Biratnagar, Morang, Nepal
१९ कार्तिक २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

फूल तस्करी : सीमामा रोकिदैन, गोदाममा छापा

उद्‌घोष संवाददाता
१९ कार्तिक २०८३, बिहिवार

कानेपोखरीमा फूल नियन्त्रणमा लिदै सशस्त्र प्रहरी ।

Advertisement

विराटनगर । सीमामै कडाइ नहुँदा भारतबाट तस्करी भएर ठूलो परिमाणमा सयपत्री फूल नेपालका चिस्यान केन्द्रसम्म आइपुग्ने गरेको छ । 

सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको उपस्थिति रहे पनि भन्सार छलेर भित्र्याइएका फूल गोदाममा भण्डारण गरिसकेपछि मात्रै बरामद हुने गरेको घटनाले सीमा निगरानीमाथि प्रश्न उठाएको छ । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको तैनाथी रहेको सीमावर्ती क्षेत्रबाटै भारतीय फूल नेपाल भित्रिने तर नियन्त्रणका लागि गोदाममा छापा मार्नुपर्ने अवस्था देखिएको छ । 

यसरी भित्र्याइएका फूल तथा माला बरामद गरेपछि नष्ट गरिदा नेपाली  व्यवसायीको लाखौं रुपैयाँ बराबरको लगानीसमेत खेर जाने गरेको छ । 

बुधबार मात्रै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गण झापाको टोलीले मोरङको कानेपोखरीबाट १५ लाख ६० हजार रुपैयाँ बराबरको फूल बरामद गर्यो ।

कानेपोखरीस्थित साना किसान सहकारी संस्थाको चिस्यान केन्द्रमा भन्सार छलेर ल्याइएको फूल भण्डारण गरिएको सूचना पाएपछि गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेत आफैं टोलीसहित कारबाहीका लागि पुगेका थिए ।

तिहारलाई लक्षित गरी नेपाली किसानले सयपत्री फूलखेतीमा लाखौं रुपैयाँ लगानी गरेका छन् ।

त्यसले पनि नपुग्ने भन्दै ब्यवसायीले भारतबाट अबैध बाटोबाट पूmल भित्र्याउने गरेको सरोकारवाला बताउँछन् । 

स्वदेशमै व्यावसायिक फूलखेती विस्तार भइरहेका बेला भारतबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने फूलले नेपाली उत्पादनको बजार प्रभावित गर्ने चिन्ता बढेको छ । 

लक्ष्मीपूजाको दुई साताअघिदेखि नै भारतीय फूल नेपाल ल्याएर चिस्यान केन्द्रमा भण्डारण गर्ने र तिहारमा बिक्री गर्ने गरिएको बताइन्छ । 

सीमाको पहिलो सुरक्षा पंक्तिमा सशस्त्र प्रहरी र दोस्रो पंक्तिमा नेपाल प्रहरी परिचालित छन् । तर, सीमामै फूल रोक्न नसक्दा गोदाममा भण्डारण भइसकेपछि मात्रै कारबाही हुने गरेको छ । 

सीमामै नियन्त्रण गर्न सके नेपाली किसानले उत्पादन गरेको फूल बजारमा पुग्ने र व्यापारीको लगानीसमेत जोगिने बताइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले खुला सीमा र हाल सुख्खा यामको खेतखलियानका कारण फूलको ओसारपसार भएको  बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा खेतबारी सुक्खा भएका बेला टाउकोमा समेत फूलका पोका बोकेर ल्याउने र विभिन्न स्थानमा जम्मा गर्दै ठूलो परिमाण बनाउने गरिएको हुन सक्छ ।

खुला सीमाका सबै क्षेत्रमा २४ सै घण्टा पर्याप्त जनशक्ति परिचालन गर्न सक्ने अवस्था नरहेको कार्कीले बताए । 

सीमामै अवैध ओसारपसार भइरहेको सूचना प्राप्त भए त्यही नियन्त्रण गरिने भए पनि पछिल्लो समय भण्डारण तथा संकलन गरिएका स्थानबाट बढी सूचना आउने गरेको उनको भनाइ छ ।

स्वदेशी किसानलाई प्रोत्साहन गर्ने सशस्त्र प्रहरीको नीति रहेको उल्लेख गर्दै कार्कीले तिहारमा प्रयोग हुने भारतीय फूलको अवैध आयात नियन्त्रण गर्न कडाइ गरिएको बताए । 

तर, गोदाममा छापा मारेर फूल बरामद गर्ने कार्यले मात्रै अवैध आयात नियन्त्रण र नेपाली किसानको लगानी संरक्षण हुन सक्दैन । 

सम्भावित चोरी नाका पहिचान गरी सीमामै निगरानी बढाउने तथा भन्सार छलेर फूल भित्रयाउने ओसारपसारमा संलग्न सञ्जालसम्म पुगेर कारबाही गर्न सके मात्रै स्वदेशी उत्पादनको बजार सुरक्षित हुन सक्ने सरोकारवालाहरु बताउँछन् ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved