Biratnagar, Morang, Nepal
९ मंसिर २०८३, बुधवार
+977 21 450305, 515728, 578305
खेलकुद

काेशी प्रदेशस्तरीय सुटिङ खेलको अन्तिम नतिजा सार्वजनिक

उद्‌घोष संवाददाता
९ मंसिर २०८३, बुधवार

विराटनगर । यही मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुटिङ खेलको कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार रेग्मीको संयोजकत्व तथा मुख्य निर्णायकत्वमा सम्पन्न सो प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुदका लागि विभिन्न विधामा सहभागी हुने खेलाडीहरूको अन्तिम नतिजा तथा छनोट टुङ्गो लागेको छ ।

मङ्सिर ५, ६ र ७ गते सञ्चालन भएको सो प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आआफ्नो विधामा सफलता हात पारेका छन् ।


प्रतियोगिताको पुरुष एयर राइफल विधामा सुनसरीका सुसे चौधरी प्रथम, सुनसरीकै युवराज श्रेष्ठ द्वितीय र इलामका टाइटस राई तृतीय भएका छन् ।

त्यसैगरी, पुरुष एयर पेस्तोल विधामा सुनसरीका कुमार खत्री प्रथम, इलामका प्रकाश राई द्वितीय र उदयपुरका सुरेन्द्र राई तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

महिला एयर राइफल विधातर्फ मोरङकी निर्जला श्रेष्ठ प्रथम, मोरङकै तुलसा खड्का द्वितीय र झापाकी सोनामीका खड्का तृतीय भएकी छन् ।

महिला एयर पेस्तोल विधातर्फ ओखलढुङ्गाकी तारा राई प्रथम हुँदा सुनसरीका सिविरा रेग्मी र रेजिना मण्डल क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताबाट छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई खेलाडी दर्ता फारमसहित कोशी प्रदेश खेलकुद विकास बोर्ड, विराटनगरमा राष्ट्रिय खेलकुदमा सहभागिताका लागि नाम दर्ता तथा कागजी प्रक्रिया अगाडि बढाइएको संयोजक नवीनकुमार रेग्मीले जानकारी दिए ।

 दसौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजक स्थल सुर्खेत रहे तापनि सुटिङ खेलको प्रतिस्पर्धा भने मङ्सिर १६ गतेदेखि बाँकेको नेपालगन्जमा सञ्चालन हुने तय भएको छ ।
 

View : 30

९ मंसिर २०८३, बुधवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved