विराटनगर । विराटनगरमा यसअघि धेरैवटा कार्यक्रममा आउँछु भनेर पनि नआएका प्रधानमन्त्री ओली बिहीबार भने विराटनगर आए ।
प्रधानमन्त्री आउने–नआउने निश्चित नभएकै कारण मुख्यमन्त्री र मन्त्रीहरुले उद्घाटन या समापनमध्ये एक कार्यक्रममा ओली आउने बताइरहेका थिए ।
‘यसपटक चाहिँ प्रधानमन्त्री आउनुहुने पक्का भयो है’ ठूलै सफलता पाउन लागे जसरी प्रदेशका मन्त्रीहरु अघिल्लो दिनसम्म भन्दै थिए ‘यसपालि आउनुहुन्छ ।’
हुन पनि ओली आउने भनेर प्रचार गरिएका यसअघिका धेरै कार्यक्रममा उनी नआउँदा एमाले, प्रधानमन्त्रीदेखि प्रदेश सरकारसम्मले आलोचना भोगेका थिए ।
यसअघि ओली आउने भनेर जोडतोडले प्रचार गरिएको कोशी प्रदेश पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अन्ततः ओली अनुपस्थित रहेका थिए । प्रधानमन्त्री आउने भनेर प्रदेश सरकारले ठूलो प्रचार गरेको थियो ।
यसबाहेक प्रेस चौतारी नेपाल, एमाले मोरङको दशौं जिल्ला अधिवेशन, विराटनगरकै एउटा व्यापारिक महोत्सव, धरानको कार्यक्रमहरूमा प्रधानमन्त्री आउने भनेर प्रचार भएको थियो । तर, प्रधानमन्त्री ती कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन् । ती सबै कार्यक्रममा अन्तिम समयमा प्रधानमन्त्री नआउने जानकारी गराइएको थियो ।
प्रदेश लगानी सम्मेलनबाट भने प्रधानमन्त्री नआउने निरन्तरताको क्रमभंग भएको हो ।
सरकार–विपक्षी बिच आइसब्रेक
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका विपक्षी दलका नेताहरुबीच चिसिएको सम्बन्धमा आइस ब्रेक गर्ने अवसर लगानी सम्मेलन बनेको छ ।
बिहीबारको उद्घाटन कार्यक्रममा भने प्रदेशसभाका विपक्षी दलका सबैजसो नेताहरु उपस्थित रहेका थिए ।
यसअघि प्रदेश पर्यटन वर्ष घोषणा कार्यक्रम होस् या सरकारको वार्षिकोत्सव मनाउने कार्यक्रम, विपक्षी दलका नेताहरु सरकारले बोलाएका कार्यक्रममा अनुपस्थित रहँदै आएका थिए ।
खासगरी पूर्व मुख्यमन्त्री राजेन्द्र राई, मुख्य विपक्षी दलका नेता इन्द्र आङ्बो र सत्ता सहयात्री भएर पनि कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की सरकारी कार्यक्रममा अनुपस्थित रहदै आएका थिए ।
लगानी सम्मेलनको उद्घाटनमा भने यी सबै नेताहरु उपस्थित मात्रै भएनन्, आङ्बो, राई लगायतका नेताहरुले आफ्नो विचार पनि प्रकट गरे ।
यी दुवै विपक्षी नेताहरुले कोशीमा लगानीको सम्भावना भए पनि कानुनी जटिलताहरु रहेको उल्लेख गरे ।
पूर्वमुख्यमन्त्री उद्धव थापा, शेरधन राई, भीम आचार्य पनि कार्यक्रममा सहभागी थिए ।
View : 107
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved