Biratnagar, Morang, Nepal
१३ कार्तिक २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

विदेशमा व्यापार बढाउँदै ‘पूर्वेली तितौरा’

उद्‌घोष संवाददाता
१३ कार्तिक २०८३, शुक्रवार

Advertisement

सुन्दरहरैँचा । छोराछोरीलाई स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले सुरु गरिएको सुनसरीको इटहरीस्थित ‘पूर्वेली तितौरा’ उद्योगले बजार विस्तार गर्दै सफलता हासिल गर्न थालेको छ ।

स्थानीय फलफूलको प्रयोग गरी उत्पादन गरिएका तितौरा अहिले अस्ट्रेलिया र हङकङसम्म पुग्न थालेका छन् । 

इटहरी उपमहानगरपालिका–४ निवासी पुष्पलाल राईले खाद्य प्रविधिसम्बन्धी आफ्नो ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै ‘खाँडादेवी फुड इन्डस्ट्रिज’ सञ्चालनमा ल्याएका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा कार्यरत राईले छोराछोरीलाई विदेश जानुभन्दा स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने उद्देश्यले पारिवारिक व्यवसाय सुरु गरेका हुन् । 

राईकी श्रीमती मन्दिरा राई तथा छोराछोरीको सक्रियतामा सञ्चालन भइरहेको उद्योगले लप्सी, इमली, कागती र अमलालगायत फलफूलबाट १२ भन्दा बढी स्वादका तितौरा उत्पादन गर्दै आएको छ । उद्योगबाट मासिक करिब ३०० किलो तितौरा उत्पादन हुने गरेको छ । यसका साथै अकबरे खुर्सानी र कागतीको अचारसमेत उत्पादन गरिन्छ ।

सुरुमा सात लाख रुपैयाँ लगानीबाट थालिएको उद्योगमा अहिले १५ देखि २० लाख रुपैयाँसम्म लगानी पुगेको छ । 

पूर्वी नेपालका विभिन्न बजार तथा किराना पसलमा बिक्री हुँदै आएको उत्पादन अनलाइनमार्फत पनि ग्राहकसम्म पुर्याइन्छ । बजारमा माग बढे पनि सोहीअनुसार उत्पादन गर्न नसकिएको सञ्चालक मन्दिरा राईले बताइन् ।

उद्योगका लागि आवश्यक लप्सी इलाम, धनकुटा र भोजपुरलगायत जिल्लाबाट खरिद गरिँदै आएको छ । उत्पादन बढाउने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित आफ्नै पाँच रोपनी जग्गामा लप्सीखेतीसमेत सुरु गरिएको छ ।

खाद्य प्रविधिसम्बन्धी ज्ञान, पारिवारिक श्रम र स्थानीय कृषि उत्पादनको उपयोगबाट सञ्चालनमा आएको ‘पूर्वेली तितौरा’ले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्नुका साथै परिवारमै रोजगारी सिर्जना गरेको छ । 

आधुनिक उपकरण थपेर उत्पादन क्षमता विस्तार गर्न सके उद्योगका उत्पादनलाई थप बजारमा पुर्याउने सम्भावना रहेको छ ।

View : 30

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved