विचार :
राजनीतिक प्रणालीमा अध्यादेश विवादित हुनु स्वाभाविक हो । अध्यादेशमार्फत सत्ता सञ्चालन गर्नु लोकतान्त्रिक प्रणाली विपरित मानिन्छ । संसदबाट जस्तोसुकै कानुन भए पनि पारित भएमा ऐनमा परिणत हुन्छ । संसदलाई छाडेर ल्याइने अध्यादेश लोकतान्त्रिक देशमा पटक्कै सुहाउँदैन ।
परिस्थिति विशेष तथा समय र अवस्था भएको बेलामा संसदको अधिवेशन स्थगित भएको तुरून्त कानुन बनाउनुपर्ने आवश्यकता र जरूरी ठानेर सरकारले अस्थायी कानुन व्यवस्थालाई अध्यादेश भन्ने गरिन्छ ।
संसदको अधिवेशन सुरू भएको ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने अवस्था हो अन्यथा अध्यादेश स्वतः खारेज हुन्छ । संसदको अधिवेशनमा ६ महिनाभित्र पारित गर्नुपर्ने हुन्छ । संसद्ले अनुमोदन नगरेमा स्वतः खारेजी हुन्छ ।
नेपालको इतिहासमा अध्यादेश २००७ सालदेखि सुरू भएको पाइन्छ । हालसम्म ३०० बढी अध्यादेशहरू नेपाली संसदमा प्रस्तुत भएका छन् । विसं २००७ सालदेखि २०१७ सालसम्म झण्डै १० अध्यादेशहरू र दर्ता भएका थिए ।
२०१७ सालदेखि २०४६ सालसम्म झण्डै ५० अध्यादेशहरू जारी भएका थिए । त्यसैगरी २०४६ सालदेखि २०६३ सालसम्म ७० वटा जति अध्यादेशहरू ल्याइएको थियो । २०६३ सालदेखि २०७२ सालसम्म ८० भन्दा बढी अध्यादेशहरू राष्ट्रपतिबाट जारी भएका थिए । २०७२ सालदेखि हालसम्म झण्डै १०० वटा अध्यादेशहरू ल्याइएको देखिन्छ ।
अध्यादेशहरूको इतिहास हेर्दा सत्तापक्षबाट अध्यादेश ल्याइन्छ भने विपक्षी दलहरूले अध्यादेशलाई विरोध गर्ने गर्दछन् । नेपालमा विवादित र चर्चित अध्यादेशहरू मध्ये संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश नागरिकता सम्बन्धी अध्यादेश संवैधानिक निकायमा नियुक्ति सम्बन्धी अध्यादेश लगायतका छन् ।
अध्यादेशले संसद कमजोर बनाउने राजनीतिक स्वार्थका लागि अध्यादेश ल्याउने चलन प्रजातान्त्रिक पद्धति विपरित तथा आवश्यकता नभए पनि कसैको दल विभाजन गर्नुपर्ने र स्वार्थको लागि भए पनि अध्यादेश ल्याउने चलन अप्रजातान्त्रिक हो ।
इतिहास हेर्दा पटकपटक अध्यादेश ल्याएर राज्य सञ्चालन गर्ने विधि वृद्धि हुनु दुःखद विषय हो । २०४६ सालपछि सरकार अस्थिर हुँदा अध्यादेश बढी प्रयोग भएको इतिहास पाइन्छ ।
नेपालको संविधान २०७२ भाग–९ धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था छ । मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिले अध्यादेश जारी गर्ने परम्परा छ । नेपालको इतिहास हेर्दा सबैभन्दा बढी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेश ल्याइएको देखिन्छ भने सबैभन्दा कम अध्यादेश पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा ल्याएको देखिन्छ ।
त्यसैगरी मध्यममा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा अध्यादेशहरू जारी भएका हुन् । संसद स्थगित भएको भोलिपल्टै २०७७ साल वैशाख ८ गते राजनीतिक दल सम्बन्धी दल विभाजनका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुभएको थियो । सो अध्यादेश पाँच दिनपछि २०७७ साल वैशाख १३ गते निष्क्रिय गरिएको थियो ।
हुन त पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई लगायतको पालामा समेत अध्यादेशहरू ल्याइएको थियो । सरकारमा रहँदा अध्यादेश ल्याउने, विपक्षमा रहँदा अध्यादेशको विरोध गर्ने परम्परा नेपाली राजनीतिमा स्थापित भइसकेको छ ।
कुन विषय कुन उद्देश्यले के स्वार्थका लागि अध्यादेश ल्याइएको हो त्यसमा छलफल र बहस आवश्यकता छ । कसैलाई इङ्गित गरेर छोटो समयमा अध्यादेश ल्याउनु र केही समयमै अध्यादेश निस्क्रिय गर्नु भनेको चाहिं अरूलाई अप्ठ्यारोमा पार्नु हो ।
सत्ता पक्ष र विपक्षका सांसद तथा शुभेच्छुक कार्यकर्ता लगायतले अध्यादेशको पक्ष र विपक्षमा सार्वजनिक गरिएको धारणा केही सकारात्मक र केही नकारात्मक देखिएका छन् ।
अध्यादेश विषयमा सबै राजनीतिक दलहरू र तिनका नेताहरूले वैज्ञानिक व्यावहारिक तथा विश्वसनीय बहस गर्न सकिरहेका छैनन् । एक्काइसौं शताब्दीका जनताहरू शिक्षित र राजनीतिक चेतनाले विकास भएका छन् । कुन ठीक कुन बेठिक स्पष्टै उनीहरूले छुट्याउने गर्दछन् ।
केवल विरोधको लागि विरोध तथा समर्थनको लागि समर्थन अध्यादेश हुनु हुँदैन । लोक कल्याणकारी राज्य भएकाले जनताको हितलाई सर्वोपरि राखी ल्याउने सबै प्रकारका कानुन ऐनहरू राष्ट्र र जनताको हितमा हुनुपर्दछ ।
भर्खरै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ८ वटा अध्यादेशमध्ये ६ वटालाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । बाँकी दुई अध्यादेशमाथि शीतल निवासले देखाएको सुक्ष्म चासोले भने यतिबेला राजनीतिक र कानुनी वृत्तमा नयाँ बहस सिर्जना गरेको छ ।
संविधानको धारा ११४ (१) लाई टेक्दै राष्ट्रपति कार्यालयले वैशाख १७ देखि १९ गतेसम्मको जम्मा तीन दिनको अवधिमा ६ वटा अध्यादेश जारी ग¥यो । सार्वजनिक खरिद, सहकारी, सम्पत्ति शुद्धीकरणदेखि लिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी कानुन संशोधन गर्न सरकारले देखाएको तदारुकतालाई शीतल निवासले सहजै स्वीकृत ग¥यो । यसले के देखाउँछ भने, देशको नियमित र अत्यावश्यक प्रशासनिक अड्चन फुकाउने विषयमा राष्ट्रपति कार्यालय सरकारको सहयोगी बन्न तयार छ ।
तर, सरकारले सिफारिस गरेका सबै अध्यादेशले सहजै लालमोहर पाउन सकेनन् । विशेषगरी ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश’लाई राष्ट्रपतिले अध्ययनकै घेरामा राखेका छन् । विगतका सरकारहरूले पनि शक्ति सन्तुलन भत्काउने र आफ्नो अनुकूलताका लागि पटक–पटक ल्याउने प्रयास गरेको यस अध्यादेशप्रति राष्ट्रपति पौडेलले गम्भीर सतर्कता अपनाउनु स्वाभाविक हो ।
कानुनविद्हरूसँगको निरन्तर परामर्श र प्रधानमन्त्री बालेन शाहसँग थप छलफल गर्नुपर्ने निष्कर्षले राष्ट्रपति यसपटक ‘रबर स्ट्याम्प’ मात्र बन्न नचाहेको प्रस्ट संकेत दिन्छ । संवैधानिक निकायहरूमा हुने नियुक्तिमा अल्पमत र बहुमतको खेल खेल्ने परिपाटीले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने डर सधैं रहन्छ । त्यसैले, यसलाई हतारमा प्रमाणीकरण नगर्नु राष्ट्रपतिको सुझबुझपूर्ण कदम हो ।
त्यस्तै, तत्काल जारी नभएको अर्को अध्यादेश हो– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ।’ एउटै अध्यादेशमार्फत २५ भन्दा बढी कानुन संशोधन गर्ने सरकारी मनसाय आफैंमा गहन अध्ययनको विषय हो ।
संसद्लाई छलेर एकमुष्ट रूपमा दर्जनौं कानुन हेरफेर गर्दा पर्न सक्ने दीर्घकालीन प्रभाव र त्रुटिहरूलाई विचार गर्दै राष्ट्रपतिले यसलाई छलफलकै चरणमा राख्नुलाई कानुन निर्माणको परिपक्वताको रूपमा लिन सकिन्छ ।
सारमा, अध्यादेश ल्याउनु सरकारको संवैधानिक अधिकार र आवश्यकता दुवै हुन सक्छ । तर, त्यसको अन्तर्निहित मनसायको कानुनी र नैतिक परीक्षण गर्ने दायित्व राष्ट्राध्यक्षको पनि हो । ८ मध्ये ६ वटा अध्यादेश जारी हुनु र दुईवटा अध्ययनका लागि रोकिनुले कार्यपालिका र राष्ट्राध्यक्षबीचको शक्ति सन्तुलनलाई सकारात्मक रूपमा उजागर गरेको छ । यसले सरकारलाई कानुनी मामिलामा गम्भीरता अपनाउन र स्थापित लोकतान्त्रिक मूल्यमान्यताप्रति सचेत रहन झकझक्याएको छ ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved