Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

उद्‌घोष संवाददाता
२० वैशाख २०८२, शनिवार

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा विराटनगरमा भएको तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।

लगातार तीन पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो उपाधि हो । पुलिस यसअघिका दुई संस्करणमा दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित भएको थियो ।  

पुलिसले उपाधि जित्दा आर्मीको ह्याट्रिक गर्ने सपनामा ब्रेक लागेको छ । जितसँगै पुलिसले नगद ४ लाख र ट्रफी र उपविजेता आर्मीले नगद २ लाख र ट्रफी हात पारेको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो । 

पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाई २ सय १५ रन मात्र बनाउन सक्यो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए । उनले नगद २५ हजार र ट्रफी हात पारे । त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए । उनीहरूले जनही नगद १५–१५ हजार र ट्रफी हात पारे ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत टमाटा, जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोषलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । 

प्रतियोगितामा भारतको असम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी थिए ।

View : 700

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved