विराटनगर । सुनसरीको धरानबाट प्रहरीले २०९ किलो ४२० ग्राम गाँजासहित दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान ३ बजेको समयमा धरान उपमहानगरपालिका–२० च्यानडाँडामा गाँजा लोड भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरी टोली घटनास्थल पुग्दा बा १ च ५०३८ नम्बरको स्कार्पियो र को १ च ८१८२ नम्बरको स्कार्पियोमा लागूऔषध गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो । प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीले दुवै गाडीमा लोड गरिएको २०९ किलो ४२० ग्राम गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३६ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २२ वर्षीय अमृत विश्वकर्मा रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै स्कार्पियो गाडीलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved