Biratnagar, Morang, Nepal
१९ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश लगानी सम्मेलन

पूरा होला प्रदेश सरकारको महत्वाकांक्षी लक्ष्य ?

उद्‌घोष सम्वाददाता
१९ वैशाख २०८२, शुक्रवार

विराटनगर । प्रदेश सरकार स्थापनायता हरेक वर्ष गर्ने भनिदै आएको तर नगरिएको प्रदेश लगानी सम्मेलन पहिलोपटक विराटनगरमा बिहीबार सुरु भएको छ । प्रदेश सरकारले सोकेसमा राखेका ७१ आयोजनामध्ये न्यूनतम दुई दर्जन आयोजनामा लगानी सम्झौता हुने अपेक्षा प्रदेश सरकारले राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको लगानी सम्मेलनमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन प्रदेशमा लगानीको ढोका खोल्न सहयोगी सावित हुनेमा सरकार आशावादी रहेको बताएका छन् । पर्यटन, कृषि, जलविद्युत, उद्योग, पूर्वाधार लगायत आठ क्षेत्रका ७१ आयोजनामा लगानी गर्न प्रदेश सरकारले लगानीकर्ताहरुलाई विराटनगरमा भेला पारेको हो ।

सरकारले लगानीकर्ताहरूलाई लगानीको वातावरण बनाउन आवश्यक कानुनी, नीतिगत तथा प्रशासनिक संरचनाहरूको पुनरावलोकन र संशोधन गर्दै आठवटा कानुन अध्यादेशमार्फत जारी गरेको जानकारी दिंदै मुख्यमन्त्री कार्कीले भने, ‘यसले प्रदेशमा लगानी भित्र्याउन सहयोग गर्ने अपेक्षा छ ।’

प्रदेश सरकारले १७ बुँदे प्राथमिकता तय गर्दै लगानी सम्मेलनको आधार तयार पारेको बताउँदै आएको छ । खासगरी परियोजनाको अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनदेखि त्यसको कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रियामा पारदर्शिता र स्पष्टता ल्याउने सरकारी दाबी छ । यसको प्रस्थान विन्दुका रुपमा सरकारले ‘वान स्टप सेवा’लाई प्राथमिकतामा राखेको बताएको छ ।

प्रदेश सरकारले छनोट गरेका ७१ आयोजनामा १ खर्ब ७३ अर्ब भन्दा बढी लगानी हुने अनुमान छ । त्यसमध्ये सम्मेलनमा कति आयोजनामा लगानी जुट्ने सम्झौता होला ? ‘सकेसम्म धेरै आयोजनामा लगानीकर्तासँग सम्झौता हुने अपेक्षा हाम्रो छ’, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले उद्घोषसँग भने ‘कम्तीमा दुई दर्जन जति आयोजनामा सम्झौताको वचन पाएका छौं ।’ 

कोइरालाका अनुसार पर्यटनका क्षेत्रमा लगानीकर्ताहरुको चासो बढी देखिएको छ । प्राधिकरणले अहिले नै सम्झौता नभए पनि विस्तारै हुँदै जाने र त्यसका लागि सम्मेलनले वातावरण बनाउने दाबी गरे ।

लगानीकर्तालाई प्रधानमन्त्रीको ढाडस

प्रधानमन्त्री केपी शर्मा ओलीले  कोशी प्रदेश लगानी सम्मेलन–बिहीबार विराटनगरमा उदघाटन गर्दै कोशी प्रदेश लगानीका लागि ‘फेभरेबल’ ठाउँ भएको बताए ।

कोशी प्रदेश लगानीका लागि किन उपयुक्त छ भन्ने कुरा लगानीकर्ताहरुलाई बुझाउन बिहीबार प्रधानमन्त्री ओलीले केही गलत अनि वैज्ञानिक रुपमा प्रमाणित हुनै नसकेका तथ्यांक र प्रसंग पनि निर्धक्क बोलिदिएका छन् । 

गलत तथ्यांक पनि सत्य हो जत्तिकै गरेर आत्मविश्वासपूर्वक प्रस्तुत गरेका प्रधानमन्त्रीले सहभागीहरुलाई पौराणिक प्रसंग सुनाएर कोशी प्रदेशको महिमा ‘विराट’ रहेको सन्देश दिए ।
कोशीको भूगोल, हिमालहरुको परिचयात्मक व्याख्यान दिइसकेपछि प्रधानमन्त्रीले कोशीका नागरिकको पनि प्रशंसा गरेका थिए ।

‘कोशीका जनता शिक्षित र मिहिनेति छन्’ भन्दै उनले भने ‘त्यसैले नेपालको जीडीपीमा कोशी प्रदेश एक्लैको योगदान ३८ प्रतिशत छ ।’ प्रधानमन्त्रीले नै प्रशंसा गरेपछि सभाहलमा ताली गुञ्जियो ।

यद्यपि प्रधानमन्त्रीले कुन अध्ययन प्रतिवेदनका आधारमा जीडीपीमा कोशीको योगदान ३८ प्रतिशत हो भन्ने प्रष्ट पारेनन् । जबकि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रधानमन्त्रीकै दल एमालेका नेता रामबहादुर मगर मन्त्री छन् ।

उनकै नेतृत्वमा रहेको मन्त्रालयले गरेको आर्थिक सर्वेक्षणको तथ्यांकले भने प्रधानमन्त्रीको दाबीको खण्डन गर्छ । कोशी सरकारले गरेको आर्थिक वर्ष २०८०–८१ को प्रादेशिक आर्थिक सर्वेक्षण अनुसार राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा कोशीको योगदान १५ दशमलव ८ प्रतिशत छ । मन्त्रालयले आफ्नो वेभसाइटमा राखेको सर्वेक्षण प्रतिवेदनमा यही तथ्यांक उल्लेख छ ।

यसअघि नेपालमा पाइने एक सिंगे गैंडा ‘राइनोज’ नभएको बरु ‘गैंडाज’ भएको, डाँफेबारे पनि त्यस्तै दाबी गरेर ‘डाँफेज’ भनिसकेका प्रधानमन्त्रीले उही शैलिमा ‘सगरमाथा इज सगरमाथा’ भन्दै त्यसलाई ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्ने घोषणा गरे । 

‘माउन्ट एभरेष्टको समगरमाथासँग कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ प्रधानमन्त्रीले थपे  ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को  हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा । मुख्यमन्त्री हिक्मत कार्कीजीको अर्को नाम हुन्छ ?’

प्रधानमन्त्रीले हिमालहरुको चर्चा गर्नुपछिको मुख्य कारण कोशीमा पर्यटन क्षेत्रमा लगानीको सम्भावना प्रचुर रहेको बताउनु थियो । त्यसक्रममा ८ हजार मिटरभन्दा माथिका कतिवटा चुुचुरो प्रदेशमा छन् भन्ने पनि उनले विस्तृतमा खुलाएका थिए । 

कोशी लगानीका लागि बहुतै ‘फेभरेबल’ प्रदेश भएको बताउँदै प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो कुरा सडक सञ्जालले प्रदेशलाई सबैतिरबाट छोएको उल्लेख गरे ।

प्रधानमन्त्रीले यसबारे थपे ‘पूर्वाधारका हिसाबले यस प्रदेश सडक सञ्जालसँग जोडिएको छ । 

सबभन्दा दक्षिण बोर्डरको छेउछेउबाट हुलाकी राजमार्ग  लगभग तयारी अवस्थामा छ । कमलाको पुल भासिएको छ । त्यो प्राविधिक त्रुटी हो, अब कन्काइको पुल बाँकी छ । ती चिज बनाउनेबित्तिकै हुलाकी सडकको  कनेक्टिभिटी चितवनसम्मै पुग्छ । 

मास्तिर सिक्स लेनको एसिशयन स्टयाण्डरको हाइवे बन्दैछ । यहाँका उत्पादन बजार पठाउने बेलासम्ममा (पूर्व–पश्चिम राजमार्ग) मेचीदेखि महाकालीसम्मै सिक्स लेनको भइसक्छ । 

कथमकदाचित केही परेमा वा  कुनै अवरोध आउने स्थिति परेमा मदन भण्डारी हाइवे ठ्याक्क माथि छ । त्यसैले यहाँ  कहिल्यै पनि सामान ल्याउन लान हिसाबले केही रोकिन्न ।’

चन्द्रगढी र विराटनगर विमानस्थल राति पनि चल्न थालेको बताउँदै उनले  विराटनगर एयरपोर्टलाई विस्तार गर्नुपर्ने र त्यो गरिने जानकारी दिए । 

‘अरुले समुद्रमाथि पुलैपुल बनाउँछन् भने एउटा बुढीखोला पर्छ भनेर हुन्छ ? बरु बुढी खोला फराकिलो पारौं, बलियो पुल बनाऔं’, प्रधानमन्त्रीको भनाइ थियो ‘कोशीमा अनेक हिसाबले लगानीमैत्री वातावरण छ । जुनसुकै क्षेत्रमा लगानी गर्नुहोस् । कच्चापदार्थ पनि ल्याउन सक्छौं, तयारी वस्तु पनि । हिमालबाट पनि ल्याउन सक्छौं, मित्रराष्ट्रबाट पनि ।’

यसअघि पानीजहाजको सपना देखाएको भनेर आलोचनाको भुंग्रोमा परिसकेका ओलीले नदीको बाटोबाट सामान र मानिसको आवतजावत गर्न सक्ने अवस्थामा पुगिएको दाबी दोहोर्‍याए ।

‘यहाँबाट कलकत्तासम्म नदीको बाटो आवतजावत र सामान ल्याउन लान सकिन्छ,’ उनले भने ‘ हनुमाननगरमा पोर्ट राखेर गंगाको बाटो हुँदै  गंगामा भारतले चलाइसकेको छ । गण्डकी–कोशीमा छिटै चल्नेछ । त्यसकारण कोशी लगानीका लागि उपयुक्त छ ।’

नेपालमा लगानीका लागि उपयुक्त वातावरण हुनुको अर्को कारणमा उनले लगानीकर्ता, सरकार र श्रमिकका बीच कुनै समस्या नहुनु पनि भएको बताए । 

‘आइएलओका सिद्धान्तहरु श्रमिक, रोजगारदाता र सरकारका प्रतिनिधिहरुबीचको  प्रभावकारी समन्वयले सफल कार्यान्वयन भइरहेको छ’ उनले भने ‘ट्रेड युनियन भएन भने कोसँग वार्ता गर्ने, असन्तुष्टी छरपष्ट हुन्छ । यहाँ ट्रेड युनियन छ । असन्तुष्टी छरपष्ट हुन पाउँदैन । विचारहरु संगठन मार्फत नै आउँछ । यसकारण पनि यहाँ लगानीको वातावरण छ ।’

पौराणिक पात्र र कथाप्रति विशेष रुचि देखाउने प्रधानमन्त्रीले यसअघि प्रदेशसभामा फागुन २७ मा  सम्बोधन गर्दा सुनाएको पौराणिक महत्व यसपटक पनि दोहोर्‍याए । यसअघि अर्घाखाँची पुगेर पाणिनी ऋषि अर्घाखाँचीमा जन्मेको बताएका ओलीले राम चितवनको ठोरीमा जन्मेको दाबी गरिसकेका छन् । 

उनले विराट राजाको दरबारदेखि गायत्री मन्त्र कोशीको किनारमा विश्वामित्रले रचना गरेको,  विश्वामित्रका छोरा विश्वका पहिलो सर्जन भएको दाबीसमेत गरे । 

‘शिव, विष्णु, बराह अवतार सबै यहींको हो, मान्छेको आस्था भएकाले यहाँ पर्यटक तान्न सकिन्छ,’ उनले भने नेपाल शान्त पनि छ । खतरा पनि केही छैन । त्यसैले ढुक्कले जुनसुकै क्षेत्रमा लगानी गर्न सकिन्छ ।’

View : 77

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved