Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सांस्कृतिक उचाइमा नपुग्ने प्रथा र परम्परा

आदिम कालदेखि नै कुनै मान्छेले गरेका विशेष प्रकारका कुराहरु सबैका लागि वा समूहका लागि हितकर वा लाभदायक भएपछि त्यस कुरालाई अर्को समूहले पनि स्वीकार गरेर अनुशरण गर्‍यो । त्यसपछि त्यो कुरा सामाजिक मान्यता बन्यो । खास समूहमा बस्ने सबैले त्यस्ता कुरालाई मान्नु पर्ने वा गर्नु पर्ने भयो। समाजमा राम्रो गर्न र नराम्रोलाई हराउन गरिने यस्ता सबै कुराहरु नै प्रथा र परम्पराको रुपमा स्थापित भए।
एकराज भट्टराई
२५ फागुन २०८१, आइतवार

हामीहरु जुन कुरालाई संस्कृति मान्छौं ती कुराहरु हाम्रै प्रथा र परम्पराका रुपमा जीवित रहेका छन् । संस्कृति, प्रथा र परम्परालाई छुट्याउन कठिन नै हुन्छ ।  किनभने हामीहरु समाजमा चल्दै आएका चालचलन, रीतिरिवाज र परम्परादेखि मान्दै आएका कुरालाई संस्कृति भनिरहेका छौं। 

घुम्टो प्रथा, दाइजो प्रथा, सिन्दूर पोते चुरा लगाउने प्रथा, देवबली प्रथा यस्ता जति पनि सामाजिक जीवनसँग सम्बन्धित कुराहरु छन् ती सबै कुराहरु प्रथा हुन् । तीमध्ये कतिपय कुराहरुलाई परम्पराको रुपमा पनि हामीहरुले मानेर ल्याएका छौं । गाई पाल्ने परम्परा, खेलकुदका परम्परा, लेखापढीका परम्परा खानपिनका परम्परा, खेती किसानी परम्परा, यस्ता सबै प्रथा र परम्पराहरु हाम्रो जीवन–संस्कृति बनेका छन् । समाजलाई लाभ पुर्‍याउने जुनसुकै प्रथा र परम्परालाई हामीहरुले संस्कृति मानेर पालना गर्दैछौं र अनुशरण पनि गर्दै आएका छौं।

एउटा विचारणीय कुरा के छ भने– सबै प्रथा परम्पराहरु सबै जातजातिका लागि वा सबै मान्छेका लागि हुँदैनन् । प्रथाहरु विशेषतः सामाजिक आदतसँग सम्बन्धित हुनाले खास जाति–विशेषसँग नै सम्बन्धित हुन्छन् । कुनै जात–जाति वा समूह विशेषमा त्यस्ता कुराको प्रभाव परेको हुन्छ । लास पोल्ने प्रथा, लास गाड्ने प्रथा, टिका लगाउने प्रथा, गाईको पूजा गर्ने प्रथा, गाई काटेर खाने प्रथा, यस्ता कुराहरु विभिन्न जात जाति र सम्प्रदायमा फरक छन् । 

आदिम कालदेखि नै कुनै मान्छेले गरेका विशेष प्रकारका कुराहरु सबैका लागि वा समुहका लागि हितकर वा लाभदायक भएपछि त्यस कुरालाई अर्को समूहले पनि स्वीकार गरेर अनुशरण गर्‍यो । त्यसपछि त्यो कुरा सामाजिक मान्यता बन्यो । खास समूहमा बस्ने सबैले त्यस्ता कुरालाई मान्नु पर्ने वा गर्नु पर्ने भयो। समाजमा राम्रो गर्न र नाराम्रोलाई हराउन गरिने यस्ता सबै कुराहरु नै प्रथा र परम्पराको रुपमा स्थापित भए। त्यसपछि पीढीः दरपींढी सर्दै आए र समाजिक जीवनमा मान्य हुँदै गए ।

प्रथाहरु सधैं यथावत् रहँदैनन् । समयक्रममा बद्लिदै र हराउँदै पनि जान्छन्। कतिपय अवस्थामा राज्यले पनि समाजवा राष्ट्रलाई घाटा पुर्‍याउने वा अहित गर्ने प्रथाहरुलाई हटाउँदै जान्छ । दास प्रथा गयो । जिमिन्दारी प्रथा हट्यो। सती प्रथा समाप्त भयो । दाइजो प्रथा हट्ने क्रममा छ ।विवाह प्रथा कोर्टमा पुगेको छ ।  खेती वा कृषि परम्परामा ह्रास आएको छ । दौरा सुरुवाल, चोलो, बर्को टोपी लगाउने परम्परामा कमी आएको छ । 

नवीन सामाजिक मूल्यहरु उठ्दै गएपछि पुराना प्रथा वा परम्पराहरु क्रमशः हराउँदै जान्छन् । समाजमा नयाँ मूल्य वा पद्धतिको स्थापना र विकास हुन थाल्छ ।  जस्तो–विज्ञानको वा आधुनिक सभ्यताको प्रभाव बढेर गएपछि साइत हेरेर यात्रा गर्ने परम्परालाई अन्धविश्वास मान्न थालियो । त्यस्तै धामी झाँक्री प्रथालाई छाड्दै गइयो । पृथिवी गोलो छ । यता फर्कदा राम्रो हुने र उता फर्कदा नराम्रो हुने यस कुराको तात्विक अर्थ देखिदैन । वास्तु भन्ने कुरा आत्मसन्तुष्टीका लागि देखापर्न थाल्यो । 

समाजमा अनेक फ्रकारका शक्तिले काम गरिरहेका हुन्छन् । त्यस्ता शक्तिको प्रभाव व्यक्तिमा परेको हुन्छ । मान्छेका व्यवहारहरु त्यसैशक्तिको प्रभावबाट निर्देशित हुन्छन् । जुन व्यवहारहरू प्रथा र परम्पराकै रुपमा विकसित भएका हुन्छन् । राम्रा र सकारात्मक प्रथालाई भने मान्छेले लामो समयसम्म अनुशरण गर्छ । किनभने समाजनै प्रथा र परम्पराबाट निर्देशित र परिचालित भएको हुन्छ । मान्छे मान्छेको बीचमा व्यवहार गर्ने वा जीवन बाँच्ने आधार नै प्रथा र परम्पराहरु बनेका हुन्छन् । 

राम्रा वा सकारात्मक प्रथाले उत्तम कार्य के गर्छ भने– त्यसले समाजलाई एकीकृत गर्छ । अनि एउटै विचार र आदर्शमा बाँधेर राख्छ । सामाजिक मूल्य–मान्यताप्रति प्रेम दर्शाउन प्रेरित गर्छ । त्यसैले समाजमा प्रचलित प्रथा र परम्पराहरुमाथि वर्षौ वर्ष हामी अटल रहेका हुन्छौं । किनभने हामीहरु समाजमा बसेका छौं । सांस्कृतिक कुराहरुले वा प्रथा र परम्पराहरुले हामीहरुलाई एक आपसमा मिलाएर राखेको हुन्छ। हामीहरु एकता, प्रेम सद्भावको बन्धनमा बाँधिएका छौं । यस कारण प्रथा र परम्पराले समाजलाई एकीकृत गर्नका लागि पनि महत्वपूर्ण कार्य गरेको हुन्छ । 

विकसित राष्ट्रको वा समाजका कारणले र वैज्ञानिक आविष्कारका प्रभावले काम गर्न थालेपछि हामीहरु क्रमशः हाम्रा प्राचीन प्रथा र परम्परासँग सम्बन्धित जीवनपद्धतिमा परिवर्तन ल्याउन थाल्छौं । जबसम्म नयाँ पीढीको व्यवहार, सोच र हस्तक्षेपको प्रभाव समाजमा पर्दैन तबसम्म पुरानै प्रथा र परम्पराले समाजलाईपरिचालन गरिरहेको हुन्छ । यतिसम्म कि– राष्ट्रको ऐन नियम, कानुन पनि त्यसैको प्रवाभमा बनेको हुन्छ । 

प्रथा वा परम्पराहरु सबै खालको समाजमा अथवा जातिमा प्रचलित छन् । त्यसकै आधारमा सामाजिक क्रियाकलाप पनि सबै जातजातिमा भिन्नभिन्न किसिमले अपनाइन्छन् र मनाइन्छन् पनि । विवाह पद्धतिका कुराहरु भिन्न छन्, जन्म मृत्युका संस्कारहरु भिन्न छन् । प्रकृतिको र देवी–देवताको आराधना गर्ने प्रक्रियाहरु भिन्न छन्। नाता सम्बन्ध मान्ने र चाडपर्व मनाउने तरिकाहरु भिन्न छन् । 
जुन बेलासम्म राज्यको उत्पत्ति भएको थिएन र कानुन निर्माण भएको थिएन त्यस बेलासम्म मान्छेले प्रथा र परम्परालाई नै समाज चलाउने आधार बनाएको थियो । त्यो सामाजिक मान्यतानै कानून सरह थियो । त्यसलाई निश्चित समूह वा जातिले मान्थ्यो । तर एउटा रमणीय कुरा के छ भने– महा सामन्त, सामन्त वा राजा महाराजाहरुले नयाँ नयाँ प्रथा र परम्परालाई स्थापित गरेको र हटाउने गरेको इतिहास पनि छ । यस प्रसंगमा मानदेव, जयस्थिति मल्ल, जंगबहादुर, चन्द्रसमशेर आदि शासकहरुलाई पनि स्मरण गर्न सकिन्छ । 

संस्कृतिको दायरा ठूलो छ । हामीहरूले चालचलन, रीतिरिवाज वा प्रथा परम्परालाई संस्कृति भन्ने गरेका छौं । तर मान्ने वा मनाउने तरिकाहरु भने भिन्न छन् । जस्तो कुनै सज्जन वा श्रेष्ठ व्यक्ति आउँदा हामीहरु उठ्छौं । तर कुनै बेला फिजीका टोगा जातिमा आदरणीय व्यक्ति आउँदा बस्ने चलन थियो । कसैलाई थुक्नुलाई हामी असभ्य, अप्रिय वा अपमान सम्झन्छौं । अफ्रिकाको मसाई जातिमा थुक्नुलाई प्रेम वा भलाइको अर्थमा लिइन्थ्यो । कतिपय दाहाल परिवारका घरको धुरीमा सेतो ध्वजा राखिन्छ भने अधिकारीका घरको धुरीमा रातो ध्वजा राखेको पाइन्छ। तर आजभोलि यो चलन हराउँदै गएको छ ।

कुनै जातिले खसीलाई माथिबाट काट्छन् भने कुनै जातिले घाँटीको तलबाट रेट्छन् । कोही पूर्व फर्केर पूजा गर्छन् त कोही पश्चिम फर्केर गर्छन्, कसैको कुलदेवी काली छन्। कसैका कुलदेवता मस्टो छन् ।सूर्य, हनुमान, नाग, मयुरलाई कुल देवता मान्नेहरुपनि छन् । जातीय संस्कृतिमा पाइने यस्ता भिन्नताले हाम्रो सामाजिक जीवन पद्धतिको पनि परिचय दिइरहेको हुन्छ । 

कतिपय प्रथा र परम्पराले हाम्रो समाजलाई एकीकृत गरेको छ भने कतिपयले एउटै समाजका मान्छेमाथि भेदभाव गरेर विघटन गर्ने अवस्थामा पनि पुर्‍याएको छ । त्यसरी मान्छेमान्छेमा भेदभाव बढाउने, उच, नीच, सानो, ठूलो, छुत–अछुत छुट्याउने प्रथा र परम्पराहरु भने संस्कृति होइनन् ।

 संस्कृतिले कसैमाथि भेदभाव गर्दैन । यसले समाजमा बस्ने कसैलाई घाटा पनि पुर्‍याउँदैन । भाषा सबैले बोल्छन् । कुनै पनि भाषालाई यो तल्लो जातको हो र यो माथिल्लो जातको हो भनिदैन । यो अफ्रिकन र यो रसियन अनि यो हिब्रु भाषा हो भनेर विभेद गरिदैन । नत लिम्बू, राई, थारु, मैथिली, भोजपुरी भाषाको जात छुट्याइन्छ । जसले जान्दछ र जसले बोल्न सक्छ त्यसले सबै भाषालाई प्रयोग गर्छ । अलग जात भएको मान्छेले अर्को जातको भाषा बोल्यो भने जात जाने कुरा पनि हुँदैन । भाषाले भेदभाव गर्दैन । त्यसकारण भाषा मानवीय संस्कृति हो। त्यस्तै वस्त्र, गृह, सडक, खेलमैदान, वाद्यवादन, गीत–संगीत, साहित्य, खानपान शिक्षा, जस्ता तमाम कुराहरु संस्कृति हुन् । यस्ता कुराले कसैलाई पनि भेदभाव गर्दैन र बिगार्दैन पनि ।
हाम्रा कतिपय सामाजिक व्यवहारहरुलाई हामीले संस्कृतिमान्ने गरेका छौं । तर त्यस्ता कतिपय कुराहरु प्रथा र परम्पराको रुपमा आएका हुन् । जस्तो– बली प्रथा, गोठधुप प्रथा, धामी–झाँक्री प्रथा, दाइजो प्रथा, जजमानी परम्परा पूजाविधिका परम्परा, घरमा रंगरोगन लगाउने परम्परा, सरकारी कार्यालयमा झण्डा राख्ने परम्परा, यस्ता कुराहरु सामाजिक वा जातीय संस्कृतिका रुपमा पनि विकसित भएर आएका छन् ।

जो हाम्रो दैनिकजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र सरोकार राख्ने विषय फनिबनेका छन् । तर समय क्रममा यस्ता कुराहरु क्रमशः हराउँदै जान्छन् र कतिपय अवस्थामा चाहिँ परिवर्तन पनि हुँदै जान्छन् ।

महिलाहरुले कानमा लस्करी, नाकमा बुलाकी, हातमा बाइँ, खुट्टामा कल्ली, लगाउने गर्थे । क्रमशः फुली र कान्ढुङ्ग्रीको परम्परा हराउने क्रममा छ ।

बाहुनले धोती फेरेर चुलामा गएर भात खाने परम्परा थियो । हराउँदै गयो । दाउरालाई ग्यास र विजुलीले विस्थापित गरिदियो । त्यस्तै काठको पिरालाई टेबुल र कुर्सीले पन्साइदियो। हातले निवाएर काटा चम्चाले खाना खाने परम्पराको विकास भयो । महिलाले त्रिवेणी बनाएर चुल्ठो बाट्ने परम्परा लगभग समाप्त भयो । खेलकुद, रहनसहन, बोलीचाली, खानपानमा परिवर्तन आयो ।

विश्वमा आएको परिवर्तनले – भ्रमणका प्रभावले, संगतले, वैज्ञानिक चिन्तनले प्रविधिको विकासले, राष्ट्र राष्ट्र बीचको सम्बन्धले, टुरिस्टहरुको आगमनले, शिक्षाले, नयाँनयाँ घटना र आन्दोलनका प्रभावले क्रमशः प्रथा र परम्परामा परिवर्तन आएको छ । नयाँ संस्कृतिको स्थापना भएको छ । अझ भनौं जब व्यक्तिको, परिवारको, समाजको र राष्ट्रको आर्थिक उन्नति हुन्छ, त्यस बेला प्रथा, परम्परा र संस्कृतिमा व्यापक परिवर्तन भएको कुरा अनुभव गर्न सकिन्छ ।

संस्कृति अत्यन्त व्यापक हुन्छ । यो विश्वमानवको साझा सम्पत्ति हो । यसको महत्व र प्रभाव पनि ठूलो छ । मान्छेलाई संस्कृतिले परिष्कार गरेर उच्च मर्यादामा लैजान्छ । सबै जात, जाति, धर्म, सम्प्रदायमा विभक्त मान्छेले पनि संस्कृतिलाई समान रुपमा उपयोग र उपभोग गर्छ ।

संस्कृतिले जात,जाति धर्म, सम्प्रदाय, छुत, अछुत, पानी चल्ने, पानी नचल्ने भनेर मान्छेलाई विभाजन गर्दैन। त्यसैले संस्कृतिको तुलनामा प्रथा र परम्पराको दायरा सानो हुन्छ। एक जाति–विशेषले वा धर्म र सम्प्रदायले मान्ने प्रथा र परम्परा अर्को जातजाति धर्म सम्प्रदायका मान्छेले नमान्ने हुँदा तुलनात्मक रुपमा सबै प्रथा र परम्पराले सांस्कृतिक महत्व प्राप्त गरेता पनि मानवीय संस्कृतिको कतिपय विहंगम उचाइमा कतिपय प्रथा र परम्परा पुग्न सक्तैनन् । 
 

View : 348

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved