विराटनगर । मोरङको उर्लाबारीबाट शंकास्पद बिलबिजक भएको १३ हजार किलोभन्दा बढी जिंक एश लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर मोरङको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
उर्लाबारीस्थित चाइनिज कोभेक-ग्रिज-टुन्डी जेभी कम्पनीबाट १३ हजार ९० किलो जिंक एश लोड गरी सर्लाहीतर्फ जाँदै गरेको ना.६ ख १३४८ नम्बरको ट्रक जाँच गर्ने क्रममा बिलबिजकमा कैफियत भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिलमा उल्लेख गरिएको सामानको मूल्याङ्कनमा १४ लाख रुपैयाँ बराबरको फरक देखिएको थियो ।
यस्तै, सामानको ढुवानीकर्ता र क्रेताको विवरणसमेत फरक–फरक पाइएपछि राजस्व छली भएको हुन सक्ने आशंकामा ट्रक नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र त्यसमा लोड गरिएको जिंक एश सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मोरङमा राखिएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 31
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved