विराटनगर । विदेशमा बस्ने व्यक्तिको फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्तलाई विभिन्न समस्या देखाउँदै रकम ठगी गरेको आरोपमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार फेसबुक आईडी ह्याक गरी नेपालमा रहेका आफन्त तथा चिनजानका व्यक्तिहरूसँग रकम माग्ने र विभिन्न बैंक खाताको क्यूआर कोड पठाएर पैसा जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, चुर्ना चौबेक वडा नम्बर १० स्थायी घर भई हाल विराटनगर महानगरपालिका–एयरपोर्ट मोडछेउ बस्दै आएका २६ वर्षीय ताहिर हुसेन रहेका छन् ।
त्यस्तै, भारतको बिहार प्रदेश, कटिहार जिल्ला, डाइमर टोल वडा नम्बर ४ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भनिने मो. साविदिन पक्राउ परेका छन् ।
यसैगरी, विराटनगर महानगरपालिका–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर महानगरपालिका–१ का २३ वर्षीय फैयाज खान पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठगीमा परेका पीडितबाट विभिन्न खाताहरूमा क्यूआर कोडमार्फत कुल ४ लाख ४५ हजार रुपैयाँ जम्मा गर्न लगाइएको थियो ।
घटनाबारे जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो ।
विराटनगरका विभिन्न स्थानबाट बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने घटनामा संलग्न चारैजनामाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
View : 104
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved