Biratnagar, Morang, Nepal
१६ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
विचार

महानगर अनि तरकारी बजारको स्तर

विभूतिराज कोइराला
१६ कार्तिक २०८३, सोमवार

Advertisement

कुनै पनि ठाउँ चाहे दुर्गम गाउँ होस् या सुगम शहर होस्, त्यहाँको जनताको उपलब्ध हुनुपर्ने विभिन्न सेवा सुविधाहरूमध्ये एक व्यवस्थित र सुविधासम्पन्न तरकारी तथा खाद्यान्न किनवेच हुने बजार हुनु अनिवार्य हुन्छ ।

सो ठाउँको जनसंख्या तथा माग अनुसार बजार स्थापना तथा विस्तार हुने गर्दछ ।

बजारको राम्रो व्यवस्थापन, व्यवहार, शौचालय, पार्किङ लगायतका सेवा सुविधाहरुको उपलब्धताले पनि उक्त ठाउँको मुहार देखाई रहेको हुन्छ, सो ठाउँको परिचय दिइरहेको हुन्छ ।

 

विराटनगरको विभिन्न ठाउँहरूमा धेरै पहिलेदेखिनै साताको एक दिन हाट बजार लाग्ने गरेका छन् ।

जहाँ विराटनगर तथा छिमेकी पालिकाहरूको किसानहरूले उत्पादन गरेर बिक्री गर्न ल्याएका तरकारी, माछा मासुका साथै भारतलगायत नेपालकै अन्य स्थानबाट आयात गरिएका तरकारी लगायत अन्य सामानहरू बिक्री गर्न राखिएका हुन्छन् ।

त्यसैगरी स्थायी तरकारी बजारको रूपमा विराटनगर–११ स्थित नयाँ गुद्री बजार रहेको छ । साथै महेन्द्र चोकबाट उत्तर रहेको भट्टीचोकको छेउमा पनि तरकारी बजार रहेको छ, त्यसलाई पुरानो गुद्री भन्ने गरिन्छ ।


धेरै अगाडि मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिर पश्चिममा रहेको महानगरपालिकाको जमिनमा साथै भट्टी चोक र महावीर चोकको बीचमा रहेको हालको पुरानो गुद्री छेउको महानगरपालिकाकै जमिनमा तरकारीको थोक तथा खुद्रा बजार साथै माछा बजार पनि लाग्ने गरेको थियो ।

पञ्चमुखी हनुमान मन्दिरछेउको तरकारी बजार भने आज भन्दा लगभग पन्ध्र, सोह्र बर्षआघिनै त्यहाँबाट हटाइ उक्त जमिनमा कार तथा मोटरसाइकल, साइकल पार्किङ गर्ने ठाउँ बनाइएको छ ।

महावीर चोकस्थित हाल पुरानो गुद्री छेउको तरकारी तथा माछा बजार भने २०७७ सालसम्म सञ्चालन भइरहेको थियो ।

गुद्री बजार साँघुरो भई मानिसको अत्यधिक घुइँचो भएको, पार्किङ गर्ने स्थलको अभाव भएको आदि कारणले एक व्यवस्थित तरकारी बजार निर्माण गर्ने भन्दै विश्व बैंकको सहयोगमा तीनपैनी हनुमान मन्दिरदेखि पूर्व सिंघिया खोला पारी कटहरी गाउँपालिकास्थित जनप्रिय माध्यमिक विद्यालयको र गाउँपालिकाको समेत गरेर जम्मा पाँच बिघा भन्दा धेरै जग्गा पचास वर्षको लागि लिज (भाडा)मा लिइयाे ।

त्यहाँ वि.सं. २०७३ सालमा अन्तर्राष्ट्रियस्तरको, अत्याधुनिक तरकारी तथा फलफूल बजारको निर्माण सुरु गरियो ।

१३ करोड ७६ लाखको लागतमा १३ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको भए पनि पछि लागत बढेर १८ करोडभन्दा धेरै रकम खर्च भएको थियो ।

सो तरकारी बजारमा पार्किङका लागि पर्याप्त ठाउँ, तरकारी लिएर आउने सवारीका कर्मचारीका लागि बस्ने व्यवस्था, किसानहरूका लागि आरामकक्ष लगायतका धेरै सुविधाहरू उपलब्ध गराउनेगरी निर्माण गरियो ।

तर तरकारी लिएर आउने ठूला ट्रकहरूका लागि त्यहाँ पुग्न सिंघिया खोलामा रहेको १४, १५ फिट चौडाइको डेढ–दुई सय फिट लामो पुरानो पुल साँघुरो हुने भन्ने कुरा विचार गरिएन ।

करोडौं रूपैयाँ लगानी गरेर बनाइएको अन्तर्राष्ट्रिय स्तरको, स्मार्ट र अत्याधुनिक भनिएको सो कृषि बजार निर्माण सम्पन्न भएपछि गुद्रीका व्यापारीहरूलाई कोरोना महामारीको बेला मेयर भीम पराजुलीको पालामा नविनर्मित ठाउँमा स्थानान्तरण हुन भनियो ।

तर अवस्थित भए पनि सबैलाई पायक पर्ने ठाउँमा सञ्चालन भइरहेको सो बजार त्यहाँबाट टाढा कटहरी गाउँपालिकामा सार्न व्यापारीहरू नमानेपछि उनीहरूलाई सो ठाउँबाट हटाइयो ।

 
त्यसपछि व्यवसायीहरूले हालका मेयर नागेश कोइरालाको बसपार्क पश्चिम, विराटनगर– ११ स्थित जमिन मासिक तीनलाख रूपैयाँमा बीस वर्षका लागि भाडामा लिएर तरकारी तथा फलफूलको थोक तथा खुद्रा साथै माछाको समेत व्यापार गर्ने गरी एक सयवटा पसल कबलहरू निर्माण गरी नयाँ गुद्री बजार स्थापना गरे ।

हाल विराटनगर महानगरको प्रमुख तरकारी बजार बनेको नयाँ गुद्रीमा दैनिक आठ–दश ट्रक तरकारी ल्याइन्छ । साना ठूला विभिन्न साइजको कोठा रहेको यस बजारमा मासिक  तीन हजारदेखि आठ हजार रुपैयाँसम्म  भाडा रहेको छ ।

नयाँ गुद्री तरकारी बजारमा खुद्रा पसलका लागि दुई व्लक, थोक पसलका लागि छुट्टै व्लक र माछा पसलका लागि छुट्टै ठाउँ बनाइएको छ ।

खुद्रा पसलहरू रहेको ब्लकमा ग्राहक हिड्ने बाटोमा सिमेन्टको ढलाइ गरिएको छ भने त्यहाँ टिनको छाना पनि लगाइएको छ ।

बाँकी अन्य ठाउँमा भने छाना नलगाएर खुल्ला राखिएको छ, हिड्ने भुईंमा पनि बाटो, पेटी कुनै पनि पक्की संरचना बनाइएको छैन जसले गर्दा पानी परेको बेला नगरवासी तरकारी लिन बजारमा नगइ घँुइचो भएको खेतवारीमै तरकारी लिन गएको जस्तो अनुभूति हुने गजगज हिलो हुने गर्दछ ।

यस नयाँ गुद्रीमा व्यवस्थित पार्किङको सुविधा उपलब्ध छैन ।

साथै हाल शौचालयसमेत नभएका कारण तरकारी लिएर आउने गाडीका कर्मचारी, मजदुरलगायत अन्य व्यक्तिहरू समेत यत्रतत्र पर्खालहरूका साथै दक्षिणपट्टि रहेको महानगर प्रमुख नागेश कोइरालाको आँप बगैंचामा घेरिएको तारवारतिर खुल्ला शौच गर्दै गरेको देखिन्छ ।

यस सम्बन्धमा व्यापारी पशुपति भगतसँग बुझ्दा स्नानगृह समेतगरी १६ कोठे पक्की शौचालय निर्माण गरिएको र छिटै सञ्चालनमा आउने जानकारी पाए ।

टिस्टुङ, पालुङ, इलाम, फिदिम, सुनसरी, धनकुटाका साथै भारतबाट समेत गरी दिनहुँ आठ–दशवटा ट्रकमा झण्डै तीनसय मेट्रिक टन तरकारी आयात हुने, दिनमा एक करोड रूपैयाँ बराबरको लगभग कारोबार हुने यस नयाँ गुद्री बजार सरकारी स्तरबाट सञ्चालन भएको नभई निजी क्षेत्रबाट सञ्चालन भइरहेको महानगरपालिकाको प्रमुख तरकारी बजार हो ।

सफा सुग्घर र व्यवस्थित हुन नसकी यहाँ आवश्यक सुविधासमेत उपलब्ध नहुनु महानगरवासीको दुर्भाग्य हो ।

त्यसैगरी पुरानो गुद्री बजारमा नगर प्रहरीले बेलाबेलामा व्यवस्थित गर्न खोजे पनि व्यापारीहरूले अव्यवस्थित तरकारीले बाटो ढाकेर तरकारी बेच्ने गरेको र बाटोमै मोटरसाइकल, सिटी रिक्सा पार्क गर्ने गरेकाले अन्य सवारीसाधन तथा पैदलयात्री समेतलाई हुने असुविधा देख्दा महानगर भन्ने शब्दलाई विराटनगरले ब्यङ्ग्य गरिरहेको जस्तो देखिन्छ ।


विराटनगरलाई नामको मात्र महानगर नबनाएर साँच्चिकै सुविधासम्पन्न महानगर बनाउने हो भने धेरै कुराहरूमा सुधार गर्नु पर्ने हुन्छ ।

जसमध्ये सुविधा सम्पन्न तरकारी बजार पनि एक हो ।

विभिन्न ठाउँहरूमा लाग्ने साप्ताहिक हाट बजारलाई सफा, व्यवस्थित बनाउनु पर्छ ।

त्यहाँ आयातीत तरकारीहरू नराखेर साना किसानहरूले गरेका उत्पादन सिधै उपभोक्ताले किन्न पाउने हुनु पर्छ । 
स्थानीय सरकारले कृषि प्राविधिक खटाएर कृषकहरूको लागत राखी विषादी आदि जाँच गर्ने, उत्पादन वृद्धि गर्न सरसल्लाह तथा अरु काममा मद्दत गर्ने ।

साथै अन्य आम मानिसहरूले समेत आफ्नो करेसाबारीमा, कौशी खेती वा  छत खेती गरी उत्पादन गरेको तरकारी समेत आफूलाइ धेरै भएजति बिक्री गर्न चाहेमा त्यसको वातावरण बनाइदिनु पर्छ ।

महानगर क्षेत्रभरि अझै तीन– चार ठाउँमा जनसंख्या अनुसार पायक पर्ने ठाउँमा सुविधा सम्पन्न तरकारी बजार निर्माण गर्नु पर्दछ । 


कटहरीमा बनाए जस्तो हचुवाको भरमा पैसा खर्च गर्ने मात्र उद्देश्य राखेर प्रयोगमा आउन नसक्ने ‘अन्तराष्ट्रिय स्तरको’, ‘अत्याधुनिक’ र ‘स्मार्ट’ काम गर्न अब बन्द गर्नु गराउनु पर्छ ।

यसमा महानगरवासी आफै सचेत हुन आवश्यक छ ।

विराटनगरलाई साँच्चिकै महानगर बनाउनु पर्छ, नामको मात्र होइन ।

View : 113

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved