विराटनगर । नेपाली कांग्रेसभित्र सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीचको विवाद अब जनप्रतिनिधिमाथि हुन सक्ने कारबाहीको विषयमा प्रवेश गर्ने मोडमा आइपुगेको छ ।
देउवा पक्षले समानन्तर गतिविधि अघि बढाइरहेका बेला सभापति थापाले त्यसमा सहभागी हुने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन वा पार्टी विधानअनुसार कारबाही भोग्न तयार रहन चेतावनी दिएका छन् ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा कांग्रेसको चुनाव चिन्ह लिएर निर्वाचित भएका व्यक्तिले अर्को पार्टीमा आबद्ध हुने हो भने सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । राजीनामा नदिए विधानअनुसार कारबाही गर्ने उनको भनाइ छ ।
थापाको यो चेतावनीले कोशी प्रदेशमा पनि राजनीतिक प्रभाव पार्ने देखिन्छ । देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको प्रक्रियामा सक्रिय रहेका कोशीका नेताहरूमा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलादेखि प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसम्म छन् ।
हालसम्म कोशीका जनप्रतिनिधिहरुमध्ये राष्ट्रिय सभा सदस्य सिटौला र प्रतिनिधिसभाकी समानुपातिक सांसद सुशीला ढकाल देउवा पक्षको गतिविधिमा जोडिएका छन् ।
प्रदेशसभातर्फ पूर्वमुख्यमन्त्री तथा मोरङका सांसद केदार कार्की, उदयपुरका रामकुमार खत्री, खोटाङका भूपेन्द्र राई, सुनसरीकी सुनिता गच्छदार र इलामकी खगेश्वरी पौडेल पनि समानान्तर महाधिवेशन पक्षको गतिविधिमा संलग्न छन् । गच्छदार र पौडेल प्रदेशसभाका समानुपातिक सांसद हुन् ।
स्थानीय तहतर्फ झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी पनि देउवा पक्षमा सक्रिय छन् । यसरी कोशीबाट प्रतिनिधित्व गर्ने आठ जना जनप्रतिनिधि थापाको चेतावनीपछि सम्भावित कारबाहीको चर्चामा आएका छन् ।
देउवा पक्षले मंसिर १७ र १८ गते विराटनगरमा समानान्तर प्रदेश अधिवेशन गर्ने तयारी गर्दा सिटौलाको उपस्थितिमा भएको बैठकले त्यसको निर्णय गरेको थियो ।
प्रदेश महामन्त्री भूपेन्द्र राईलाई मूल आयोजक समितिको संयोजक र केदार कार्कीलाई व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिइएको थियो ।
मंगलबारको बैठकमा थापाले आफूले कसैलाई पार्टीबाट निकाल्न नखोजेको तर पार्टीको विधान कार्यान्वयन गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन् ।
‘अस्ति महाधिवेशन लडेर पराजित भएर यताउता जाने कुरा त थोरै लोकलाज राख्नुपर्छ । म सभापति भएकोले सबैलाई मिलाएर लैजानुपर्ने दायित्व छ । साथै विधान पनि पालना गर्नुपर्छ ।’
उनले थपे ‘तपाईं राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन । तर, तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईंले जुन सभामा हुनुहुन्छ राजीनामा गर्नुहोला, गर्नुभएन भने विधानले गर्छ । विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो ।’
सिटौलातिर लक्ष्य गर्दै थापाले एउटै व्यक्ति दुईवटा पार्टीको सदस्य हुन नसक्ने तर्क गरेका छन् । उनले भने ‘एक व्यक्ति राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, कांग्रेसको पनि सदस्य र अर्को कुनै पार्टीको पनि सदस्य हुन पाउनु हुन्न । अब हुने नेपाली कांग्रेसको अधिवेशन होइन, एकै पार्टीको दुई अधिवेशन हुन सक्दैन । मेरो कोसिस सबैलाई राखौं भन्ने हो ।’
कोशीमा देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीलाई संगठनात्मक रूपमै अघि बढाएको छ ।
मंसिर १७ र १८ गते विराटनगरमा प्रदेश अधिवेशन गर्ने निर्णय भइसकेको छ । त्यसका लागि विभिन्न समिति गठन गरिएको छ । अधिवेशनमा २ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजक पक्षको दाबी छ ।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सो पक्षले यसअघि नै ६१८ स्थानीय तह र २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको थियो ।
थापाको चेतावनीसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ ले कुनै दलको चुनाव चिन्हबाट निर्वाचित संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका सदस्यले पदावधि कायम रहँदासम्म आफू निर्वाचित भएको दल त्याग गर्न नपाउने व्यवस्था गरेको छ ।
ऐनको दफा ३२ ले सम्बन्धित दलको सदस्यताबाट लिखित राजीनामा दिनु, अर्को दलको सदस्यता लिनु वा आफू संलग्न भएर अर्को दल गठन गर्नु दल त्याग मानेको छ ।
यस्तो अवस्थामा निर्वाचित पदसमेत रिक्त हुन सक्ने व्यवस्था छ । नेपाली कांग्रेसको आन्तरिक विवाद विशेष महाधिवेशनपछि थप चर्किएको हो ।
गगन थापा नेतृत्वको पक्षले असोज १८ देखि २२ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ । तर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियालाई स्वीकार गरेको छैन ।
View : 36
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved