थागत पारदर्शिता, आन्तरिक लोकतन्त्र, सक्रियता र जवाफदेहितालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।

सञ्चारमाध्यम सञ्चालक र श्रमजीवी पत्रकारले साझा हितका लागि एकताबद्ध हुन जरुरी हुन्छ ।

पत्रकारहरूले स्वतन्त्रताको मागसँगै आफ्नो व्यावसायिक आचरणलाई पनि उच्च बनाउनुपर्छ ।

 
        विराटनगरको छलफलले उठाएका विषयहरूलाई स्थानीय तहको बहसमा मात्र सीमित नराखी राष्ट्रिय पत्रकारिता अभियानको साझा एजेन्डा बनाउन आवश्यक छ ।

छरिएका आवाजलाई साझा सङ्कल्पमा रूपान्तरण गर्ने, असहमतिलाई संस्थागत संवादबाट सम्बोधन गर्ने र प्रेस स्वतन्त्रताको पक्षमा निर्भीक तथा जिम्मेवार ढङ्गले उभिने प्रतिबद्धता नै अहिलेको आवश्यकता हो ।

किनभने, स्वतन्त्र प्रेसबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन ।

राज्यले प्रेसको सम्मान गर्नु, पत्रकारले आफ्नो पेसागत मर्यादा कायम राख्नु र नागरिकले स्वतन्त्र तथा निष्पक्ष सूचनाको अधिकार उपभोग गर्न पाउनु नै लोकतान्त्रिक समाजको वास्तविक पहिचान हो ।

View : 13

९ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved