Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पोखरिया माविमा भर्ना हुन विद्यार्थीको ओइरो

६४५ जनाको सिटमा दुई हजार चार सय बढीले दिए प्रवेश परीक्षा

उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

विराटनगर । नेपालकै उत्कृष्ट विद्यालयका रुपमा परिचय बनाएको विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन यस बर्ष पनि प्रवेश परीक्षा दिने विद्यार्थीहरुको ओइरो देखियो । पोखरियामा कोशी प्रदेशबाहिर मधेस प्रदेशका समेत विद्यार्थीहरु भर्नाका लागि प्रवेश परीक्षा दिन ठुलो संख्यामा उपस्थित भएका हुन् ।

सिराहाको लहानका रुपेशकुमार यादवले कक्षा ९ मा आफ्नो सन्तानलाई भर्ना गर्न प्रवेश परीक्षामा सहभागी गराउन लिएर आएको बताए । उनले पोखरिया मावि उत्कृष्ट रहेको चर्चा सिरहामा समेत सुनेका कारण प्रवेश परीक्षामा सन्तान लिएर आएको सुनाए । 

धनकुटाको निजामति आवासीय विद्यालयमा कक्षा ८ को परीक्षा दिएकी भोजपुरको षडानन्द नगरपालिकाकी एसुविना कार्कीले आफू पोखरियामा भर्ना भएर पढ्ने उद्देश्यले अभिभावककै सल्लाह अनुसार आएको बताइन् ।

सामुदायिक विद्यालयकै शिक्षिका समेत रहेकी बबिता कटुवालले छोरीलाई प्रवेश परीक्षामा सहभागी गराउन लिएर आएको बताइन् । बर्सेनि उत्कृष्ट नजिता निकाल्ने गरेको पोखरिया माविले आउँदो शैक्षिक सत्र २०८१ का लागि कक्षा १ देखि ९ सम्म ६४५ जना नयाँ विद्यार्थीको भर्ना गर्ने उद्देश्यले प्रवेश परीक्षा गराएको हो । उक्त सिटमा तीन गुणा बढी दुई हजार ४३१ जनाले प्रवेश परीक्षा दिएको जनाइएको छ ।

सोमबार कक्षा ६ देखि ९ सम्म ३७१ जनाको सिटमा प्रवेश परीक्षा लिइएको हो । मंगलबार कक्षा १ देखि ५ सम्म र प्राविधिक धारको कक्षा ९ का लागि २७४ सिटमा परीक्षा हुने विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए । 

उनले कक्षा १ मा ३० जनाको सिटमा ५०, कक्षा २ मा १० जनाको सिटमा ५९, कक्षा ३ मा ४५ जनाको सिटमा ७४, कक्षा ४ मा ४० जनाको सिटका लागि १३१, कक्षा ५ मा ७१ सिटका लागि २२१ जनाले फारम भरेको बताए । 

त्यसैगरी सोमबार भएको परीक्षामा कक्षा ६ को १२२ सिटका लागि ४१९, कक्षामा ७ मा ६४ सिटका लागि ४७६, कक्षा ८ मा १५० सिटका लागि ५३६, कक्षा ९ मा ६५ सिटका लागि ३७४ र कक्षा ९ को प्राविधिकतर्फ ४८ जनाको सिटमा ९१ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएको उनले बताए । प्रअ भट्टराईले विद्यालयमा हरेक वर्ष प्रवेश परीक्षाका लागि आवेदन दिने विद्यार्थी संख्या बढिरहेको जानकारी दिए । 

उनका लागि शैक्षिक शत्र २०७९ मा १ हजार ८ सय र शैक्षिक शत्र २०८० मा २ हजार १ सय विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएका हुन् । सवैको सहयोग भए सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालय सरह नै गुणस्तरीय शिक्षाको थलो बनाउन सकिने उदाहरण पोखरिया मावि बनेको उनले दाबी गरे ।

‘दक्ष अनुभवी शिक्षक, राजनीतिरहित विद्यालय व्यवस्थापन समिति र अन्य व्यवस्थापनको पक्ष चुस्त दुरुस्त बनाएर सामुदायिक विद्यालयलाई अघि बढाउन सकिन्छ’ उनले भने, ‘पछिल्लो समयमा विराटनगरमा अन्य विद्यालयहरुले पनि राम्रो व्यवस्थापन गर्दै आएका छन्, यसले सरकारी विद्यालयको शिक्षाप्रति विश्वास पनि बढाउँदै लगेको छ, राज्यको लगानी खेर जान नदिन सवैको सहयोग आवश्यक  छ ।’

View : 1596

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved