Biratnagar, Morang, Nepal
१८ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
विचार

सङ्‌गीतमा श्रुति र स्वरको उत्पत्ति र वर्गीकरण

श्रुतिपछि आउने मधुर र सुरिलो ध्वनि, जो तेलको धारा झैँ अटुट एवं गुञ्जदार छ र स्वयममा चित्ताकर्षण गर्ने क्षमता राख्छ, त्यस्तो प्रकारको आवाजलाई नै स्वर भनिन्छ । सामवेदमा उल्लेख भएका २२ वटा श्रुतिबाट बन्न आएको स्वर-रचनाअनुसार भिन्न-भिन्न नादहरूका मसिना समान गुण भएका समूह नै विभिन्न श्रुतिहरू हुन् । विभिन्न प्रकारका समान गुण भएका श्रुतिहरूको समूह नै स्वर हो र श्रुतिले नै स्वर निर्माण गर्दछ ।
शैलेन्द्र खतिवडा
१७ साउन २०८३, आइतवार

Advertisement

‘श्रूयते इति श्रुति’— कुनै पनि कुरा सुन्नु नै श्रुति हो । त्यसैले श्रुति भन्नाले कुनै पनि नादलाई सुनेर विभाजन गर्दै त्यसलाई समूहीकृत गर्नु हो ।

अर्थात्, प्रकृतिमा रहेका अनगन्ती सुरिला ध्वनिहरूको समूह, जसलाई कण, स्पर्श, मीड र सुतद्वारा जान्न सकिन्छ, यसैलाई श्रुति भनिन्छ ।

 

श्रुति शब्द संस्कृत शब्दकोशबाट लिइएको हो । यो शब्दलाई सन्धि विक्षेद गरी यसको अर्थ केलाउँदा ‘श्र’ को अर्थ सुन्नु र श्रुतिको अर्थ चाहिँ सुनेको भन्ने बुझाउँछ ।

सुनेका आवाजलाई श्रुति भनिन्छ तर सङ्गीतमा सबै सुनेका आवाजहरूलाई श्रुति भन्न मिल्दैन; किनकि श्रुति हुन सङ्गीत-उपयोगी नादयुक्त ध्वनि आवश्यक पर्छ । तसर्थ, सङ्गीत-उपयोगी नादीय ध्वनि मात्रै श्रुति हो ।

 

श्रुति, स्वरभित्र हुने मसिना स्वरभागहरू हुन्, जसका विभिन्न भागहरू मिलेर स्वरहरू बन्छन् ।

 

ती मसिना स्वरका भागहरूलाई छुट्ट्याउन सक्नु नै श्रुति मानिन्छ, अर्थात् सुन्दा स्पष्ट अन्तरमा सुनिने नादहरूको उचाइलाई नै श्रुति हो भनिन्छ ।

सामवेदमा उल्लेख भएका २२ श्रुतिहरूलाई भरतमुनिले ‘सारना चतुष्थी’ र सारङ्गदेवले २२ श्रुतिको एकसाथ साक्षात्कार गर्ने कार्यबाट श्रुतिको अर्थ र अस्तित्व प्रमाणित गरिसकेको पाइन्छ ।

 

जसअनुसार श्रुतिहरू निम्नलिखित छन्:

१. तीव्रा   २. कुमुद्वती ३. मन्दा ४. छन्दोवती ५. दयावती    ६. रजनी     ७. रक्तिका      ८. रौद्री       ९. क्रोधा      १०. वज्रिका      ११. प्रसारिणी       १२. प्रीति     १३. मार्जनी      १४. क्षिति    १५. रक्ता    १६. सन्दीपिनी   १७. अलापिनी  १८. मदन्ती

१९. रोहिणी  २०. रम्या     २१. उग्रा   २२. क्षोभिणी  । 

 

यिनै श्रुतिहरूबाट ७ शुद्ध स्वर र ५ विकृत स्वर गरी जम्मा १२ वटा स्वरहरूको समूह निर्धारण गरिएको पाइन्छ ।

यसरी ७ शुद्ध स्वर र ५ विकृत स्वर गरी जम्मा १२ वटा स्वरहरूको एक स्वर-समूह हुन्छ, जसलाई ‘सप्तक’ भनिन्छ ।

स्वरका सम्बन्धमा कुरा गर्दा सामान्यतया स्वर भन्नाले हाम्रा वरपर बोलीचालीमा आउने आवाजलाई बुझिन्छ ।

 

यसरी सामान्य बोलीमा आउने आवाजलाई सतही रूपमा स्वर भनिए तापनि यसले सङ्गीतमा स्वरको वास्तविक अर्थ पूरा गर्न सक्दैन ।

त्यसैले, स्वर भन्नाले कुनै पनि प्राणीको आवाज अर्थात् दुईवटा वस्तुबीचको द्वन्द्वबाट उत्पन्न हुने आवाज, जुन सङ्गीत-उपयोगी हुन्छ, त्यसलाई नै स्वर भनिन्छ ।

सङ्गीत पारिजातका लेखक अहोवल पण्डितले स्वरका सम्बन्धमा यसरी बताउनुभएको छ— ‘सर्पको कुण्डली श्रुति हो भने सर्प स्वर हो ।’ किनकि, जसरी कुण्डलीभित्र सर्प रहन्छ, त्यसैगरी श्रुतिभित्र स्वर रहन्छ ।

 

यसको अर्थ, श्रुतिहरूले परिवेष्टित गरेर राखेको आवाज नै स्वर हो ।

पण्डित दामोदरको सङ्गीतग्रन्थ सङ्गीत दर्पणका अनुसार— ‘स्वयं यो राजते नादः सस्वर परिकीर्तितः।’

जुन नाद आफैँमा शोभायमान छ, मधुर छ, त्यसैलाई स्वर भनिन्छ ।

सङ्गीत रत्नाकारमा सारङ्गदेव भन्नुहुन्छ— ‘श्रुत्यन्तरभावी यः स्निग्धोऽनुरणनात्मकः, स्वतो रञ्जयति श्रोतृचित्तं स स्वर उच्यते।’

 

श्रुतिपछि आउने मधुर र सुरिलो ध्वनि, जो तेलको धारा झैँ अटुट एवं गुञ्जदार छ र स्वयम्मा चित्ताकर्षण गर्ने क्षमता राख्छ, त्यस्तो प्रकारको आवाजलाई नै स्वर भनिन्छ ।

सामवेदमा उल्लेख भएका २२ वटा श्रुतिबाट बन्न आएको स्वर-रचनाअनुसार भिन्न-भिन्न नादहरूका मसिना समान गुण भएका समूह नै विभिन्न श्रुतिहरू हुन् ।

विभिन्न प्रकारका समान गुण भएका श्रुतिहरूको समूह नै स्वर हो र श्रुतिले नै स्वर निर्माण गर्दछ ।

 

स्वर कुनै खोक्रो वस्तुमा अर्को शक्तिशाली वस्तुले गर्ने दबाबपूर्ण आघातबाट आन्दोलित भई निस्कने गर्दछ ।

 

यसरी निस्किएको सङ्गीत-उपयोगी आवाज, जुन मुलायम, गुञ्जदार, गमकपूर्ण र तेलको धाराजस्तै अति लयालु रूपमा प्रवाह हुन्छ, यस्तो किसिमको आवाजलाई मात्र सङ्गीतमा स्वर भनिन्छ ।

सामवेदमा उल्लेख भएका २२ श्रुतिहरूबाट कसरी सात स्वरको उत्पत्ति भयो भन्ने सन्दर्भमा तलअनुसार जानकारी लिन सकिन्छ:

 

सात स्वरहरूको उत्पत्ति

क्र.सं. श्रुतिको नाम स्वर आन्दोलन सङ्ख्या (मध्य सप्तकमा)                     सङ्गत स्वर
तीव्रा, कुमुद्वती, मन्दा र छन्दोवती षडज (सा)                   २४०                  मयूरको स्वर
दयावती, रजनी र रक्तिका ऋषभ (रे)                 २७०                   गाईको स्वर
रौद्री वा क्रोधा गान्धार (ग)                ३०१ १४/२३                   बाख्राको स्वर
वज्रिका, प्रसारिणी, प्रीति र मार्जनी मध्यम (म)                ३२०                   कागको स्वर
क्षिति, रक्ता, सन्दीपिनी र अलापिनी पञ्चम (प)                 ३६०                    कोइलीको स्वर
मदन्ती, रोहिणी र रम्या धैवत (ध)                ४०५                    घोडाको स्वर
उग्रा र क्षोभिणी निषाद (नी)                ४३२                     हात्तीको स्वर

 

 

माथि उल्लेखित श्रुतिहरूबाट सात शुद्ध स्वरहरूको उत्पत्तिको सन्दर्भमा जानकारी प्राप्त भयो ।

अब पाँचवटा विकृत स्वरहरू कसरी निर्माण भए, यसमा कुन-कुन श्रुतिहरू लागे र ती स्वरहरू कुन-कुन स्वरका नजिक छन् भन्नेबारे जानकारी लिऔँ ।

 

बाह्र स्वरहरूको रचना

क्र.सं. श्रुतिको नाम स्वर नजिक रहेको स्वर
तीव्रा, कुमुद्वती सा (षडज) षडज
मन्दा, छन्दोवती रे (कोमल ऋषभ) षडज
दयावती, रंजनी रे (शुद्ध ऋषभ) ऋषभ
रक्तिका ग (कोमल गान्धार) ऋषभ
रौद्री, क्रोधा ग (शुद्ध गान्धार) गान्धार
वज्रिका, प्रसारिणी म (शुद्ध मध्यम) मध्यम
प्रीति, मार्जनी मे (तीव्र मध्यम) मध्यम
क्षिति, रक्ता प (पञ्चम) पञ्चम
सन्दीपिनी, अलापिनी ध (कोमल धैवत) पञ्चम
१० मदन्ती, रोहिणी ध (शुद्ध धैवत) धैवत
११ रम्या नी (कोमल निषाद) धैवत
१२ उग्रा, क्षोभिणी नी (शुद्ध निषाद) निषाद

 

माथि उल्लेखित आन्दोलन सङ्ख्या मध्य सप्तकको आन्दोलन सङ्ख्या हो ।

यसलाई मन्द्र सप्तकमा अध्ययन गर्दा मध्य सप्तकलाई दुईले भाग गरी हेर्नुपर्छ; अर्थात् मन्द्र सप्तकको दुई गुणा मध्य सप्तक हुन्छ भने मध्य सप्तकको दुई गुणा तार सप्तक हुन्छ ।

यसरी यसका आन्दोलन सङ्ख्याहरू रहेका हुन्छन् ।

  • शुद्ध स्वर: शुद्ध स्वर भन्नाले सा, रे, ग, म, प, ध, नि, जुन ४, ३, २, ४, ४, ३, २ को आधारमा जुन-जुन श्रुति मिलेर रचना हुन पुगे वा उत्पत्ति भए, त्यस स्थानबाट अलिकति पनि तल-माथि नहुने गरी स्थिर रूपमा रहेका स्वरहरूलाई शुद्ध स्वर भनिन्छ; जस्तै— सा, रे, ग, म, प, ध, नि। यी स्वरहरू न तल झरेका छन्, न माथि गएका छन् ।

यस्तो प्रकृतिका स्वरहरूलाई शुद्ध स्वर भनिन्छ । त्यसमध्ये 'सा' र 'प' चाहिँ अचल शुद्ध स्वर हुन्, जसलाई कहिल्यै पनि कोमल तथा तीव्र स्वरको रूपमा लिन सकिँदैन ।

अरू स्वर (रे, ग, म, ध, नि) चाहिँ चल शुद्ध स्वरहरू हुन् ।

 

  • विकृत स्वर: विकृत स्वर भन्नाले मुख्य स्वरबाट विचलन भई बिग्रेको स्वर भन्ने बुझिन्छ ।

तसर्थ, विकृत स्वर उत्पत्ति स्थानबाट आधा स्केल तल वा आधा स्केल माथि रहन सक्छन् । तर, स्वरको नाम चाहिँ नयाँ हुन जान्छ ।

यस्ता प्रकारका स्वरहरूलाई विकृत स्वर भनिन्छ । यी स्वरहरूका आधार स्थिर अवस्थामा रहेका स्वरहरू हुन् । विकृत स्वरहरू पनि २ प्रकारका हुन्छन्— कोमल र तीव्र विकृत ।

 

  • कोमल विकृत:  जुन स्वर आफ्नो स्थानबाट विचलन भई आधा स्केल तल झरेको छ भने, यस्ता खाले स्वरहरूलाई कोमल विकृत स्वर भनिन्छ । यी स्वरहरू निम्नलिखित हुन्: रे, ग, ध, नि

 

  • तीव्र विकृत: जुन स्वर उत्पत्ति स्थानबाट विचलन भई आधा स्केल माथि जान्छ, त्यस्तो स्वरलाई तीव्र विकृत स्वर भनिन्छ ।

स्वरहरूमध्ये यस्तो स्वर तीव्र म मात्र हुन्छ ।

 

राग गायनका आधारमा गायनमा प्रयोग हुने हिसाबले स्वरलाई विभिन्न रूपमा परिभाषित गरिन्छ :

  • वादी स्वर: गायनमा जुन स्वर अरू स्वरहरूको तुलनामा बढी प्रयोग हुन्छ र गीतभरि नै त्यस स्वरको साम्राज्य कायम हुन्छ, त्यस्तो प्रकृतिको स्वरलाई गीतको आधार स्वर अर्थात् वादी स्वर भनिन्छ ।

यसै स्वरबाट रागको गायन सुरु हुने हुनाले यसलाई ‘ग्रह स्वर’ पनि भनिन्छ ।

  • सम्वादी स्वर: गायनमा वादी स्वरका तुलनामा अलि कम प्रयोग हुने तर धेरै चोटि प्रयोग हुने सहायक स्वरलाई सम्वादी स्वर भनिन्छ ।

यस स्वरले रागको रञ्जकता ल्याउन वादी स्वरकै समान भूमिका निर्वाह गर्न सक्छ ।

 

  • अनुवादी स्वर: वादी र सम्वादी पछि रागमा निरन्तर आइरहने स्वरलाई अनुवादी स्वर भनिन्छ । जुन स्वरले रागरूपी राज्यमा प्रजाहरूको भूमिका निर्वाह गरी रागलाई सजाउन मद्दत गर्दछ ।

 

  • विवादी स्वर: राग गायनमा नियमित रूपमा प्रयोग नहुने, कहिलेकाहीँ मात्र प्रयोग गर्दा हुने र गायनमा खासै अनिवार्यता नभएको स्वरलाई विवादी स्वर भनिन्छ । यो स्वर रागको रञ्जकता बढाउन सिपवान् गायकहरूले मात्र प्रयोग गर्छन् ।

 

  • वर्ज्य स्वर: राग गायनमा जुन स्वर लाग्दा राग भद्दा हुन्छ, रागको स्वरूप बिग्रन्छ र राग भङ्ग हुन्छ, त्यस्तो प्रकृतिको स्वरलाई वर्ज्य स्वर भनिन्छ । यस्ता स्वरहरू रागमा निषेध गरिएका हुन्छन् ।

 

  • पकड: कुनै पनि मेलपूर्ण स्वर-समूह, जसले रागीय अनुभूति गराउन सक्छ, यस्तो छोटो स्वरहरूको समूह नै पकड हो ।

पकडको अर्थले के बताउँछ भने, रागका नोटहरू लिनका लागि यसको पकडमा आरम्भमा हातको अभ्यास अर्थात् स्वरको अभ्यास गर्नुपर्छ ।

जस्तै— यमन राग गाउन सर्वप्रथम ‘नि रे ग रे सा पर्म गरे निरे सा’ गाइन्छ, यो यमन रागको पकड हो ।

यो स्वर-समूहले यमन रागको अनुभूति गराउँछ । पकडहरू रागपिच्छे फरक-फरक हुने गर्दछन् । गाउने समयमा गायनको बीचमा यी पकडहरूको प्रयोग भएको पनि पाइन्छ ।

 

  • बक्र स्वर: गायनमा जुन स्वर सीधा नबगी टेडोमेडो भई बक्र (नागबेली) रूपमा बग्दछ, त्यस्तो प्रकृतिको स्वरलाई बक्र स्वर भनिन्छ । जस्तै— ‘सा रे सा म प म’ यसमा 'रे' स्वर बक्र भई बसेको पाइन्छ ।

 

स्वरका स्थानहरू

स्वरहरूलाई आवाजका आधारमा, तिनका बनावट र प्रकृति हेरी आन्दोलन-सङ्ख्याअनुसार विभिन्न स्थान निर्धारण गरिएको छ । यसरी निर्धारण गरिएका स्थानहरू निम्नलिखित छन्:

  • मन्द्र स्थान: उदर अथवा नाभी-स्थानलाई दबाब दिई निकालिने विभिन्न उचाइका नादहरू गम्भीर तथा गहकिला प्रकृतिका हुन्छन् ।

यस्ता स्वरहरूको समूहमा १२० आन्दोलन-सङ्ख्यादेखि २२६ आन्दोलन-सङ्ख्याभित्र पर्ने विभिन्न उचाइका नादहरू समावेश भएका हुन्छन् ।

यस्ता शुद्ध तथा विकृत १२ स्वरहरूको समूहलाई मन्द्र स्वर-स्थान भनिन्छ ।

 

  • मध्य स्थान: कण्ठलाई मात्र सामान्य अवस्थामा सक्रिय बनाई सरल तरिकाले निकालिने २४० आन्दोलन-सङ्ख्यादेखि ४५२ आन्दोलन-सङ्ख्याभित्रका विभिन्न उचाइका नादहरू समावेश भएका शुद्ध तथा विकृत १२ स्वरहरूको समूहलाई मध्य स्वर-स्थान भनिन्छ ।

 

  • तार स्वर-स्थान: आवाज दिँदा तार-स्थान भन्नाले जुन स्वर उच्चारण गर्दा अधिकतम तालु-स्थानमा बल पर्ने गरी उच्चारण हुन्छ,

जसको आन्दोलन-सङ्ख्या ४८० देखि ९०४ सम्म भएको हुन्छ र विभिन्न उचाइका नादहरू समावेश भएका हुन्छन्, त्यस्ता शुद्ध तथा विकृत १२ स्वरहरूको समूहलाई तार स्वर-स्थान भनिन्छ ।

यस्ता प्रकारका स्वरहरू अलि तिखा र तार प्रकृतिका हुन्छन् ।

(शैलेन्द्रखतिवडा त्रियुगा सङ्‌गीत  विद्यालय, त्रियुगा–१२ , उदयपुरका कार्यकारी निर्देशक हुन्।)

View : 69

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved