Biratnagar, Morang, Nepal
२६ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा पाँच युवति पक्राउ

उद्‌घोष संवाददाता
२६ कार्तिक २०८३, बिहिवार

Advertisement

विराटनगर । तिहारको देउसी–भैलो खेल्ने क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले पाँच जना युवतिहरूलाई पक्राउ गरेको छ ।

मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकता प्रतिकूल हुने गरी देउसी–भैलो खेलेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलावार बजारबाट दुई जना महिला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बुधबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–७ बसेनीकी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २९ वर्षीया प्राप्ती बस्नेत रहेका छन् ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–७ स्थित कञ्चनबजारबाट थप तीन जना युवतीलाई पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सल्यानको कपुरकोट गाउँपालिका–१ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया बिपना मगरलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीले पाँचै जनामाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत देउसी–भैलो कार्यक्रम नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्ने उद्देश्यले मनाउनुपर्नेमा त्यस विपरीत स्वेच्छाचारी तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गर्ने कार्य नगर्न आग्रह गरेको छ ।

यस्ता गतिविधि प्रचलित कानुनबमोजिम भएको भन्दै सामाजिक मर्यादा र नैतिकता कायम राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

View : 28

२६ कार्तिक २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved