विराटनगरको रानीस्थित नेपाल-भारत सीमा बोर्डर । तस्वीर : उद्घोष
विराटनगर । मोरङको बुढीगंगा–१ का लिलाप्रसाद भण्डारी केही दिनअघि घरायसी सामान किन्न भारतको जोगबनी पुगेका थिए ।
मरमसला, बिस्कुट, साबुन लगायतका सामानसँगै उनले तीन केजी चिनी पनि किने । नेपाल फर्किने क्रममा सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनको झोला जाँच ग¥यो ।
अन्य सामान ल्याउन दिइयो तर चिनी भने रोकियो । अन्ततः उनले किनेको चिनी त्यहीँ छाडेर फर्किनुपर्यो ।
‘मलाई त बूढो मान्छे भनेर फर्काउन दिए, अरूको त झोला खोलेर चिनी बाटोमै छरिदिएको पनि देखियो,’ भण्डारीले भने ।
जोगबनीसँग सीमाना जोडिएको विराटनगर–१५ का वडाध्यक्ष प्रकाश शाहका अनुसार हिजोआज भारतीय पक्षले चिनीमाथि असाधारण कडाइ गरेको छ ।
‘अहिले भारतीय एसएसबीले एक गेडा चिनी पनि नेपाल ल्याउन दिंदैन । सीमामा चिनी देख्नासाथ रोक्ने गरेको छ,’ शाह भन्छन् । उनका अनुसार जोगबनी बजारमा किनमेल गर्न जाने नेपालीहरू दैनिकजसो यस्तो समस्यामा परिरहेका छन् ।
सीमामा देखिएको यो घटना सामान्य देखिए पनि यसको पछाडि भारतको खाद्य सुरक्षा नीति, चिनी उत्पादनमा आएको संकट, नेपाल–भारत खुला सीमाको जटिलता र नेपाल सरकारले हालै लागू गर्न खोजेको भन्सार व्यवस्थासम्मका अनेक पक्ष जोडिएको बताइन्छ ।
भारत विश्वकै प्रमुख चिनी उत्पादकमध्ये एक भएर पनि यस वर्ष उखु उत्पादनमा भएको कमीका कारण आफै चिनीको संकट झेल्दैछ । नेपालमा खपत हुने चिनीको ठूलो हिस्सा भारतबाटै आउने गरेको छ ।
यही पृष्ठभूमिमा भारत सरकारले १३ मे २०२६ देखि चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । निर्णयअनुसार कच्चा, सेतो तथा प्रशोधित सबै प्रकारका चिनीको निर्यात अस्थायी रूपमा रोकियो ।
भारत सरकारले यो कदम घरेलु बजारमा चिनीको मूल्य नियन्त्रण गर्न, पर्याप्त मौज्दात सुरक्षित राख्न र सम्भावित अभावको जोखिम कम गर्न चालेको बताएको छ ।
भारतभित्र चिनीको माग निरन्तर बढिरहेका बेला उत्पादनमा दबाब देखिएपछि सरकारले निर्यात नियन्त्रणलाई आवश्यक ठानेको थियो । यसले नेपालसहित भारतबाट चिनी आयात गर्ने मुलुकहरूमा प्रत्यक्ष असर पार्यो ।
औपचारिक माध्यमबाट चिनी निर्यात गर्न बन्द गरेको भारतले अब अनौपचारिक च्यानलबाट पनि एक केजी चिनी बाहिरिन नदिने नीति लिएको देखिन्छ ।
भारतले थोरै–थोरै परिमाणमा भए पनि ठूलो मात्रामा चिनी बाहिरिन सक्ने अनुमान गरेर चिनीमा कडाइ गरेको हो वा दुई देशको कूटनीतिमा कुनै ट्विस्ट आएको हो ? यसले केही आशंका भने उब्जाएको छ ।
सीमावर्ती क्षेत्रका स्थानीयका अनुसार कारण प्रष्ट नखुलाई एसएसबीले व्यक्तिगत प्रयोजनका लागि ल्याइने चिनी रोक्न थालेको छ ।
जोगबनी, फारबिसगञ्ज, अररिया र अन्य सीमावर्ती भारतीय बजारबाट फर्किने नेपालीहरू अहिले चिनी बोकेर आउन सकिरहेका छैनन् ।
वडाध्यक्ष शाहका अनुसार पहिले यस्ता वस्तुहरूमा त्यति कडाइ थिएन । ‘पहिले एक–दुई किलो चिनी, तेल वा अन्य सामान ल्याउँदा समस्या हुँदैनथ्यो । अहिले भारतले चिनीलाई संवेदनशील वस्तुको सूचीमा राखेजस्तो व्यवहार गरेको छ,’ उनले भने ।
भारतीय एसएसबीले सामान्य उपभोक्ताले ल्याएको एकाध किलो चिनीसमेत किन रोक्न थाल्यो ? यो केवल भारतको चिनी निर्यात नियन्त्रणको परिणाम हो कि नेपाल–भारत सम्बन्धमा देखिएको पछिल्लो असहजताको कुनै संकेत पनि ?
यसको स्पष्ट उत्तर दुवै देशका सरकारी निकायले अहिलेसम्म दिएका छैनन् । भारतले औपचारिक रूपमा चिनी निर्यात नियन्त्रणलाई आफ्नो घरेलु बजार र खाद्य सुरक्षास“ग जोडेको छ । त्यसैले सीमामा देखिएको कडाइलाई प्रत्यक्ष रूपमा कूटनीतिक प्रतिक्रियाका रूपमा व्याख्या गर्ने आधार अहिलेसम्म नदेखिएको नेपाली पक्षको भनाइ छ ।
तर पछिल्ला केही महिनामा सीमा व्यवस्थापनसँग सम्बन्धित घटनाक्रमले भने यस्तो आशंकालाई मलजल गरेको छ । जस्तोः यस वर्ष नेपाल सरकारले भारतबाट स्थलमार्ग हुँदै आउने यात्रुले ल्याउने सामानमा १०० रुपैयाँभन्दा बढीको वस्तुमा भन्सार लाग्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न खोज्यो । सीमावर्ती क्षेत्रमा व्यापक विरोध भएपछि यो विषय अदालतसम्म पुग्यो ।
नेपाल सरकारको तर्क थियो कि खुला सीमाको दुरुपयोग गर्दै ठूलो परिमाणमा सामान भित्र्याउने प्रवृत्तिले राजस्वमा क्षति पुगेको छ । यसबाट स्वदेशी उद्योग पनि प्रभावित भएका छन् । भन्सार प्रशासनले यसलाई कानुन कार्यान्वयनको विषयका रूपमा व्याख्या गर्यो ।
तर भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूमा नेपालले सीमा क्षेत्रमा कडाइ बढाएपछि भारतले पनि पारस्परिकताको आधारमा प्रतिक्रिया दिन सक्ने संकेत गरिएको थियो ।
केही भारतीय विश्लेषकहरूले खुला सीमाको पुरानो अभ्यास कमजोर हुन सक्ने टिप्पणी गरेका थिए । त्यसैको प्रतिक्रियामा भारतले चिनीमाथि पूर्ण प्रतिबन्ध लगाएको हो कि भन्ने आशंका सिर्जना भएको छ ।
यद्यपि भारत सरकारले चिनीमाथिको कडाइलाई नेपालको ‘सय रुपैयाँ नियम’ सँग जोडेर कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
फेरि यहीबीच गत जेठ अन्तिम साता संसदमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिले नेपालको संसदसमेत अवरुद्ध भयो ।
यिनै घटनाक्रमका सेरोफेरोमा पछिल्लो समय भारत नेपालतर्फ एक केजी पनि चिनी नदिने मुडमा प्रस्तुत भएको छ ।
कुनै बेला इन्धन आपूर्तिमा रोक लगाएको भारत अहिले चिनी निर्यातमा कडा रुपमा प्रस्तुत भई नेपाली भान्सा खल्लो बनाउने पक्षमा देखिन्छ ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved