विराटनगर । नेपाली कांग्रेसका युवा नेता राजेश गुप्ताले पार्टीको कोशी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका गुप्ताले आगामी प्रदेश अधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।
हाल नेपाली कांग्रेस कोशी प्रदेश समितिको कोषाध्यक्ष रहेका गुप्ता पार्टीको महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका नेता हुन् ।
पार्टीका विभिन्न संगठनात्मक गतिविधि, कार्यक्रम तथा अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका उनी संगठनभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन् ।
गुप्ता प्रजातन्त्र सेनानी स्वर्गीय रघुनाथप्रसाद गुप्ताका छोरा हुन् । राजनीतिक संस्कार र लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमिबाट आएका उनले पार्टीको नीति, विचार र संगठनलाई जनतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।
उनी नेपाली कांग्रेसका हरेक गतिविधि तथा संगठनात्मक अभियानमा सक्रिय रहँदै आएका छन् ।
विशेषगरी नेपाल–भारत सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि भारतीय पक्षसँग समेत समन्वयकारी भूमिका निर्वाह गर्दै आएका गुप्ता सीमा क्षेत्रका सामाजिक तथा सुरक्षा सरोकारका विषयमा सक्रिय छन् ।
प्रदेश कोषाध्यक्षका रूपमा संगठनको आर्थिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका गुप्ताले अब महामन्त्री पदमार्फत पार्टीको संगठन विस्तार, युवा नेतृत्वको विकास, कार्यकर्ताबीच समन्वय र पार्टीलाई थप गतिशील बनाउने लक्ष्य राखेको बताएका छन् ।
प्रदेशमा दुई जना महामन्त्री रहने व्यवस्था छ ।
महामन्त्रीका लागि वर्तमान सहमहामन्त्री उदयपुरका विनोद बस्नेत, प्रदेश संसदीय दलका प्रमुख सचेतक झापाका गोपाल तामाङ, पूर्वमन्त्री एवं इलामका प्रदेशसभा सदस्य शमशेर राई, मोरङका मदन संग्रौला र सुनसरीका सुजेन्द्र तामाङले उम्मेदवारी दिने बताउँदै आएका छन् ।
View : 228
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved