Biratnagar, Morang, Nepal
१६ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

भारतबाट सयपत्री फूलको तस्करी, नेपाली किसानको मेहनत संकटमा

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेका नेपाली किसान बजारमा भारतीय फूलको अवैध प्रवेश बढेपछि चिन्तित छन् । 

स्वदेशमै व्यावसायिक फूलखेती विस्तार भइरहेका बेला भारतबाट भन्सार छलेर भित्र्याइने सस्तो फूल र मालाले नेपाली उत्पादनको बजार प्रभावित गर्ने जोखिम बढाएको छ । 

लक्ष्मीपुजा आउनु दुई साताअघि देखिनै भारतीय फूल नेपाल ल्याएर चिस्यान केन्द्रमा राख्ने गरिएको छ । यस्तो फूल र मालामा मानिसको मृत शरीर नसडोस् भनेर लगाइने रसाइनको प्रयोग हुने गरेको बताइन्छ ।

सशस्त्र प्रहरीले शनिबार मोरङ र झापाबाट ठूलो परिमाणमा सयपत्री फूल तथा माला नियन्त्रणमा लियो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङले शनिबार विराटनगर–४ स्थित राधाकृष्ण कोल्डस्टोर नजिकैबाट १२ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूलको माला बरामद गरेको हो ।

यसैगरी मोरङको बुढीगंगाबाट १३ लाख रुपैयाँ बराबरको माला सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण झापाको टोलीले शनिबार राति झापाको दमक नगरपालिका–४ बाट ११ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सयपत्री फूल बरामद गरेको थियो । 

फूलको अबैध कारोबार हुने गरेको सूचनाका आधारमा गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेत आफैं पूmल नियन्त्रणमा लिन पुगेका थिए ।

यी घटनाले तिहारको समयमा कोशी प्रदेशका बजारमा अवैध रूपमा फूल तथा माला भित्र्याउने गतिविधि भइरहेको देखाएका छन् । कोशी प्रदेशमा भारतको पश्चिम बंगाल र बिहारमा उत्पादित सयपत्री फूल भन्सार छलेर नेपाल भित्र्याउने गरिएको छ । सीमावर्ती क्षेत्रबाट भित्र्याइएका फूल र माला विराटनगरलगायतका सहरमा बिक्रीका लागि पु¥याउने गरिएको आशंका छ । 

सुरक्षा निकायले बरामद गरेका फूल तथा माला प्लान्ट क्वारेन्टाइन कार्यालयको रोहबरमा नष्ट गर्दै आएका छन् । 

भारतमा बीउ, मल र सिचाइजस्ता कृषि सामग्रीमा सरकारी अनुदान उपलब्ध हुने भएकाले त्यहाँ उत्पादित फूल तुलनात्मक रूपमा सस्तो पर्छ । नेपालमा भने पर्याप्त सरकारी सहुलियतबिना किसानले तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका छन् । 

उत्पादन लागत बढी पर्ने अवस्थामा सस्तो भारतीय फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा नेपाली किसानले उचित मूल्य पाउने सम्भावना कमजोर बन्न सक्छ । 

विराटनगरलगायत भारतीय सीमासँग जोडिएका बजारमा नेपाली उत्पादनभन्दा भारतीय फूल बढी भेटिने गरेको छ । यस्तो अवस्थाले स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्ने सरकारी नीतिको प्रभावकारितामाथि प्रश्न उठाएको छ । 

नेपालका अगुवा किसान मोरङ कटहरीका धर्मलाल सिंह नेपाली ब्यापारीको बदमासीले नेपाली किसानको मेहनत खेर जाने गरेको बताउँछन् । 

फलफूल तथा तरकारीका थोक ब्यापारीले बढी मुनाफाका लागि नेपाली किसानलाई असर पर्ने गरी भारतीय उत्पादनलाई बजारमा छिराउने गरेको उनको भनाइ छ ।

सुरक्षा निकायले अवैध फूल तथा माला बरामद गरेर नष्ट गर्नु तत्कालका लागि नियन्त्रणको एउटा उपाय हो । 

तर, हरेक तिहारमा ठूलो परिमाणमा फूल बरामद भइरहने र नेपाली किसानले बजारको चिन्ता गरिरहनुपर्ने अवस्थाले सीमा निगरानी र बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने देखाउछ ।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुमन तिम्सिना तिहारमा भारतबाट फूल र पटकाजन्य वस्तु अबैध रुपमा भित्रिने गरेकाले मातहतका सबै कार्यालयलाई निगरानीका लागि परिपत्र गरिएको बताउँछन् । निगरानी र बरामदपछि बिधिपुर्वक नष्ट गर्न सबै प्रहरी कार्यालयहरुलाई प्रदेशबाट निर्देशन भएको उनले बताए ।

सीमावर्ती नाकामा निगरानी बढाउने, अवैध ओसारपसारमा संलग्नमाथि कारबाही गर्ने र बजारमा बिक्री हुने फूलको स्रोत पहिचान गर्ने व्यवस्था प्रभावकारी बनाउनु पर्ने सरोकारवालाहरु बताउछन् । 

त्यस्तै, नेपाली किसानलाई बीउ, मल र सिचाइँमा सहुलियत, व्यावसायिक खेतीका लागि प्राविधिक सहयोग तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके मात्रै स्वदेशी फूलखेती दिगो बन्ने नेपाली किसानको भनाइ छ ।

तिहारमा नेपाली किसानले उत्पादन गरेको फूलले बजार नपाउने तर भन्सार छलेर भित्रिएको फूलले बजार पाउने अवस्था दोहोरिएमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण घट्ने उनीहरुको भनाइ छ । 

त्यसैले फूल तस्करी नियन्त्रणलाई राजस्व चुहावट रोक्ने विषयमा मात्रै सीमित नगरी स्वदेशी कृषि उत्पादन र किसानको लगानी संरक्षणसँग जोडेर हेर्न आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् ।

View : 33

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved