विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिको शनिबार भएको निर्वाचनमा मोरङ जिल्ला संघबाट विधानविपरीत पठाइएका प्रतिनिधिलाई कायम गरी मतदानमा संलग्न गराएको विरोधमा निर्माण व्यवसायीले मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् ।
गैरकानुनी रुपमा पठाइएका प्रतिनिधिलाई स्थानीय प्रशासनको निर्देशनलाई समेत वेवास्ता गर्दै जबरजस्ती निर्वाचन प्रक्रियामा सहभागी गराएको विरोधमा निर्माण व्यवसायीले विरोधको यस्तो शैली अपनाएका हुन् ।
दुई वर्षको कार्यकाल रहेको निर्माण व्यवसायी संघ मोरङले चार वर्ष पुग्न लाग्दा समेत साधारणसभा र अधिवेशन नगरेपछि संघ आवद्ध निर्माण व्यवसायीहरू उक्त कार्यसमिति अवैधानिक भइसकेको जिकिर गर्दै आएका छन् । अवैधानिक भइसकेको जिल्ला संघले प्रदेश समितिको साधारणसभा र अधिवेशनमा प्रतिनिधि पठाउनु विधानविपरीत भएको जिकिर गरेका छन् ।
२०७९ पुस १७ गते महेशकुमार मिश्रको अध्यक्षतामा निर्माण व्यवसायी संघ मोरङको सर्वसम्मत कार्यसमिति चयन भएको थियो । तर त्यसयता संघको साधारणसभा र अधिवेशन हुन सकेको छैन ।
शुक्रबारदेखि सुरु भएको निर्माण व्यवसायी महासंघ कोशीको १६औं साधारणसभा तथा नवौं अधिवेशनमा २६ जना प्रतिनिधि पठाएपछि संघमै आवद्ध निर्माण व्यवसायीले विरोध जनाएका थिए ।
कोशी प्रदेश निर्माण व्यवसायी महासंघ (साविक पूर्वाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघ) को विधान, २०७३ को दफा २४ मा रहेको अयोग्यतासम्बन्धी व्यवस्था विपरीत मोरङबाट प्रतिनिधि समावेश गरेको व्यवसायीको दाबी छ ।
उक्त दफाको उपदफा (२) मा विधानबमोजिम नियमित साधारण सभा र निर्वाचन नगर्ने जिल्ला संघहरूको प्रतिनिधिहरू र सदस्यता नवीकरण नभएको कुनै पनि सदस्यको तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्तिले निर्वाचनमा मत दिन र उम्मेदवार बन्न पाउने छैन’ भनी स्पष्ट लेखिएको छ ।
कुनै पनि जिल्ला संघले आफ्नो विधानअनुसार अधिवेशन, निर्वाचन र प्रतिनिधि छनोटको वैधानिक प्रक्रिया पूरा नगरी पठाएका प्रतिनिधिलाई प्रदेश समितिको निर्वाचनमा मान्यता दिनु विधानको मर्म र संस्थागत मर्यादाविपरीत हुने निर्माण व्यवसायी राम श्रेष्ठले बताए ।
शुक्रबार सार्वजनिक भएको प्रतिनिधिहरूको नामावलीमा मोरङ जिल्ला संघबाट २६ जनाको नाम समावेश गरिएपछि विरोधमा उत्रिएका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए ।
उजुरीलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले निर्माण व्यवसायी महासंघ कोशी प्रदेश समितिलाई पत्र काटेर विधान विपरीतका प्रतिनिधिलाई समावेश गराइएको विषयमा सोही दिन कार्यालय समयभित्र जानकारी माग गरेको थियो । तर महासंघबाट प्रशासनलाई कार्यालय समयमा कुनै पनि जवाफ प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकालले जानकारी दिए ।
‘उजुरी प्राप्त भएपछि केही कुरा स्पष्ट पार्नका लागि हामीले लिखित रुपमा जवाफ माग गरेका थियौं’ अधिकृत ढकालले भने, ‘कार्यालयमा समयभित्र कुनै पनि जवाफ प्राप्त भएको जानकारी छैन ।’
मोरङ जिल्ला संघको बैधानिकतामाथि सदस्य निर्माण व्यवसायीहरू श्रेष्ठ आरके कन्स्ट्रक्सन प्रालिका रामकुमार श्रेष्ठ, रणकाली कन्स्ट्रक्सन प्रालिका पदमबहादुर श्रेष्ठ र ब्रदर्श कन्ट्रक्शन प्रालिका गणेशबहादुर कार्कीले प्रश्न उठाउँदै आएका छन् । तर नेतृत्व तहले भने निर्वाचित भएयता साधारणसभा नै नगरी आफ्नो कार्यालय अवैधानिक रुपमा लम्ब्याउँदै आएको व्यवसायी बताउँछन् ।
असन्तुष्ट सदस्यहरूले २०८३ वैशाख ३१ मै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरी जिल्ला संघले साधारणसभा तथा अधिवेशन नगरेको जानकारी गराएका थिए ।
त्यसपछि मात्रै २०८३ भदौ १७ मा २८औँ साधारणसभा गर्ने सूचना सार्वजनिक गरिएको थियो । तर, कार्यकाल नै समाप्त भएको समिति स्वतः विघठित भईसकेको जिकिर गर्दै व्यवसायीले नयाँ तदर्थ समिति बनाएर साधारणसभा गर्न माग गरेका थिए ।
वैशाख ३१ गते नै उजुरी परेको र समितिको वैधानिकतासम्बन्धी विवाद निरूपण नभएको भन्दै प्रशासनले भदौ २६ गते जिल्ला समितिलाई पत्राचार गरी उजुरीको अन्तिम किनारा नलागेसम्म साधारणसभा तथा अधिवेशन स्थगित गर्न र सोको जानकारी कार्यालयलाई गराउन पत्र पठाएको थियो ।
प्रशासनको उक्त पत्राचार हुँदाहुँदै जिल्ला संघले प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरी पठाउनु विधान विपरीतको कार्य भएको विरोधमा उत्रिएका व्यवसायी श्रेष्ठले बताए ।
View : 44
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved