‘विवाहपछि सबै कुरा ठीक हुनेछ भन्ने विश्वास थियो ।
तर मैले कल्पना गरेको जीवन र भोगेको यथार्थबीचको खाडल यति ठूलो होला भन्ने कहिल्यै सोचेकी थिइनँ ।’
हतुवागढी गाउँपालिकाकी २१ वर्षीया समा (नाम परिवर्तन) ले मसँग पहिलोपटक मनको गाँठो फुकाउँदा व्यक्त गरेका यी शब्दहरू अझै मेरो कानमा गुञ्जिरहन्छन् ।
यो केवल एउटा प्रेम वा विवाहको कथा मात्र थिएन, एउटा संवेदनशील मन कसरी सामाजिक उपेक्षा, पारिवारिक कलह र मानसिक आघातको चक्रव्यूहमा फसेर मृत्युको किनारसम्म पुग्छ भन्ने दर्दनाक यथार्थ थियो ।
अठार वर्षको उमेरमा परिवारको इच्छाविपरीत गरेको अन्तरजातीय विवाह समाका लागि जीवनको सबैभन्दा कठिन मोड साबित भयो ।
कक्षा १२ सम्म पढेकी समाले गाडीमा सह–चालकको काम गर्ने जीवनसाथीसँग सुखी संसारको सपना देखेकी थिइन् ।
तर विवाहपछि खुल्यो, श्रीमान् कुलतमा फसेका रहेछन् । माइतीसँगको सम्बन्ध टुटिसकेकाले उनी आफ्नो पीडा कसैलाई भन्न नसकी चुपचाप आँसु पिउन बाध्य भइन् ।
छोराको जन्मपछि श्रीमान् सुध्रेलान् भन्ने आशा पनि निराशामा बदलियो ।
उल्टै परिवारले कुलतमा फसेका छोराको दोष बुहारीमाथि थोपर्दै दिनहुँ कटु वचन र अपमानको वर्षा गर्न थाल्यो ।
निरन्तरको तिरस्कार र भावनात्मक शून्यताले समालाई मानसिक रूपमा क्षतविक्षत बनाउँदै लग्यो ।
भित्रभित्रै सल्केको तनाव र छटपटी शान्त पार्ने गलत बाटो रोज्दै उनले मदिराको सहारा लिन पुगिन् ।
यसले परिवार र समुदायको नजरमा उनलाई झन् ‘अपराधी’ बनाइदियो ।
छिमेकीहरूको गालीगलौच, गाउँ निकाला गर्ने धम्की र सासू तथा छिमेकीको हातबाट भएको कुटपिटले उनको बाँच्ने चाहनालाई पूर्ण रूपमा समाप्त पारिदियो ।
अन्ततः उनले आफ्नै हात र घाँटीको नसा काटेर मृत्यु रोज्ने चरम कदम चालिन् ।
हात र घाँटीको नसा काटेर उपचारसमेत नगरी ‘घाउ सडेर मर्छु’ भन्दै बसेकी समाको खबर वडाध्यक्षमार्फत गाउँपालिकामा मनोसामाजिक परामर्शदाता समक्ष आइपुगेको थियो ।
परामर्शकर्ताको हैसियतले तत्कालै उनको घरमा पुग्दा उनको अवस्था अत्यन्तै संवेदनशील र जोखिमपूर्ण थियो ।
पहिलो भेटमा गोपनीयता र विश्वासको वातावरण सिर्जना गरेपछि मात्र उनले आफ्नो वेदना पोखिन् ।
तत्काल जनप्रतिनिधिको सहयोगमा उनलाई स्वास्थ्य संस्था पु-याएर शारीरिक घाउको उपचार गराइयो ।
त्यसपछिको यात्रा मानसिक स्वास्थ्य पुनर्स्थापनाको थियो ।
नियमित मनोसामाजिक परामर्शमार्फत हामीले समालाई तनाव व्यवस्थापन, भावनात्मक अभिव्यक्ति, समस्या समाधानका उपाय र आत्मविश्वास अभिवृद्धिका अभ्यासहरू गरायौँ ।
सँगसँगै परिवारसँग बसेर मनोशिक्षा सत्रहरू सञ्चालन गरियो, जहाँ मानसिक स्वास्थ्य समस्या कुनै नाटक वा चरित्रको दोष नभई उपचारयोग्य समस्या हो र यसमा पारिवारिक स्नेह सबैभन्दा ठूलो औषधि हुन्छ भन्ने बुझाइयो ।
साथै, समुदायस्तरमा मानसिक समस्याप्रतिको नकारात्मक धारणा र सामाजिक कलङ्क कम गर्न सचेतनामूलक छलफलहरू अगाडि बढाइए ।
नियमित परामर्श, उपचार र परिवारको बदलिँदो दृष्टिकोणले समाको जीवनमा अभूतपूर्व परिवर्तन ल्यायो ।
जो छोरालाई उनले एक समय बोझ देखेकी थिइन्, आज त्यही सन्तान उनको जीवनको सबैभन्दा ठूलो आशा बनेको छ ।
समा भन्छिन्, ‘म जिन्दगीसँग हारिसकेकी थिएँ । अहिले सम्झँदा लाग्छ, मनको घाउ शरीरको घाउभन्दा धेरै गहिरो रहेछ ।
यदि तपाईंहरू समयमै नआएको भए म आज जीवित हुने थिइनँ ।’ आज उनको परिवारमा शान्ति फर्किएको छ ।
सासूआमा बुहारीमा आएको सुधार देखेर खुसी छिन्, श्रीमान् वैदेशिक रोजगारीको प्रक्रियामा छन् भने समा आफैँ आत्मनिर्भर बन्ने अठोटका साथ अघि बढिरहेकी छन् ।
समाको यो पुनर्जीवनले मनोसामाजिक परामर्शको महत्त्वलाई उजागर गर्छ ।
मानसिक स्वास्थ्य समस्या कुनै व्यक्तिको कमजोरी होइन ।
जस्तोसुकै जटिल परिस्थितिमा पुगेको व्यक्तिलाई पनि समयमै पहिचान, परामर्श, पारिवारिक साथ र समुदायको सकारात्मक दृष्टिकोण मिल्ने हो भने मृत्युको मुखबाट फर्काएर नयाँ उद्देश्यसहितको जीवन दिन सकिन्छ ।
उचित समयमा पुग्ने एउटा संवेदनशील सहयोगले केवल एउटा व्यक्तिको प्राण मात्र होइन, सिंगो परिवार र पुस्ताको भविष्य जोगाउन सक्छ ।
(तीर्था कटुवाल भोजपुरको हतुवागढीकी मनोसामाजिक परामर्शकर्ता हुन् । )
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved