Biratnagar, Morang, Nepal
९ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगरमा नौ देशका शल्यचिकित्सकहरू भेला हुँदै

उद्‌घोष संवाददाता
९ मंसिर २०८३, बुधवार

विराटनगर । नेपाल शल्यचिकित्सक समाज (एसएसएन) को १५औँ राष्ट्रिय सम्मेलन दुई दशकपछि विराटनगरमा हुने भएको छ । 

मंसिर १० देखि १२ गतेसम्म विराटनगरको विराटनगर मेडिकल कलेज शिक्षण अस्पतालमा हुन लागेको हो । 

सम्मेलनमा नेपालसहित ९ देशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा चिकित्सकहरूको सहभागिता रहने जनाइएको छ ।

नेपाल शल्यचिकित्सक समाज कोशीका अध्यक्ष डा.रोहितप्रसाद यादवका अनुसार सम्मेलनमा शल्यचिकित्साका नवीनतम् प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति तथा बिरामी सेवामा सुधारका विषयमा दर्जनौं छलफल हुने जनाइएको छ ।

सम्मेलनको पहिलो दिन तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन हुनेछन् । ती कार्यशालामा इन्डोस्कोपी, कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया तथा मलद्वारसम्बन्धी रोगको उपचारका विषयमा व्यावहारिक तालिम दिइने डा. यादवले बताए । साथै, पेटको क्यान्सर र कलेजोको शल्यचिकित्साको तयारीबारे विशेष अन्तरक्रिया पनि बताए ।

सम्मेलनमा विभिन्न अनुसन्धानपत्र तथा ई–पोस्टर प्रस्तुति, विशेषज्ञहरूको प्रवचन र अन्तरक्रियात्मक सत्र संचालन हुनेछन् । त्यस्तै हर्निया, अन्ननली, पेट, कलेजो, प्याङ्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसँग सम्बन्धित विषयमा विभिन्न देशबाट सहभागी चिकित्सकहरूले छलफल गर्नेछन् ।

सम्मेलनमा रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगजस्ता नवीन विषयले पनि उच्च प्राथमिकता पाउने जनाइएको छ । 

सम्मेलनका क्रममा ल्याप्रोस्कोपिक सीप प्रतियोगिता ‘एमआईएस च्याम्पियनसिप’ आयोजना गरिनेछ । युवा सर्जन तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसिया लगायतका देशबाट ४० जना बढी चिकित्सकहरू सहभागी हुनेछन् । 

विदेशी विशेषज्ञहरूको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा विकास भएका नयाँ प्रविधि तथा अनुसन्धानबारे नेपाली चिकित्सकलाई जानकारी प्राप्त गर्ने अवसर मिल्ने जनाइएको छ । 

साथै, नेपालमा शल्यचिकित्सा सेवाका चुनौती र नयाँ सम्भावनाबारे पनि छलफल गर्ने उद्देश्य राखिएको जनाइएको छ ।

अध्यक्ष डा.यादवले ठूलो संख्यामा देशविदेशबाट शल्यचिकित्सकहरू सहभागी हुने भएका कारण विराटनगरको होटल पर्यटनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

उनले अघिल्लो पटक पोखरामा राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिंदै यसपटक विराटनगरमा पनि उत्साहका साथ सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

View : 38

९ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved