धनुषा । धनुषामा गए राती धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । श्रीमतीमाथि आक्रमण गरेका उनले आत्महत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनामा उनीहरुका चार वर्षीय छोरा घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ भरतपुर निवासी अन्दाजी ३५ वर्षीय उमेश यादवले मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा गएर ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उमेश गए राती करिब ९ बजे ससुराली पुगेका थिए । आइतबार बिहान करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट घाइते भएका बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको छ ।
उनलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद गरेको छ ।
घटनापछि फरार रहेका उमेशको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पहिलो घटनास्थलको मुचुल्का सम्पन्न गरी रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । दोस्रो घटनास्थलको मुचुल्का तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 54
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved