Biratnagar, Morang, Nepal
१३ असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दोस्रो सामूहिक विवाहको तयारीमा माहेश्वरी महिला मञ्च

१३ असार २०८३, शनिवार

माहेश्वरी महिला मञ्चले यसअघि पहिलो पटक आयोजना गरेको सामूहिक विवाहका जोडीहरू ।

Advertisement

विराटनगर । माहेश्वरी महिला मञ्चको आयोजनामा असार १५ गते सोमबार विराटनगरमा सामूहिक विवाह कार्यक्रम हुने भएको छ । आर्थिक रूपमा अति विपन्न परिवारलाई लक्षित गरिएको सामूहिक विवाहमा ११ जोडी हुने आयोजक माहेश्वरी महिला मञ्च विराटनगरले जनाएको छ । 

विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा बिहान ११ः१५ बजे हुने कार्यक्रममा अभिभावक, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको उपस्थितिमा विवाह सम्पन्न गराइने मञ्चकी अध्यक्ष ललिता जाजूले जानकारी दिइन् । उनका अनुसार स्थानीय तहका जनप्रतिनिधि तथा अभिभावकसँगको समन्वयमा वास्तविक विपन्न परिवारका ११ जोडी छनोट गरिएको छ ।

उक्त वैवाहिक कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ । माहेश्वरी महिला मञ्चले दोस्रो पटक सामूहिक विवाह कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम सम्पन्न गर्न मञ्चले शीतल बाहेती संयोजक र अर्चना तापडियालाई सह-संयोजक बनाएको छ । सामूहिक विवाहमार्फत आर्थिक रूपमा कमजोर परिवारलाई विवाह खर्चको बोझबाट राहत पुग्नुका साथै सामाजिक सद्भाव र सहयोगको भावना अभिवृद्धि हुने मञ्चकी अध्यक्ष जाजूले बताइन् । 

यसअघि मञ्चले पहिलो पटक गत २०८१ बैशाख ६ गते अतिथि सदनमै १५ जोडी अति विपन्न परिवारका युवायुवतीको सामूहिक विवाह गराएको थियो । त्यस कार्यक्रममा मोरङ र झापाका आदिवासी समुदायसहित विभिन्न विपन्न परिवारका जोडीहरू सहभागी भएका थिए ।

माहेश्वरी महिला मञ्चले सामूहिक विवाहसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको छ । मञ्चले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, महिलाको क्षमता अभिवृद्धिसम्बन्धी सचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, रक्तदान, न्यानो कपडा तथा खाद्यान्न वितरण, महिला सशक्तीकरणका अभियानलगायतका गतिविधिमा सक्रिय भूमिका खेल्दै आएको छ ।

साथै, विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा किशोरीहरूका लागि आत्मरक्षा(सेल्फ डिफेन्स) तालिम सञ्चालन गरेर उनीहरूमा आत्मविश्वास र सुरक्षा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमसमेत गरिसकेको छ ।

View : 524

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved