२१ फागुन ०८२ को चुनावी दौरानमा राजनीतिक विश्लेषकहरु भन्दै थिए एमाले पहिलो पार्टी बन्छ तर चुनावी नतिजाले एमालेको सांगठनिक जीवनमा सर्मनाक पराजय पस्किदियो । नेकपा एमाले अहिले त्यही अप्रत्यासित नतिजाको कारण खोज्ने क्रममा छ ।
सचिवालय बैठकबाट सुरु भएको यो क्रम प्रदेश, जिल्ला र पालिका कमिटीका समीक्षा प्रतिवेदनहरु अध्ययन, संयोजनका साथै गहन विश्लेषणसहित आगामी केन्द्रीय कमिटीको बैठकले यसलाई निष्कर्षमा पु¥याउँछ भन्ने कुरा एमालेका प्रतिवद्ध, इमान्दार, लगनशील तथा धैर्यवान कार्यकर्तालाई जानकारी नभएको विषय होइन ।
चुनाव हारेपछिका एमाले नेता कार्यकर्ताको अनौपचारिक अभिव्यक्ति र सामाजिक सञ्जालमा पोखिएको गुनासो हेर्दा यसको दोष अध्यक्ष ओलीको टाउकोमा हालेर आफूलाई चोख्याउने दिशा उन्मुख कसरततिर बढी ढल्किएको देखिन्छ । कद हेरी भाग लगाउँदा त अध्यक्षको हैसियतले ओलीको भागमा अवश्य बढी पर्ला तर भाग त कम बेसी तपाईँ हामी सवैलाई लाग्छ नि ! यो विषय अहिले एमाले पङ्क्तिभित्र तीव्र बहसमा पनि छ तर ओलीलाई अध्यक्षबाट हटाएपछि एमाले पूर्ववतः अवस्थामा फर्किएला त ? यसलाई प्रमाणित गर्न पाँच वर्ष नै कुर्नु पर्ने हो कि स्थानीय निर्वाचनसम्मको समय नै काफी हुन्छ ?
समीक्षा सँगसँगै चलेको पार्टी जागरण अभियान सही सलामत अगाडि बढ्यो भने यो पनि अड्कल्न सकिएला । बहुदलीय व्यवस्था रहुञ्जेल पार्टीहरु गठन विघटन हुने र चुनावको हार, जित प्रक्रिया पनि रहिरहन्छ ।
छाती चर्कियोस् कि मन अमिलो होस् भवितव्य नलागे पाँच वर्ष त पर्खिनै पर्छ । पार्टीका बहुमत पार्टी कमिटी र संगठित सदस्यलाई ओली बोझ नै लागेको हो भने किन बोक्नु पर्यो र ? धैर्यता सकिएको छैन भने आफैंले बनाएको विधि, विधान पनि हेर्नु पर्ला नि !
चुनाव हारेको चिन्ताले हाम्रो लामो समय खायो । एमालेको एउटा धार अझै नेकपासँग पार्टी एकता गर्ने कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा ल्याउने जस्ता अलमलमा रुमलिंदै गएको सुनिन्छ । माकुनेबाहेक नेकपाका नेता कार्यकर्ता पनि यो हतारोमै देखिन्छन् । तर, यो थप अल्झाउने खेल मात्र बन्छ ।
निर्वाचनको पराजयमा चित्त बुझेन भने एक पटक यो ऐनातिर फर्किने हो कि ? ०८२ भदौ २३ गते जेन्जीको व्यानरमा भएको आन्दोलन हाइज्याक गर्ने पक्षले ढाल बनाएका १९ जना विद्यार्थी मारिएपछि नयाँ भनिएका रास्वपा लगायतबाट नेकपा एमालेलाई हत्यारा पार्टी चित्रण गरिंंदा पार्टी नेता कार्यकर्ता सबै रक्षात्मक भएका थिए । सांगठनिक शक्तिमा संख्यात्मक तथा भावनात्मक ह्रास आएको थियो । पार्टी कार्यालयहरु खरानी भएका थिए । त्यसैबेला दशैं र तिहार जस्ता अति महत्वपूर्ण र खर्चिला चाड पर्व टार्नु पर्यो । सयौ नेता कार्यकर्ता घरवारविहीन भएको बेला चुनाव स्वीकार गर्नु पार्टीको भुल पो थियो कि ?
पार्टी अध्यक्षले नेतृत्व गरेको सरकार जवरजस्ती लखेटिएको त्यो अवस्था अत्यन्तै जटिल थियो । नेता कार्यकर्ता लगायत प्रदेश र स्थानीय तहका सरकारसमेत चौतर्फी घेरावन्दीमा थिए । पार्टीका समर्थक, शुभचिन्तक समेतले एमालेको पक्षमा खुलेर सत्य बोल्न सक्ने स्थिति थिएन ।
पटक पटक केन्द्रीय र स्थानीय सत्तामा रहेका नेता सम्बन्धित अन्तरपार्टी वा जनसरोकारका बगे्रल्ती गुनासो तथा अन्तर विरोधको सम्वोधन गरिएन । त्यस्तो प्रतिकूल अवस्थामा पनि महेश बस्नेत लगायतका युवाहरुको सक्रियतामा पार्टीलाई कोमाबाट बाहिर निकाले । त्यही जोशले पार्टी बँचाउने अभियान पालिका वडासम्म पुग्यो र खरानी भएका पार्टी कार्यालयहरु पूर्ववत अवस्थामा फर्काइयो । त्यही ऊर्जाले नेताहरुलाई चुनावमा जान हौस्यायो पनि ।
चुनाव जित्नका लागि चाहिने सातु सामल जुटाउन सिंगो पार्टी पंक्ति रोगी मानसिकताले थलिएको बेला कांग्रेस र नेकपा चुनावमा जाने भए । परिस्थिति विश्लेषण नगरी उनीहरुसँगै एमालेलाई घिस्रिन कर त थिएन नि । पार्टीले चुनावमा भाग नलिने भनेको भए कि चुनाव हुँदैनथ्यो, कि अन्तर्राष्ट्रिय मान्यता विपरीत हुन्थ्यो । साथमा स्यालको खजाना नभएको बेला बाघ मार्न कस्सिएका हामी वैदेशिक हस्तक्षेप र एलगोरिदमको बाढीमा फँस्यौं । हाम्रा कार्यकर्ता खुलेर प्रचारमा जाने अवस्था नै थिएन । गाउँभित्र पसेर प्रचार गर्न सकिएन । शहर बजारमा निकालेको झिनो, मसिनो जुलुसले सामाजिक सञ्जालको कुप्रचार चिर्नै सकेन ।
मेरो विचारमा अति महत्वपूर्ण अर्को कुरा के हो भने भदौ २३ गते सुधन गुरुङ्गको डिजाइनमा ‘टीओबी’ लगायतका समूहले राज्यलाई नियोजित नरसंहारमा धकेलेर सत्ता कब्जा गर्ने योजना बनाएको सूचना सरकारले नपाउनु पार्टीका लागि दुर्भाग्य बन्यो ।
२३ गतेको घटना शासकबाहेक अरुले सहन सक्ने पनि थिएन । अझ त्यसलाई एमालेइतर समूहले भावुकताको मेसिनमा पगालेर हत्यारा सावित गर्ने बाढी चलाए । त्यसको प्रतिकारका नाममा २४ गते रास्वपाकै नेताहरुको नेतृत्वमा देशैभरि आगजनी, तोडफोड र लुटपाट जस्ता सुनियोजित विध्वंश र जेल ब्रेक गरियो । नेपालको इतिहासमा यो सानो घटना होइन ।
जननिर्वाचित प्रधानमन्त्रीलाई अपहरण गरी २७ घण्टामा सत्ता कब्जा गर्ने शक्ति र घटनाका बारेमा सत्तासीन कम्युनिष्ट पार्टीका नेताहरुले देशबासीलाई औपचारिक जानकारी मार्फत सुसूचित गर्नु पथ्यो नि † किन गरिएन ?
त्यसबेला जताततै सुनिन्थ्यो, प्रधानमन्त्री सेनाको सुरक्षामा हुनुहुन्छ । त्यो कुरा सत्य हो भने उहाँको मोवाइल सेनाले किन १० दिनसम्म नियन्त्रणमा लियो ? यसले प्रधानमन्त्री अपहरित भएको शंका गर्न पाइएला नि ! जवरजस्ती राजिनामा गराएको कुराले अपहरण पुष्टि हुँदैन र ? सरकार स्वयं आफ्नै सूचना र सुरक्षा संयन्त्रको नाकाबन्दीमा परेर अपदस्त हुँदासमेत पार्टीले तत्काल उक्त घटनाको प्रतिकार गर्न पनि सकेन र पार्टीको रक्षार्थ बोल्ने हिम्मतसमेत गुमायो । त्यो समयमा किन स्वर खासियो कमरेड ? तपाईंहरुले दबाएका र कुबेलामा बोलेको रुखो बचन पनि पार्टी हारको कारण हो ।
जेन्जी प्रदर्शनको अघिल्लो दिन डिस्कोर्टमार्फत सार्वजनिक भएको पूर्वतयारीले भदौ २३ र २४ को सुनियोजित घटना थियो भन्ने उजागर भइसकेको छ । जे जस्तो भए पनि अहिले कार्की आयोग र मानव अधिकार आयोगको छानविन प्रतिवेदन सार्वजनिक भएका छन् । दुवै आयोगका प्रतिवेदनले भदौ २३ को नरसंहारलाई नै केन्द्रमा राखेको पाइयो ।
प्रतिवेदकहरुले वास्तविकता भन्दा अलि पर गएर स्वविवेक पनि प्रयोग गर्नुको पछाडि एमालेको नेतृत्वमा केपी ओली नरहुन् भन्ने मनसाय थिएन पनि कसरी भनु ?
ओली रहे वा नरहे पनि अहिले एमालेको जरामा कीरा लागेको छ । पहिले पो जरा बलियो थियो अनि टुप्पामा लागेको लाइकीरा वा झुसिले मज्जाले पालिएको थियो । नेतृत्व पुस्तान्तरण र पार्टी रुपान्तरण गर्दा पुस्तान्तरित भएर आउने नेतृत्वको इमानमा हाम्रो समीक्षाका यी कुरा नछुटुन् ।
‘केपी ओली, छुद्र वोली’ भन्नेहरु पार्टीभित्र भए जस्तै पार्टी बाहिर पनि ओलीको प्रशंसक भेटिन्छन् । समग्रमा हेर्दा ओली एउटा दह्रो राजनीतिक शक्ति भएकोले नै देश भित्रको सम्पूर्ण राजनीतिक शक्ति र बाहिरको समेत केही शक्ति लामो समयदेखि ओलीविरुद्ध केन्द्रित छ ।
ओलीलाई फाल्न डोको खोज्दै गर्दा ओलीको रुखो बोलीभित्रको त्याग, अनुभव, राष्ट्रवाद र समृद्ध नेपालको सपना चाहिँ नफालौं । पुस्तान्तरण भएर आउने पार्टी नेतृत्वले विगतको मैलो मन लिएर नआओस् । ओलीलाई फाल्ने नै हो भने त्यही पुस्ताका काका बाउहरु मूल नेतृत्वमा नभित्र्याऔं ।
तत्कालीन सरकार प्रमुख र पार्टी अध्यक्षको हैसियतले जेन्जीको ब्यानरबाट उत्पादित भदौ २३ को विद्यार्थी हत्या र २४ को देशव्यापी विध्वंंशका साथै ५४ जनाको नरसंहार बारे ओलीकै मुखबाट नेपाली जनताले सत्य कुरा सुन्न पाउन् । राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन शक्तिका डरले अहिलेसम्म यस विषयमा ओलीको सम्बोधन आएन ? सरकारलाई शुभकामना दिने सन्दर्भमा संसदीय दलको नेताका हैसियतले उपाध्यक्ष रामबहादुर थापाले संसदमा अलिकति कुरा कोट्याएका थिए । त्यसमा पार्टीभित्र आलोचनाको आगो बल्यो । सत्य बोली र व्यवहारबिना धक्का खाएको कम्युनिष्ट पार्टी उठाउन सकिएला र कमरेड !
हाम्रो इतिहासको कठघरामा उभिएको वेला हाम्रो पार्टी पनि सत्ताको पावर आक्रमणमा परेको छ । पहिले सरकारी संरचनामा काम गरेका तहगत नेताहरु सरकारको दोषी चश्माभित्र परेका छन् । नेता कार्यकर्ता लोभ्याएर हुन्छ कि धम्क्याएर हुन्छ नेकपा एमालेको संगठनिक शक्ति तहसनहस पार्न खुलेआम लागेका राष्ट्रिय तथा अन्तर्राट्रिय सकुनीहरुबाट पनि अहिले हामी घेरिएका छौं ।
यो पार्टी भत्काएपछि मात्र सबै तहका सरकार कब्जा गर्न सकिने निष्कर्षका साथ रास्वपा चितवन महाधिवेशनमा होमिएको छ । यसको पछाडि निर्विकल्प २० वर्ष एकछत्र सरकार चलाउन सके मात्र रास्वपा गठनको उद्देश्य पूरा गर्न सकिने वाणी भूराजनीतिक व्यख्याताहरुको मुखबाटै निस्किन थालेको छ । त्यसकारण विधि प्रक्रिया पुगोस् वा नपुगोस् जुनसुकै बेला नेता, कार्यकतालाई अनुसन्धानको नाममा गिरफ्तार गरी पार्टी पंक्तिमा आतंक सिर्जना गर्ने योजनामा सरकारी पक्ष सक्रिय देखिन्छ भने उसको पार्टीले स्थानीय निर्वाचनको उमेद्वारमा विज्ञापन खोलिसकेको छ ।
हामी इतिहासबाट सिकेर भविष्यको योजना बनाउने कुरामा विश्वास गर्छौ । त्यसो गर्दा हाम्रो विगत त्यति सम्झनयोग्य छैन । विधि विधान अनुरुप पार्टी चलाउनु पर्नेमा हामीले नेताको इच्छा र स्वार्थ अनुसार विधि विधान चलायौं । गुटगत नेता बनाउँदै गणेश प्रवृत्तिमा वर्षौसम्म रमायौं ।
कतिपय नेताहरु २०४८ देखि ०८२ सम्म निरन्तर सांसदका उमेद्वार बन्नुभयो । यतिसम्म कि पति, पत्नीसमेत पालैपालो वा सँगसँगै सांसद, मन्त्री बनाइयो । पार्टीमा दुवैको बराबरी त्याग र योगदान होला तर पटक पटक दोहोरिंदा समाजले पचाएन । जसले गर्दा पहिलो पुस्ता बाँचुञ्जेल, दोस्रो, तेस्रो पुस्ताको उमेर सकिएला तर पालो नआउने स्थिति बन्यो ।
राज्य सत्तामा मात्र होइन पार्टी सत्ताको हालत पनि झण्डै उस्तै रह्यो । एउटा गुटले अर्को गुट सिध्याउने, घात, अन्तर्घात गरेर सकेसम्म पछार्नेहरुलाई नै सफाइका पुष्पगुच्छा पहिर्याउने पनि हामी अनि पार्र्टीमा वर्षौ त्याग गर्नेलाई छिमलेर चुनावको मुखैमा अन्य दलका अवसरवादीहरु भित्र्याउँदै उमेद्वार बनाउने हामीले नै । पराजयमा खल्लो मानेर भो त ?
पुस्तान्तरित नेतृत्वले पार्टीमा उम्रिएका सबैखाले विकृति वा ऐजेरु उखेलेर देशभक्त, न्यायप्रेमी तथा भुइँ मानवको लागि पत्यारिलो र साहसी कम्युनिष्ट पार्टीको खाँचो पूरा गरोस् । शुभकामना ।
View : 88
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved