यात्रा संस्मरण
गण्डकी, पर्यटन व्यवसायमा निकै अगाडि रहेको प्रदेशमा पुग्ने वित्तिक्कै शरीरमा भरपुर उर्जा प्रवाह हुन्छ ।
प्राकृतिक सौन्दर्य र शीतल वातावरण यसका प्रमुख कारणहरू हुन् ।
पोखरा पुग्नु नीलो पानीको तालामा हिमालको बिम्ब हेर्न पाउनु हो ।
दुधिलो पानीको बहावमा मनसँगै बग्न पाउनु हो ।
माछाको पुच्छर वरिपरी सेताम्मे थेग्लाथेग्ली कत्लासँगै स्वैरकल्पनामा आकासतिरको उडान भर्नु पनि हो ।
त्यसैले त देश परदेशका युवायुवती बालक तथा बृद्ध सबैको रमाउने ठाउँ बन्न पुगेको छ पोखरा ।
पोखरा बस बिसौनी पुगेर उत्तरतिर आ“खा डुलाए कालो बर्को ओडेको माछापुच्छ्रे लाई नमन गरें । मन खिन्न भयो, मलाई स्वागत गर्न माछापुच्छ्रे हिमालको उपस्थिति थिएन ।
माछापुच्छ्रे मस्त निन्द्रामा थियो । म लुरूलुरू लागें लेकसाइड (ताल क्षेत्र) तिर ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको व्यवस्थापन विभागका उपप्राध्यापक सीताराम चौलागाई सर र कर्मचारी विनोद कामतलाई भेटेपछि उहाँहरूसँगको पाँचदिने यात्रा शुभारम्भ भयो ।
होटल नराम्रा र साह्रै छि भन्ने थिएन र त्यति धेरै राम्रो पनि थिएन ।
होटेल अगाडिको साँगुरो आँगनमा रहेका दुइटा बसले गर्दा जिउलाई सुकुटी बनाउँदै भित्र छिरेपछि सामान्य स्वागत कोठामा पुगिन्थ्यो ।
पुराना रङ उडेका सोफा र टेबल रहेको कोठा बाटैमाथितिर जाने भ-याङ र भान्सातिर जाने लामो बरण्डा पनि थियो ।
पहिलो तलाको दोस्रो कोठामा पुगेपछि झोला बिसाएर थोरै सास फेरें ।
नुहाउने कोठा साँगुरो र कमोड पनि रहेकाले हात खुट्टा फैलाएर नुहाउन पनि मुस्किल थियो ।
रातभरिको अनिदो शरीरलाई चिसो पानीले ब्यूँझाएर लुगा फेरेपछि चियापान गरियो । झोला बसमा चढाएर दुई बस विद्यार्थीसँगै लाग्यौं विन्ध्यवासिनी मन्दिर ।
विन्ध्यवासिनी मन्दिर नजिकै गाडी रोकियो, सबै जना गाडिबाट उत्रीएर बाटो काट्न थाल्यौं ।
पर्यटकीय सहर भएर होला, बाटो काट्दा पोखरामा चालकहरूले पदयात्रुको सम्मान गर्दै सवारी बिस्तारै चलाउँदै थिए ।
मन्दिरको उत्तर तर्फबात मन्दिरको परिक्रमा गर्दै हामी अगाडि बढ्दै थियौ, हामीलाई बाटो किनारामा बसेका फूल व्यापारीहरू फूलप्रसाद लिनका लागि ठूलो स्वरमा बोलाइरहेका थिए ।
मन्दिर छ र त फूलप्रसादको व्यापार छ, घर चलेको छ ।
व्यापार सानो होस् या ठूलो, ब्यापार त ब्यापार नै हो, पैसा गर्ने मेलो ।
आजको युग बैश्यीक युग हो, हर कोही ब्यापार गर्छ, समयको, ज्ञानको, सम्बन्धको, इमानको र बेइमानीको । फूलप्रसाद्को ब्यापार त अपार हो, पवित्र हो, भगवान खुशी पार्ने कुरा हो ।
मन्दिरको सिंढींहरू चढ्नु पर्ने भयो, युवा युवतीहरू त दौड लगाउन थाले । हामीहरू भने पाइला गन्दै आकासतिर हेर्दै एक एक सिढीं, गर्दै अगाडि बढ्यौं ।
पोखरा सहरको उत्तरतर्फको एउटा थुम्कोमा विन्ध्यवासिनी मन्दिर अवस्थित छ ।
त्यहाँबाट उत्तर फर्कदा माछपुच्छे« हिमालको प्रत्यक्ष दर्शन गर्न पाइन्छ र दक्षिणतर्फ हेर्दा पोखरा सहर टाढा देखिन्छ । विन्ध्यवासिनी भगवती सुनौलो सुन्दर मन्दिरभित्र पोखरा सहरको रक्षा गर्न दक्षिणी दिशातर्फ फर्किएर आशन ग्रहण गरेकी छन् ।
उत्तरतर्फबाट बहेर आउने चिसो वायुको स्पर्श र कानमा गुञ्जने मन्दिरका घण्टीको आवाज साथै मन्दिरमा टाँगिएका रङ्गीन ध्वजा पतकाहरूले जो कोहीको मन मस्तिस्कलाई शान्त बनाउँछ ।
नेपालका प्राय मन्दिरहरूमा देखिने देवी देवताहरूको सहिष्णुता यहाँ पनि देख्न पाइन्छ ।
नजिकै देवादीदेव महादेवलगायत अन्य देवीदेवताहरू वरिपरि मिलेर विन्ध्यवासिनी देवीसँगै बसेको पाउँछौं ।
नेपालका गाउँ सहरहरूमा पनि हामी विभिन्न जातजाति मिलेर बसेको देख्न पाउँछौं ।
त्यसैले हाम्रा देवालयहरूले नेपाल कै समाज र संस्कृतिकै झल्को दिन्छन् । हामीले मन्दिरको चारैतिर परिक्रमा गरेर विन्ध्वासिनीको दशैन गर्दै सिंढी ओर्लन थाल्यौं ।
जीवनमा सिंढी उक्लदा मन फुरूङ हुन्छ, सिंढी ओर्लदा टाउको भारी लाग्छ ।
ओरालो लाग्नु कसलाई पो मन हुन्छ र , हाम्रो कुरा अर्कै थियो, हामी त जाँदै थियौ घान्द्रुक, सुन्दर पहाडी पर्यटकीय गाउँ ।
सहयोगी ट्राभल्स एन्ड टुर्सका दुई गाडी पोखरा बाग्लुङ मार्गमा बिहानै सिँगारिएर हामीलाई पर्खिरहेका थिए ।
सिंढी ओर्लिएर निधारमा तप तप पसिना चुहुञ्जेल पाइला चालेर गाडी चढेर आ–आफ्ना आसन ग्रहण गरियो ।
गाडी जति उकालो लाग्छ, त्यति कास्की जिल्लाका सुन्दर ताल, हरियाली, हिमाल र डाँडा काँढाहरूले स्वागत गर्न थाल्छन् ।
श्रव्यदृश्यका लामा लामा तरेलीहरू आँखाले मनमा उतार्न थाल्छन्, मस्तिस्कले आफ्ना कोठाहरूमा भण्डारण गर्न थाल्छ ।
गाडिको सानो झ्यालमा अचानक सेतो हिमाल झुलुक्क देखा पर्छ, सानो पहाडको थुम्कोले छोपिहाल्छ ।
ओझेलामा परेको अन्नपूर्ण र माछापुच्छ्रे कति बेला झुल्किने हुन पत्तै हुँदैन ।
वर्षौसम्मको पर्खाइपछि बल्ल बल्ल हात परेको सफलतामा रमाए जस्तै फुरूङ्ग हुन्छ मन, जब अचानक झ्याल नजिकैबाट सेता हिमाल मुख देखाएर भाग्दछन् ।
मन मनै सोच्दछु , कहाँसम्म पो भागौला र अन्नपूर्ण र माछापुच्छ्रे महाराज, घान्द्रुक मात्र पुग्न पाउन, यीनीहरूलाई आँखाभरी अटाउने छु, मन भरी सजाउने छु ।
विन्ध्यवासिनी मन्दिरबाट सुन्दर गाउँ हेम्जा हुँदै ढिकुरपोखरी कटेर काँडे पुगियो ।
मैले त्यो ठाउँ पहिले पनि दुई पटक घुम्न पाएको थिएँ ।
अवसर थियो मार्दी ट्रेकको ।
त्यहाँबाट सुन्दर हिमाली गन्तब्य मार्दी हिमालको बेस क्याम्प (आधारशिविर)सम्मको यात्रा सुरू हुन्छ ।
काँडेबाट अगाडि बढेर नेपालको चेरापुञ्जी भनिने ठाउँ लुम्ले पुगेर खाना खान तयार भयौं ।
नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ लुम्ले बादलको घुम्टो ओड्दै उघार्दै थियो ।
हाम्रो टोली ठूलो भएर होला, होटलका सबै सदस्यहरू काममा जुटे ।
असी पचासी जनालाई एकै पटक खाना खुवाउनु सजिलो थिएन ।
पालो पालो गरेर सबैले खाना खायौं । यात्रामा मन मिल्ने साथीहरू सीताराम चौलागाई सर र विनोद कामतजी हुनुहुन्थ्यो र बाँकी बीबीएका होनाहार विद्यार्थीहरू थिए ।
उनीहरू मेरा छोराछोरीका उमेरका भएर होला घुलमिल हुन समय लागेन । उनीहरू आफ्नो संसारमा हराइरहेका हुन्थे, तर हामी प्राध्यापकहरूलाई निकै आदर गर्थे ।
खाना खाएको नखाएको बारे सोधिखोजी गरिरहख्थे ।
होटलका साहू मनकारी थिए, घरी घरी आएर के थप्नु पर्ला भनेर सोधिराख्थे ।
हसिलो अनुहार लिएर साहुनी आइपुगिन् र सोधिन्, ‘सरहरूलाई खसी कुखुरा कुनको मासु ल्याउँ ?’
त्यो छाक सबै विद्यार्थीले सादा खाना खाने रहेछन् । हामीले पनि झटपट भन्यौं, हामी सादा खाना खान्छौं ।
तर खाना सादा कहाँ थियो, त्यसमा लुम्लेको चिसो पानीको मिठास भरिएको थियो, हिमालबाट बहेर आएको चिसो पवनको सुगन्ध मिसिएको थियो, लुम्लेको माटोको सुवास थियो, वरिपरिको हरियालीको मसला थपिएको थियो, अनि मात्र पाएको थियो रित्तिएको आँतले तात्तातो जैविक भोजन ।
आँत भरियो, तर भरिएन मन । हाम्रो तन भने तृप्त भयो ।
हिमाल हेर्न पाइने त्यो पनि नयाँ वर्षको दिन, अब मन त हो खपी नसक्नु भयो ।
चैतको अन्तिम साता, कामको चटारो थियो, सबै काम सक्न हतारो थियो ।
सहकर्मी साथीहरू उपप्राध्यापक सीताराम चौलागाईं र कर्मचारी विनोद कामत र महेन्द्र मोरङ क्याम्पसका स्नातक अन्तर्गत व्यावसायिक अध्ययन ‘बीबीए’ का विद्यार्थीहरू तीन दिन अगाडि मुक्तिनाथको दर्शन गर्न बाटो लागिसकेका थिए ।
उनीहरूकै निमन्त्रणामा मेरो पनि खुट्टा उचालिए ।
म पनि उनीहरूसँग सिधै पोखरामा भेट्ने गरेर चढें रात्री बस ।
रात्री बस नजिक पुगेर वरिपरि परिक्रमा गरें, त्यसको सामाथ्र्य जाँचे । मेरो अनुमानमा पक्कै आरामदायी हुनुपर्ने हो । गएर आफ्नो कोक्रोमा पल्टिए र निकाले डा दामोदर पुडासैनीद्वारा लिखित नियात्रा डोल्पो ओ डोल्पो ।
डोल्पो ओ डोल्पोले मलाइ हिमाली जिल्ला घुमाउँदै थियो र म हिमाली जिल्लाको भ्रमणमा निस्किएको थिएँ ।
बसभित्र गर्मी थियो तर मन भने सित्तल । एक त म मलाई मन पर्ने सहर पोखरा जाँदै थिए र लगत्तै घान्द्रुक र मुक्तिनाथ ।
त्यो पनि नयाँ वर्षको अवसर परेको थियो । बसभित्रका केही यात्रुहरू परिचित थिए ।
उनीहरू नयाँ वर्ष मनाउन पोखरातर्फ लागेका थिए । सामान्य भलाकुसारी बाहेक साहै्र कुराकानी भने भएन ।
बस आफ्नै गतिमा हुइकिदै थियो,
नेपाली लोकगीतहरूको गुञ्जनले तनमन रोमाञ्चित बनेको थियो ।
एशियाली राजमार्गको काम धमाधम थियो, तर पनि बस धेरै नउफारी आफ्नो गतिमा अगाडि बढ्दै थियो ।
कोशी प्रदेशबाट खाजा खाएर दिउँसो यात्रा सुरू गरेको बेलुकी मधेस प्रदेसमा खाना खाएर बाग्मती प्रदेसमा केही घण्टा झकाएपछि गण्डकी प्रदेसमा आँखा खुले ।
मलाई गाडी र जीवन बीचको समानता गज्जब लाग्छ । जब चिल्लो बाटो आउँछ, गाडी सुलुल्ल चिप्लिन्छ ।
तर खाल्डाखुल्डी आएपछि गति बिग्रन्छ । सहज अवस्थामा जीवनको गती द्रुत हुन्छ, तर जब कठिनाई सुरू हुन्छ सन्सार ठप्प हुन्छ, अन्धकार हुन्छ ।
त्यसैले असहज अवस्थामा पनि संयम राख्ने व्यक्ति नै सफल हुन्छ, अप्ठ्यारो बाटोमा गाडी चालक संयमित भए जस्तै । खेलको कुरा पनि यही त हो नि ।
क्रिकेट खेलाडीले अन्तिम बलमा नतिजा उल्ट्याउन सक्छ, फुटबल खेलाडीले अन्तिम सेकेन्डमा नतिजा पल्ट्याउन सक्छ । त्यसैले संयमता सफलताको सुत्र हो ।
( डा अच्युतराज कट्टेल महेन्द्र मोरङ क्याम्पस, विराटनगरका बीसीए कार्यक्रमका निर्देशक एवम् क्याम्पस कार्यसमितिका सदस्य हुन् ।)
View : 119
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved