Biratnagar, Morang, Nepal
२८ जेठ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

गीता मन्दिरमा पुरुषोत्तम माहात्म्य कथा : चौथो दिनमा पनि श्रद्धालुहरूको भिड, शनिबार समापन हुँदै

उद्‌घोष संवाददाता
२८ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगर–९ हटखोलास्थित प्रसिद्ध धार्मिक स्थल गीता मन्दिरमा चार दिनदेखि जारी पुरुषोत्तम माहात्म्य कथा प्रवचन कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।

अधिक मास (पुरुषोत्तम मास) को अवसरमा आयोजित धार्मिक अनुष्ठानको बिहीबार चौथो दिन पनि भक्तजनहरूको भिड लागेको हो ।

यो अनुष्ठानमा विशिष्ट विद्वान पण्डित चक्रपाणी न्यौपानेले व्यास आसनबाट कथा वाचन गर्दै आएका छन् । उनले पुरुषोत्तम महिनाको आध्यात्मिक महत्व, यस महिनामा गरिने व्रत, दान र भगवान श्रीहरिको आराधनाबाट प्राप्त हुने फलका बारेमा संगीतमय कथा वाचन गर्दै आएको जनाइएको छ । 

चौथो दिनको कथा श्रवण गर्न र विशेष आरतीमा सहभागी हुन विराटनगर तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा महिलासहितका श्रद्धालु भक्तजनको व्यापक उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा कथा वाचनका साथै विशेष भजनकीर्तन र आरतीको समेत आयोजना गरिएको थियो । उपस्थित भक्तजनहरूले पूर्ण श्रद्धा र भक्तिका साथ पूजा–आराधना र आरतीमा सहभागिता जनाएको आयोजकले जनाएको छ । 

मन्दिर व्यवस्थापन समिति तथा स्थानीय समाजका प्रबुद्ध व्यक्तित्वहरू, वरिष्ठ उद्योगी एवं समाजसेवीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई भव्य बनाएको थियो ।

केही दिनदेखि निरन्तर चलिरहेको कथा प्रवचन कार्यक्रम शनिबारसम्म संचालन हुने जनाइएको छ । 

शनिबार दिउँसो ३ बजे विशेष हवन अनुष्ठान गरी पूर्णाहुति गरिने र त्यस पश्चात प्रसाद वितरण गरिने जनाइएको छ ।

View : 47

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved